व्यक्तिगत खर्चमा युएईबाट घाइते महिलालाई नेपाल ल्याउँदै दुर्गा प्रसाईँ



काठमाडौँ । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले युएईमा घाइते महिलालाई नेपाल ल्याउँदैछन् । उनको व्यक्तिगत खर्चमा युएईमा सडक दुर्घटनामा परी घाइते गम्भीर भएकी जानकी थापामगरलाई आज नेपाल ल्याउने भएका हुन् ।

दुई महिनाअघि दुर्घटनामा परी कोमामा रहेकी थापा बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने प्रसाईँले जानकारी दिए । ‘युएईमा दुई महिना अघि सडक दुर्घटनामा परी घाइते भएकी नेपाली चेली जानकी थापामगरको उद्धारका लागि लागेको सम्पूर्ण खर्च निजी रूपमा ब्येहाेरी नेपाल ल्याउँदैछु,’ प्रसाईँले भने, ‘ थापामगर बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल,काठमाडौँ आइपुग्दै छिन् ।’

दुबईमा अलपत्र अवस्थामा रहेकी उनलाई बिहान परिवारसँग मिलन गराउने तयारी छ । ‘परिवार पाल्नकै लागि विदेश गएर घाइते भई अङ्गभङ्ग भई नेपाल फर्कनु भएकी थापामगरलाई विगत भुलेर बाँकी जीवन जिउनका लागि आवश्यक सहयोग,सान्त्वना र उत्साह थप्नु हामी सबैको दायित्व हो,’ उनले अगाडि भने, ‘पारिवारिक मिलन कार्यमा उपस्थित भई यस अभियानमा साथ सहयोग र सदिच्छा राखिदिनुहुन सम्पूर्ण सञ्चारकर्मीलाई अनुरोध गर्दछु ।’

प्रसाईँले यसअघि साउन ३ गते आफ्नै खर्चमा दुबईमा ज्यान गुमाएकी सुर्खेतकी २५ वर्षीया युवतीको शव नेपाल ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्