को हुन् ? बहु–आयामिक व्यक्तित्वका धनी जयराम थापा



काठमाडौं । बुवा ताराबहादुर थापा र आमा आदर कुमारी थापाको कोखबाट २०३४ साल कार्तिक १७ गते काठमाडौंको चपली बूढानीलकण्ठमा जन्मिएका जयराम थापा यस क्षेत्रमा सामाजिक व्यक्तित्वको रुपमा स्थापीत र परिचित छन् ।

सानै उमेरदेखि बाम राजनीतिमा झुकाव राख्ने थापा स्कूले जीवनदेखि नै गणेश मावि, चपली अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष भएका हुन् । अनेरास्ववियुबाट शुरु भएको थापाको राजनीतिक जीवन जिल्ला कमिटी हुँदै केन्द्रिय कमिटीमा पुगेर पार्टी राजनीतितर्फ मोडियो ।

वि. सं. २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्य बनेका थापाले क्षेत्र नं. ४ मा बुद्धिजिवी कमिटीको ईन्चार्जदेखि नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यसम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । 

नेपाल सरकारबाट नियुक्ति भएर थापाले २०७१ देखि २०७५ सम्म बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष भई त्यस क्षेत्रको धार्मिक, साँस्कृतिक, पर्यटकीय विकासमा महत्वपूर्ण योगदान समेत दिएका छन् । 

पेशाले अधिवक्ता रहेका थापा नेकपा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपिएलए) पाटनको अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्यको रुपमा समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेका थापा अहिले भारतबाट अन्तर्राष्ट्रिय कुटनैतिक कानुनमा पिएचडी गरिरहेका छन् । वल्र्ड पिस काउन्सिल, इन्टरनेशनल डेमोक्रेटिक लयर एशोसियशन र इन्टरनेशनल टुरिजम लयर एशोसियशन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा आवद्ध भई अनुभवले सिङ्गोे युरोप, अमेरिका र एशिया प्यासेफिक क्षेत्रका सबैजसो देशहरुमा विभिन्न कार्यक्रमको माध्यमले अध्ययन भ्रमण गरिसकेका छन् ।

लिभरपुल इन्टरनेशनल कलेजमा एक दशक भन्दा बढी कार्यकारी निर्देशक बनेका थापा अहिले बूढानीलकण्ठ २ मा रहेको सामुदायिक विद्यालय गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । उद्यमशीलताको क्षेत्रमा लागेका थापाले आधुनिक कृषि फार्म, विभिन्न वित्तिय संस्थाहरुमा प्रोमोटरको रुपमा रहेर समेत थापाले योगदान पुर्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्