अब बालउद्धार मा. वि. मा चिनियाँ भाषा पढाईने : नयाँ शैक्षिक सत्रदेखि कक्षा संचालनको लागि सम्झौता सम्पन्न



त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युट र बालउद्धार माध्यमिक विद्यालय बीचमा आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममा समावेश गराई चिनियाँ भाषा पठनपाठन गराउन सोमबार विद्यालय परिषरमा भव्य कार्यक्रमबीच सम्झौता सम्पन्न भएको छ।

शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख उद्दव प्रसाद खरेलले विद्यालयमा औपचारिक रुपमा गराईने चिनियाँ भाषाको पठनपाठनले चिनियाँ भाषा, संस्कृति र सभ्यताको साथै चिनियाँ विकासबारे जान्न र उच्च शिक्षाको लागि छात्रवृतिमा पढ्न पाउने अवसर हुने बताए। अंग्रेजी, चिनियाँ र हिन्दि भाषाको ज्ञानले पढाईको अतिरिक्त व्यवसाय, पर्यटन क्षेत्रमा अवसरको ढोका खोल्ने बताउँदै आफ्नो नगरपालिकामा यस किसिमको कार्यक्रम आएकोमा खुशी समेत व्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि ईस्ट चाईना विश्वविद्यालय अन्तराष्ट्रिय साझेदारी प्रमुख तथा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटका डाईरेक्टर प्रा. डा. लिउ युमिङ्गले आफ्नो धारणा राख्दै बाल उद्दार जस्तो नमूना विद्यालयमा चिनियाँ भाषा पठन-पाठन गराउन व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेको निरन्तरको प्रयासले सम्झौता गर्न सम्भव भएको बताउँदै चिनियाँ भाषाको पठनपाठनले चिनियाँ भाषा, संस्कृति र नेपाली भाषा र संस्कृतिबारे आदान-प्रदान भई नागरिक-नागरिक बीचको सम्बन्ध बढाउने विश्वास व्यक्त गरे।

नेपाल र चीनबीचको मित्रवत सम्बन्धको कारण त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसीयस ईन्स्टिच्युट स्थापना भएको बताउँदै चिनियाँ भाषा र आफ्नो अध्ययन राम्रो गर्ने मेहनती विद्यार्थीहरुले चीनमा गई छात्रवृतिमा उच्च शिक्षा प्राप्त गर्ने अवसर समेत पाउने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले चिनियाँ भाषा सिकाईले विद्यार्थीहरुमा अवसरका नयाँ ढोका खुल्ने बताउँदै त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटको सहकार्यमा आगामी शैक्षिक सत्रदेखि कक्षा ९ बाट चिनियाँ भाषा पठनपाठन गरिने जानकारी गराए।

विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले कक्षा ९ बाट बढीमा २० जनाको दरले पठनपाठन गराईने चिनियाँ भाषा प्रत्येक वर्ष थपिँदै कक्षा १२ सम्म हुने, पढाई र चिनियाँ भाषामा राम्रो गर्ने विद्यार्थीहरुले विद्यालयको सिफारिसमा स्नातक, स्नातकोत्तर र पिएचडी सम्मको अध्ययन छात्रवृतिमा पढ्न पाउने अवसर प्राप्त हुने बताए।

सम्झौता कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटका प्रा.डा. बाल मुकुन्द रेग्मी, नगर उप-प्रमुख रमादेवी राई, नगरप्रवक्ता तथा वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्य भुवप्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक-अभिभावक संघका पदाधिकारीहरु, फरक-फरक ५ चिनियाँ संचार माध्यामका प्रतिनिधिहरु, नेपाली संचार माध्यामका प्रतिनिधि, विधालयका बाल बालिकालाई युनिफर्म तथा खाजा सहयोग गर्ने चिनियाँ प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

विद्यालयका माध्यमिक अंग्रेजी शिक्षक बासु गुरागाईको संचालन, विद्यालयकी विद्यार्थी प्रतिनिधि आस्था घिमिरेको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रशंसा राईको टिमले नेपाली नृत्य र आस्था घिमिरेको टिमले चिनियाँ नृत्य गरेका थिए।

सम्झौता कार्यक्रमको व्यवस्थापनको खर्च २०० भन्दा बढी प्रसिद्ध पुस्तक लेखी ४३ भन्दा बढी भाषामा प्रकाशित गराउन सफल स्थापित चिनियाँ लेखक सुय मो नाममा नेपालमा दर्ता भएको सुय मो ईण्टरनेश्नल पब्लिकेशन प्रा.लि.ले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्