नेकपा (एमाले) बागमती प्रदेशको दोश्रो पूर्ण बैठक सम्पन्न : माघ ८ र ९ गते प्रदेश अधिवेशन गर्ने निर्णय



नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको दोश्रो पूर्ण बैठक प्रदेश अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता र पार्टी उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा जी.बी. बैङ्क्यैट गंगबुमा आज सम्पन्न भएको छ।

दोश्रो पूर्ण बैठकमा १३ वटै जिल्ला कमिटीका अध्यक्ष र प्रतिनिधिहरुले पार्टीले जिल्लामा गरेको सांगठानिक कामहरुको जानकारी गराउंदै पुस २३ गते सबै जिल्ला कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने प्रतिवद्दता गरेका थिए। प्रदेश कमिटीको निर्णय अनुसार पुस १५ गतेभित्र सम्मेलन हुन बाँकी पालिका वा वडा कमिटीले सम्मेलन गरिसक्नुपर्ने, १७ गते एकैदिन जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनोट गर्नुपर्ने, पुस २३ गते एकैदिन उद्घाटन र बन्दसत्र सम्पन्न गर्ने, जिल्ला अधिवेशनको प्रयोजनको लागि प्रत्येक जिल्ला कमिटीले ३ सदस्य निर्वाचन आयोगको नाम १५ गतेभित्र प्रदेश कमिटीमा पठाउनु पर्ने र १६ गते १३ वटै जिल्लाबाट सिफारिस भएका र प्रदेश कमिटीले तोकेका १ जना गरी सबैलाई केन्द्रीय निर्वाचन आयोगले अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने, जिल्ला अधिवेशनको प्रमुख अतिथि प्रदेश कमिटी मार्फत बोलाउनु पर्ने, सकेसम्म जिल्ला नेतृत्व सर्वसम्मत ढंगले छनोट गर्ने र प्रतिष्पर्धा गर्नुपरेमा पनि स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्नुपर्ने निर्णय गरेको छ।

यसैगरी राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेशबाट पार्टीले उठाउने उम्मेद्वारहरुलाई जिताउन आवश्यक भूमिका निर्वाह गर्नको लागि पोलिटब्युरो सदस्य तथा निवर्तमान अध्यक्ष आनन्द पोखरेल, वर्तमान अध्यक्ष केशवराज पाण्डे र सचिव बिजय सुवेदी रहेको ३ सदस्यीय कार्यदल समेत गठन गरेको छ। बागमती प्रदेश अधिवेशन सम्पन्न गर्न विभिन्न विभागहरुको गठन गर्ने निर्णय पनि पूर्ण बैठकले गरेको छ।

नेकपा एमालेप्रति बढ्दो लोकप्रियतालाई अझ उचाईमा पुर्याउन पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने र विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुको नामावली एक हप्ताभित्र पार्टी प्रदेश कार्यालयमा पठाउनु पर्ने निर्णय समेत गरेको छ।

बैठकमा पार्टी प्रदेश ईन्चार्ज काशीनाथ अधिकारीले पार्टी जीवन र प्रदेश कमिटीमा अघिल्ला कमिटीहरुले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए भने प्रमुख अतिथि अष्टलक्ष्मी शाक्यले पार्टी अनुशासन र सांगाठानिक गतिविधिको बारेमा आफ्ना धारणा राखेकी थिईन।

प्रदेश अध्यक्ष केशबराज पाण्डेले अध्यक्षता गरेको बैठकको संचालन सचिव बिजय सुवेदी, स्वागत मन्तव्य सह-सचिव रत्न गुरुङ र विशेष प्रस्तावहरु प्रस्तुत अर्का सह-सचिव महेश वढ्तौलाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्