पश्चिम कमाण्डको पहिलो सफल आक्रमण : झिम्पे रेडको स्मरण



शुकबहादुर रोका ‘शरद्’

१. जनयुद्धको चौँथो योजनाः धक्काको अबधारणा

सरकारले ‘किलो सेरा टू’ अप्रेशन चलाई रहँदा नेकपा माओवादीले जनयुद्धको चौँथो योजना बनाइरहेको थियो, ‘आधार इलाका निर्माणको महान दिशामा अघि बढौं’ भन्ने नारा सहित पहिलो चोटी ‘धक्का’ को अवधारणा माओवादीले अवलम्बन गर्यो। घुमन्ते विद्रोही अर्थात छापामारबादको समस्यामा फस्न सक्ने खतरालाई सैद्धान्तिक एवं व्यवहारिक रुपमा हल गर्ने र भूगोल, कमाण्ड र फोर्सलाई नयाँ ढंगले परिभाषित गरी सोही अनुसार बिन्यास गर्ने नीति अवलम्बन गर्यो।

सोही अनुसार यस पहिले परिभाषित मुख्य इलाकाहरुलाई आधार इलाकाको रुपमा र छापामार इलाकालाई सहायक इलाकाको रुपमा जिल्लाहरुलाई परिभाषित गर्ने र सोही अनुसारका संरचनाहरु बनाउने काम भयो। यो योजनाले जनसेनालाई तीन तहको रुपमा परिभाषित गर्यो। केन्द्रको निर्देशन र क्षेत्रको प्रत्यक्ष कमाण्डमा रहने गरी प्लाटूनहरु मुख्य शक्तिको रुपमा रहन गए। जिल्लाको कमाण्डमा रहने गरी स्क्वाडहरु सहायक शक्तिको रुपमा रहन गए। इलाका,गाउँ वा संगठनहरुले आफ्नो कमाण्डमा आवश्यकता र अनूकुलतामा मिलि सियादलहरु आधारभूत शक्तिको रुपमा गठन गर्ने अबधारणा अगाडि ल्याइयो।

पश्चिम क्षेत्रमा रोल्पा (१ नं. जिल्ला), रुकुम (२ नं. जिल्ला) र जाजरकोट (३ नं. जिल्ला) लाई आधार इलाकामा परिणत गरी जिल्लाहरुमा १–१ प्लाटून, इलाका–इलाकामा स्क्वाड र गाउँगाउँमा मिलिसिया बनाउने भयो। अन्य जिल्लाहरुलाई छापामार इलाकामा बदल्ने योजनाअन्तरगत सल्यान–दाङ–प्यूठान अर्थात ४ नं. जिल्ला बन्यो।

२. सल्यान–दाङ–प्यूठान जिल्ला निर्माण

जिल्लाहरुलाई छापामार इलाकामा बदल्ने योजना अन्तरगत सल्यानको मुख्य भाग, दाङ पूरै र प्यूठान पूरै भागलाई एक जिल्ला (४ नं. जिल्ला) बनाएर त्यस जिल्लाको इन्चार्ज जनार्दन शर्मा (क. प्रभाकर) र जिल्ला सेक्रेटरी कुल प्रसाद के सी (क. सोनाम) हुनु भयो।

सोही अनुसार दाङको रामपुर गाविस अन्तरगत राटेमाटे भन्ने गाउँमा जिल्लाको बैठक तथा प्रशिक्षण कार्यक्रम भयो। जिल्लालाई तीन कमाण्ड बनाउँदा साविकका जिल्लाहरु एक एक कमाण्ड भए अर्थात सल्यान एक कमाण्ड, दाङ एक कमाण्ड अनि प्यूठान एक कमाण्ड। सोही अनुसार सल्यानमा २ स्क्वाड, दाङमा २ स्क्वाड र प्यूठानमा २ स्क्वाड गठन भयो। म प्यूठानमा एउटा स्क्वाडको कमाण्डरको रुपमा गएँ।

३. कार्तिक १० को धक्का र पश्चिम कमाण्ड

प्यूठानमा पुगेर नयाँ योजना अनुसार कार्य क्षेत्रमा क्रियाशिल भयौँ, प्यूठानमा धक्काको योजनामा पूँजा गाविसमा रहेको लुक्लुँग चौकीमाथि नजिकबाट आक्रमण गर्ने योजना बन्यो। २०५५ कार्तिक १० गते राती उक्त चौकी माथि बम प्रहार र बन्दुकद्वारा आक्रमण गर्यौँ। केवल आक्रमणको मात्र योजना भएकोले हामी दिएको काम पूरा गरी फर्क्यौँ।

पश्चिमको धक्कामा यस पटक पनि सफलता हात लागेको देखिएन। रुकुममा चुनबाङको पुलिस चौकीलाई लक्षित गरी अन्तिम सेल्टर लिई रहेको ठाउँ मै अघिल्लो दिन भिडन्त हुँदा लक्षसम्म पुग्न सम्भव भएन उल्टै क्षति बेहोर्नु पर्यो।रोल्पाको धौलबाङमा रहेको पुलिस चौकीमाथिको आक्रमण प्राविधिक कारणले समस्या भई चौकी खरानी भए पनि कुनै उपलब्धि भएन। त्यस्तै समस्या जाजरकोटमा पनि बेहोर्नु पर्यो।

यो धक्कामा पनि पूर्वले नै लिड गर्यो, त्यस पटक पूर्वले काभ्रेपलान्चोकको फलाँटेमा रहेको प्रहरी चौकी रेड गरी ४ थान राइफल कब्जा गरेको थियो, काभ्रेकै बेथानको इ. प्र. का रेड र धनुषाको मिथिलेश्वर प्रहरी चौकी रेड लगायत कब्जा गरी पूर्वले सैन्य अग्रता हाँसिल गर्दासम्म पश्चिममा एउटा पनि सफल रेड हुन सकेको थिएन।

४. सैन्य तालिम (Training)

४ नं. जिल्लाको आयोजनामा सल्यानमा जिल्ला अन्तरगत कार्यरत ६ वटै स्क्वाडहरुलाई सैन्य तालिम (Training) दिने योजना अनुसार केन्द्रित गर्ने भनिएकोमा भिषण अप्रेशनका कारण सो तालिम रोल्पाको जिनाबाङको जथाक जंगल (जो सल्यानसंग जोडिएको छ) मा गर्ने बन्दोबस्त भयो र २०५५ कार्तिक तोस्रो हप्ता त्यहाँ केन्द्रित भयौँ।

क. पासाङ बाहिरबाट तेस्रो पटक ट्रेनिंग लिएर भर्खर आउनु भएको थियो। पहिलो चरणको ट्रेनिंगमा छापामार युद्ध कलाहरु खासगरी मार्चिंग, पोजिशनिंग, आर्म्स अप्रेटिंग (Arms Operating), एम्बुस कला (Ambushing) र माइनिंग (mining) को बारे चलेको थियो। दोस्रो चरणमा व्यक्तिगत युद्धकला खासगरी हतियार बिनाको युद्धकला (Unarmed Combat), हतियारको प्रभावकारिता (Effect of Arms), वस्तुहरुलाई हतियारको रुपमा प्रयोग गर्ने कला (Use of objects for arms) बारे चलेको थियो। त्यस पटक त्यो तेस्रोचरणको ट्रेनिंग थियो, र पहिलो पटक इन्चार्ज कमरेड प्रभाकरको विशेष पहलमा हामीले पाउने भयौं।

जिनाबाङमा जम्मा भएर तालिम स्थल (Training Spot) को अबलोकन गरेर सबै तयारीका साथ रोल्पाको स्थानीय पार्टी र स्वायडले भरपूर सहयोगमा जथाकको जंगलमा पुगेर क्याम्प खडा गर्यौँ। जिल्लाबाट क. बिन्दु माइलाको नेतृत्वमा व्यवस्थापन टिम खटेको थियो। क. पासाङको निर्देशनमा एक आकर्षक तालिम केन्द्र (Training Centre) को निर्माण भयो। पहिलोको भन्दा बेग्लै आइटम्स (Items) ले हाम्रो उत्साह धेरै बढायो।

सबै तयारी पुगेपछि प्रमुख प्रशिक्षक (Instructor) क. पाषांग र जिल्ला इन्चार्ज क. प्रभाकरको उपस्थितिमा विशेष कार्यक्रम सहित ट्रेनिंगको उद्घाटन भयो। प्रमुख प्रशिक्षक क. पासाङको कमाण्डमा चलेको ट्रेनिंगमा सल्यानबाट क.बिबेक र क.संकल्प (रोल्पा घर्ति गाउँमा शहिद), दाङबाट क.राजेश र सागर (कार्यबाहक पछि पलायन) तथा प्यूठानबाट म र क.लाइट (सल्यान सितलपाटीमा शहिद) गरी ६ जना स्क्वाड कमाण्डर सहित स्क्वाडका सबै सदस्यहरु प्रशिक्षार्तीको रुपमा सहभागी भयौँ।

समग्रमा व्यवस्थित ट्रेनिंग भयो, ट्रेनिंगले फौजी रुपमा खड्किएका समस्याहरुको हल दिएको महसुस गर्यौँ। त्यस पटक पहिलेका कोर्सका साथै, फर्मेसनको निर्माण (Setting of Formation), निशान साध्ने कला (Targeting), फायर एण्ड मुभ्मेन्ट (Fire & movement), जंगल नेभिगेसन (Jungle Navigation), गुप्त अध्यायन (reeky) र मुख्यतः अपर्जट आक्रमण (Raid) को ट्रेनिंग भयो। ट्रेनिंग गर्ने त छँदैछ, मुख्यतः टेक्निक (Technic) र तरिका सिक्नु–सिकाउनु थियो। छोँटो समय (१५ दिन) चलेको यो ट्रेनिंग व्यवस्थित र गुणात्मक थियो।

५. ट्रेनिंगको प्रभाव र प्रत्यक्ष अवलोकन (life Survey)

दुश्मनलाई बुझ्ने र त्यससँग प्रतिकारका लागि आफ्नो पँक्तिलाई सदा तयार राख्ने, दुश्मनको कमजोरी पत्ता लगाई त्यसमाथि प्रहार गर्ने र आफ्नो श्रेष्ठता कायम गर्ने, लडाईको चुनौतीहरुको सामना गर्ने मामलामा यो ट्रेनिंगले हामीलाई प्रशिक्षित तुल्यायो।

क. प्रभाकरको योजनामा सल्यानको झिम्पे गाविसको पागिभरा डाँडामा रहेको टेलिफोन रिपिटर टावरको सुरक्षार्थ रहेको प्रहरी पोष्टमाथि आक्रमण गर्ने र त्यसका लागि प्रहरीको स्थिति बुझ्न रकी गर्ने भन्ने भयो। शुरुमा त मुख्य फोर्सको रुपमा रहेका प्लाटूनहरुले गर्न नसकेको काम हामी सहायक फोर्स स्क्वाडहरुबाट गर्न सकिन्न कि भन्ने लाग्यो। हामीसँग बन्दुकको नाममा बाह्रबोर र बरुवाहरु मात्र थियो। त्यसैले पनि हामी अलिक हच्किएका थियौँ।

त्यहाँको प्रहरीको मनोवल, भौगोलिक अवस्थिति, स्पोर्टका लागि नजिकका फोर्स र तिनको अवस्था, नफ्री संख्या, हातहतियार र फर्टिपिकेशन सबै बुझ्ने र आँकलन गर्ने काम भयो। यतिका आधारमा आक्रमण गरे सकिन्छ भन्ने भयो।

ट्रेनिंगमा सिकाए अनुसारका विस्तृत अध्यायन (Detail Survey) का लागि प्रहरीको दिनभरीको गतिविधि र रातको हर्कथ हेर्नु थियो, सोही अनुसारको ग्रुप बनाएर गयौँ। हाम्रो ग्रुप म, क.बिबेक क्षेत्री (वहाँ मा जयपुरी घर्तिको जीबनसाथी, पछि शहिद हुनु भयो) र क.बिबेक मगर गरी ३ जनाको थियो। हामीले पश्चिम झिम्पे साइडबाट हेर्नु थियो, उत्तर साइडको गाउँहरु भएर हामीलाई दिएको साइडको सबै अवस्था बुझ्यौँ। रातको गतिविधि हेर्न डाँडाको पश्चिमी मोहडाबाट सानो गोरेटो पच्छ्याउँदै चौकीसम्म नै पुग्यौँ। शुरुमा त अलिक सतर्कता पूर्वक हेर्यौँ तर सबै अवस्था बुझेर हामी ढुक्कसाथ अवलोकन गर्यौँ किनकि उनीहरु आगो बालेर ताप्न मै मस्त थिए, आगोमा हेर्नेले रातमा बाहिर केही देख्दैन भन्ने बुझेर निर्धक्कसँग अवस्थितिको अवलोकन गर्यौँ। झन्डै १ घण्टा त्यही बितायौँ, छिनछिनमा बाहिरतिर फर्किए र माओवादीलाई तथानाम गाली गर्थे तर तिनले दुईतिर माओवादीले उनीहरुको अवस्थिति हेरिरहेको के थाहा? हामी फर्किएर दक्षिण तिरको गाउँमा झरेर सुत्यौँ। रातभरीको हिडाई र कामको थकाईले हामी बिहान अबेलासम्म सुत्यौँ। साँझपख हामी दक्षिणबाट पूर्व हुँदै जिनाबाङ फर्कियौँ। तालिमको वास्तविक अभ्यास गरेकोमा खुशी र नयाँ अनुभूति भयो।

६. श्रोत साधनको केन्द्रिकरण र तयारी

प्रारम्भिक अध्यायन र विस्तृत अध्यायन (Day & Night Survey) गरिसकेपछि कब्जा गर्न सकिन्छ भन्ने निश्कर्षमा पुग्यौँ र तयारीमा लाग्यौँ। हामीसँग स्थानीय रुपमा संकलन र कब्जा गरेको १६–१७ थान बाह्रबोर र उत्तिनै संख्यामा बरुवा बन्दुकहरु मात्र थियो। रोल्पा जिल्लामा कार्यरत प्लाटूनसँग राइफलहरु माग्ने, चाहिने प्राविधिक सामाग्रीहरु केन्द्रिकरण गर्ने तथा ग्रिनेट र माइनहरु बनाउन तिर लाग्यौँ। रेड बारे पहिलो पटक विशेष तालिम हामीले पाएका थियौँ, त्यसै अनुसार कारवाहीलाई चाहिने सबै सेटिँग गर्यौँ। कमाण्डर क.पासाङ कहाँ अमेरिकन थर्टी ओ सिक्स राइफल १ थान आएको पुग्यो, त्यो नै लिडिंग हतियारको रुपमा प्रयोग गर्ने भयौँ किनकि प्लाटूनसँगका राइफलहरु आई पुगेनन्।

७. आक्रमणको अभ्यास (rehearsal)

सबै तयारी पुगेपछि जिनाबाङको झ्याममा हामी बसेकै घरलाई प्रहरीको चौकी मानी आक्रमणको रिहर्सल गर्यौँ। पहिलो पटक व्यवस्थित ग्रुपहरु बनायौँ, जसमा असल्ट ग्रुप, रिजर्व ग्रुप, माइन ग्रुप, कमाण्डर ग्रुप, स्टोप ग्रुप र एच क्यू ग्रुप रह्यो।कारवाहीको क.मिश्नार क.प्रभाकर र कमाण्डर क. पासाङले गर्ने हुनुभयो। सबै ग्रुपले दिइएको कामका लागि जिम्मा निभाउने अभ्यास गर्यौँ।

८. मार्चिंग र अन्तिम

२०५५ मंसिर १० गते साँझ आक्रमणका लागि मार्चिँग गर्यौँ, छापामार ट्याक्टिस अनुसार प्रतिकूल समयलाई आफ्नो अनुकूलतामा बदल्न रातको समयलाई उपयोग गर्यौँ किनकि रातमा मान्छेहरुको चलखेल नहुने, गतिविधि नदेखिने, दुश्मनको निष्कृयताबाट फाइदा लिने, दुश्मनलाई दिनको जस्तो जमिनी वा हवाई सपोर्ट नहुने कारणले हामीलाई फाइदा हुन्थ्यो। सहज रुपमा हामी पाथिभरा टावरको आधा घण्टा नजिक पुगेर कारवाहीको अन्तिम रोलकल भयो। सबैलाई दिइएको जिम्मा पुरा गर्न, सही सही ठाउँमा समयमा पुग्ने र फस्ट फायर खोलेपछि भिषण आक्रमण गर्ने, कमाण्डरको आदेश अनुसार फायर रोक्ने र त्यो समयमा माइन ग्रुपले आफ्नो काम गर्ने, त्यसपछि तिब्र आक्रमण गरी कब्जा गर्ने निर्देशन कारवाही कमाण्डर क. पासाङबाट भयो। कारवाहीका क.मिश्नार, क. प्रभाकरले यो लडाईको महत्वबारे दर्साउँदै कुनै पनि हालतमा जित्नै पर्ने आदेश गर्नुभयो।

९. फर्मिंग (Forming) र पोजिश्निंग(Positioning)

रोलकाल भएको ठाउँमा लडाईमा प्रयोग हुने बाहेकका सबै सामान र झोलाहरु राख्यौँ, त्यही एच क्यू ग्रुपलाई छाड्यौँ जसमा जिल्ला सेक्रेटरी क. सोनाम रहनु भयो। हामी त्यहाँबाट अगाडि बढ्यौँ। रातको हिडाई छामछाम छुमछुम त्यही माथि भयंकर जंगलको बिचमा विस्तारै–विस्तारै सक्दो अगाडि बढ्दै गयौँ, त्यहाँ बोल्ने वा खोक्ने अनुमति पनि थिएन। आफ्ना लागि आफैले बनाएको कठोर नियम, लाइन छुटेपनि श्वासको भरमा ‘छुस् छुस्’ गर्दै लाइन जोड्थ्यौँ। रातको समय सामुहिक हिडाई त्यहाँ पुग्न आधा घण्टाको बाटो पनि डेड्दुई घण्टा लाग्यो। पुग्ने पुग्ने बेलामा डरले होकि किन हो सबैका पिसाब आए। मेरो नि पिसाब लाग्यो, शरिर बम्म फुलिए झै भयो, मुटु ढप्प भयो। कही डर पो लाग्यो कि भन्दा त्यसो त होइन तर एक खालको इमोशन चाहीँ पक्कै हो भन्ने लाग्यो। अप्ठ्यारो भिरको चुचुरो भएकोले टुप्पोमा पुगेर मात्र ग्रुप आ–आफ्नो ठाउँतिर चुपचाप चुपचाप लागेर आ–आफ्नो ठाउँमा पुगेर पोजिशन लियौँ।

१०. आक्रमण (Attack)

२०५५ मंसिर १० गते रातको १ः०० बजे ठिक समयमा ‘टवांग’ तिखो आवाजमा क.राजेशले थर्टि ओ सिक्स राइफलबाट फायर खोले। फस्ट फायरको जिम्मा क.राजेशलाई नै दिइएको थियो। एक छिन सुनसान भयो, गोली लागेको पुलिस ‘आइया’ गर्यो। एकै छिनमा हामीले बाह्रबोरहरुबाट भिषण आक्रमण गर्यौ। प्रहरीहरु सबै घर भित्र पसेर काउन्टर फायर गर्न लागे। योजना अनुसार फायर रोक्ने कोड शब्दमा काशन भयो। सबै हामी पोजिशनमा बस्यौँ नमिलेको पोजिशन सुधार्न लगायौँ।

भित्र पसेपछि पुलिसहरु सुर्रिएछन्, हाम्रो फायर पनि नभएको देखेर ‘लग्लास् राइफल, मेरो……लैजा, राडीका छोराहरु’ भन्दै तथानाम गाली गरी रहेका थिए।हामीले किन फायर बन्द गर्यौं भन्ने तिनीहरुले बुझेनन्, प्रहरी पोष्ट कंक्रिट घरको थियो।

११. माइनिंग (Mining)

पहिलै बनाएर लगेको भर्यांग लिएर माइन ग्रुप घरको सुरबाट छतमा गयो ताकि त्यहाँ फायर इफेक्ट हुदैनथ्यो। माइन ग्रुपका क.आबेग र क.विश्वले घरको छतमा माइन फिट गरे। उनीहरु झरेर सुरक्षित ठाउँ पुगेपछि माइन बिष्फोट गराउन सतर्कताको कोड काशन भयो। एकैछिनमा ठूलो ज्वाला र धमाकाका साथ माइन बिष्फोट गराइयो। बिष्फोटको गर्जन जबर्जस्त थियो, माइनको गर्जन र प्रतिध्वनी ५–७ मिनेटसम्म आइरह्यो, मानौँ सल्यान सबै ओखलेरै फाल्यो कि झै।यस पटकको हाम्रो निर्णायक प्रहार यही माइन नै थियो।

१२. अर्को झट्का (2nd attack)

माइन प्रहार पछि प्रहरीहरु फाइरिँग तिर लागेनन्, अब हामी तिव्रताका साथ झ्याल झ्यालमा पुग्यौँ र आत्म समर्पणका लागि काशन गर्यौँ। मुख्य कोठाका प्रहरी अझै मानि रहेका थिएनन्, तब फेरी अर्को माइन प्रहार गर्ने धम्की दियौँ। अब भने प्रहरीहरु आत्मसमर्पण गर्ने निधोमा पुगे, १,२ गर्दै उनीहरुसँग भएको राइफल फाल्दै गए। त्यो कोठाबाट ४ थान राइफल प्राप्त भयो, सबै कमाण्डर कहाँ पास गर्यौँ। जम्मा ८ थान राइफल छ भन्ने हाम्रो सूचनामा थियो तब अरु हतियार फाल्न भन्यौँ। ‘यहाँ त यति नै हो अरु अर्को कोठामा होला’ भनेपछि हामी अर्को कोठातिर लाग्यौँ।

१३. हतियार कब्जा र खोज तलास

जुनेली रात थियो, अर्को ढोकाको साइडमा एउटा प्रहरी ढलेको थियो, त्यसको हातबाट उछट्टिएको अमेरिकन रिभोल्वर जूनको किरणमा टलक्क टल्किरहेको थियो, रिभोल्वर टिप्न जाँदा क.बिशाल र म एकै चोटी झम्टिन पुग्यो छौँ। रिभोल्वर बिशालको हातमा पुग्यो, मनमनमा मेरो हातमा नपरेकोमा पछुटो नि लाग्यो, त्यही बेला ढोका मै राइफलको बथमा रहेको पिटलको तलुवा टिलिक्क टल्किएको देखेँ र त्यो ठूटेँ, त्यो हाप कक् गरेको राइफल रहेछ। मसँग भएको बाह्रबोर पछिको साथीलाई दिएँ र राइफल लिएर भित्रको स्थिति बुझ्यौँ, कुनै हर्कत नदेखिएपछि बिशाल र म भित्र छिर्यौँ। माइनले त्यो कोठा भ्वाँग परेको थियो। त्यही माइनले टाउकोमा लागेर त्यो मरेको प्रहरी ढोकासम्म गएर ढलेको रहेछ, उसको टाउको पूरै फूटेको थियो। धुलोले पुरेको अवस्थामा अर्को राइफल भेट्यौँ, त्यो पनि बाहिर पास गर्यौँ।अब भित्री कोठा मात्र बाँकि रह्यो, त्यो पनि क्लियर गर्यौँ। वास्तवमा त्यहाँ भित्र दुइजना मात्र रहेछन्, एउटा ढलेपछि अर्को बिना सुर्तै भाग्दा दक्षिणपूर्वी साइडमा भिरमा गुल्टिएर मरेको छ।

१४. साथीकै आक्रमणः को–अर्डिनेशनको अभाव

खाली कोठाभित्र बिशाल र म सर्च गर्दै थियौँ। विश्वले माइनले पारेको छतको भ्वाँगबाट ग्रिनेट खसाली दियो, एकछिन कभर लिनलाई आतुरी भयो तर ग्रिनेट पड्किएन। त्यो एक्सिडेन्टलाई म कोअर्डिशनको कमी र हटाहटीको उपज मान्दछु। पूरै सर्च गर्यौँ र अर्को राइफलपनि भेटायौँ। बाहिर सेन्ट्री पोष्टमा घाइते भएको एउटा प्रहरी छटपटाई रहेको थियो, त्यसको राइफल अर्को साइडको साथीहरुले टिप्नुभएछ। घाइतेलाई आश्वासन दियौँ। भएको औषधी लगाई दियौँ, दुखाई कम गर्ने औषधी दियौँ।

१५. कब्जा भएका प्रहरीलाई कोचिंग र रिट्रिट (searching operation)

१३ जना प्रहरी मध्ये भिडन्तमा १ जना मारीए, १ जना भिरमा लडेर मरे, १ गम्भीर घाइते भए, बाँकि १० लाई कब्जामा लिएर क. प्रभाकरले राजनैतिक कोचिँग गरेर रातभर कहीँ नजानु घाइतेको स्याहार गर्नु भनेर कब्जामा आएका युद्ध सामाग्रीका साथ रिट्रिट भयौँ।

हामी एच क्यू पोइन्टमा फर्कियौँ र कब्जा भएका सामाग्रीहरु एकै ठाउँमा जम्मा गर्यौ। जम्मा ८ थान थ्री नट थ्री राइफल र १ थान अमेरिकन रिभोल्वर सहित ७५० राउन भन्दा बढी क्यट्रिज र रिभोल्वरका गोलीहरु जम्मा भयो। यसको बाँडफाँट क. प्रभाकरले गर्नु भयो। स्क्वाडहरुलाई एक एक वटा र कमाण्डर क. पासाङलाई दुईवटा राइफल थमाइयो, रिभोल्वर भने आफै राख्नु भयो। अरु सामाग्रीको खासै हिसाब भएन, अब हामी तीन ग्रुपमा बाँडियो। प्यूठान जाने ग्रुप कमाण्डर सहित रोल्पातिर, दाङ जाने ग्रुप क. प्रभाकर सहित खर्सुबास भई दक्षिणतिर र सल्यानको ग्रुप त्यही जिल्ला मै सुरक्षित रहने र उपलब्धीको रक्षा गर्ने भन्ने आदेशानुसार आ–आफ्नो ठाउँतिर फर्कियौँ। हामी रोल्पा ओतको जंगल पस्दा नपस्दै उज्यालो भयो। बांगेताल पुगेर सानो गाउँमा बस्यौँ।

१६. खुशियाली

प्यूठान कार्यरत दुई स्क्वाड, स्थानीय एक स्क्वाड र क. पासाङको तीन जनाको ग्रुप गरी २०–२१ जनाको हाम्रो ग्रुपले प्रहरी पोष्ट कब्जा गरी राइफल कब्जा भएको उपलक्ष्यमा कमाण्डर क. पासाङको आदेशमा दुईवटा ठूलाठूला भाले मार्यौँ, स्थानीय साथीहरुले चामल जुटाउनु भयो र पश्चिममा पहिलो सफल रेड भएको खुशियाली भोज मनायौँ।

१७. प्रहरीको सर्चिंग अप्रेसन

पहिलो दिन रोल्पा क्षेत्रमा खासै प्रहरीको हर्कत देखिएन तर अर्को दिन देखि हाम्रो टाउको टाउकोमा हेलिकप्टर नचाई दियो। घर्ति गाउँबाट सर्चमा आएको प्रहरी गष्टी हामी बसेको गाउँमै पसे र कुखुरा लखेट्दै सुखा ओठारतिर लागे। हामी पनि के कम हामी बसेको ठाउँमा आए आक्रमण गर्ने भनेर पूरै पोजिशन लियौँ, किनकि हामीसँग ५ थान राइफल थियो। तर प्रहरी पूरै गाउँ सर्च गरेन, बरु गाउँको फेराफेरा भालेलखेत्दै अगाडि लाग्यो। भिडन्त तर्यो। प्रहरी कता जान्छ हेर्न लगाई ढुक्कसँग त्यहीँ बस्यौँ।

त्यस रात खोला काटेर तालाबांग पुग्यौँ, फिल्ड अप्रेशन त थिएन तर हेलिकप्टर पूरै हाम्रै टाउको टाउकोमा नचाई दियो। अर्को रात क. पासाङलाई बिदा गरी हामी माडिखोला काटेर भाबांग पस्यौँ र भेडीखोलामा बास बस्न पुग्यौँ। समय उल्टो थियो रातभर हिड्ने दिउसो बासबस्ने। त्यहाँ पनि कुखुरा मार्यौँ । अब त हाम्रो फोर्स १२–१३ जना मात्र थियो। त्यहाँबाट हामी दिउँसै हिड्यौँ किनकि त्यहाँ अप्रेशन पनि थिएन र हाम्रो आधार क्षेत्रमा प्रवेश गरेका थियौँ।

१८. राइफलसंग जनताको बीचमा

जब हाम्रो आधार क्षेत्रमा पस्यौँ हामीलाई देखेर, हाम्रो राइफल देखेर जनताले औधी माया दर्साए, भाले काटीदिए, सुंगुर काटिदिए। ‘हाम्रा मान्छे मार्ने राइफल कब्जा गर्यौँ स्याब्बास केटा हो’ भन्दै राइफल मागेर मुसार्थे। पहिले पहिले हामीलाई ‘पुलिस जिस्काउने तेरा बन्दुकल्य पिसाब गरी दिन्छु, दुश्मन मार्नु कता हो कता बेकार हाम्रा अगाडि स्वांग पार्ने’ भन्दा कम्ती पिर पर्दैनथ्यो तर अब हामी बहादुर ठहरियौँ, सानो बच्चा खेलाए झै हाम्रा राइफल खेलाउँदा मानौँ एउटी आमाले आफ्नो बच्चालाई अरुले माया गरेर खेलाई दिँदाको आनन्द जस्तो लाग्थ्यो। यतिका प्रहार खेपेर पनि सबै सबैमा खुशियाली छाउँदा खुशी मात्र होइन दुखःपिँडा पनि बाँडिदो रहेछ।

१९. झिम्पे रेडको तरंग र प्रभाव

तालिमको उद्धेश्य रेड गर्नु त थिएन तर पश्चिमको पहिलो सफल रेड सम्पन्न भयो। यस आक्रमणले पश्चिमको अकर्मन्यतालाई तोड्यो, जनसेनाको आत्मबललाई माथि उठायो। वास्तवमा झिम्पे रेड खास धक्काको रुपमा परिणत भयो। प्रहरी माथि जबरजस्त दवाब पैदा गर्यो र जनसेनाको पहिलो पटक श्रेष्ठता प्रमाणित गर्यो। कमाण्डर स्थापित गर्यो, बस्तुवादी योजना र योजनामा लागी पर्ने राजनैतिक नेतृत्वको भूमिकालाई मुखरण गरायो।

जनसेनामा पुरानो सन्तुलन भत्कायो किनकि वस्तुगत रुपमा मुख्य शक्ति भन्दा सहायक शक्ति सफल र सशक्त देखियो।अझ दाङको झेल्नेता कमाण्डो र सफल आक्रमण सम्म आउँदा त सबै पक्षमा सहायक शक्ति हाबी बन्न गयो, कमाण्डो सफल, एम्बुस सफल, रेडसफल, हतियार कब्जा र कलेक्सनका हिसाबले सबल रह्यो।

अन्ततःपश्चिम क्षेत्रले यो असन्तुलनलाई नयाँ योजना अन्तरगत हल गरियो। मुख्य शक्तिको रुपमा रहेको प्लाटूनहरुको विघटन गरेर मुख्य शक्ति र सहायक शक्ति जोडेर क. पासाङ कमाण्डर रहेको Special Task Force (STF) को गठन गर्यो, सबै राइफलहरु STF मा केन्द्रित गरियो र राजनैतिक कमाण्ड सुनिश्चित गरियो, जसमा बर्षमान पुन (क. अनन्त) STF को राजनैतिक कमिश्नार रहनु भयो।

स्मरणीय कुरा त्यसपछि पश्चिम कमाण्ड (क्षेत्र) ले पछि फर्कनु परेन।

प्रतिक्रिया दिनुहोस्