‘दक्षिणपन्थी गठबन्धनलाई घुडा टेकाउन चितवनमा हुने एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी बनौँ’– आनन्द पोखरेल (भिडियो सहित)



नेकपा एमाले केन्द्रीय सदस्य तथा बागमती अध्यक्ष आनन्दप्रसाद पोखरेलले नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भई दक्षिणपन्थी गठबन्धनलाई धुलो चटाउन पार्टी कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरुमा अनुरोध गरेका छन् ।

महाधिवेशन केन्द्रीत छोटो अन्तवार्तामा बोल्दै अध्यक्ष पोखरेलले नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव ध्रुव प्रसाद घिमिरेसँग गरेको छोटो कुराकानी :

नेकपा एमालेले अन्तिम समयमा आएर १० औँ राष्ट्रिय महाधिवेशनको स्थान किन परिवर्तन गर्यो ?
आनन्दप्रसाद पोखरेल : नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तनबारे कुनै राजनीतिक, वैचारिक तथा सांगठनिक कारण छैन । पार्टीको राष्ट्रिय महाधिवेशनमा धेरै जनसहभागिता गराउनु पर्ने भएकाले केन्द्रीय भागमा रहेको चितवनलाई नै छान्न पुगियो । देशका विभिन्न भागबाट आएर सोही दिन फर्कन सक्ने, देशको मध्य भाग र पर्यटकीय स्थल समेत भएकाले चितवन नै छानेका हौँ ।

कतिपयले नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई चुनौती दिन नेकपा एमालले चितवनमा नै १० औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्यो, भन्छन् नि ?
हामीले प्रचण्डलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा चुनौती ठानेका छैनौँ । नेकपा एमालेको अगाडि कुनैपनि राजनीतिक पार्टी खडा हुनै सक्दैनन् । अहिले नेपालमा एकमात्र राजनीतिक पार्टी नेकपा एमाले छ र अर्को गठबन्धन छ । हाम्रो चुनौती सामन्तवादका अवषेशहरु, दलाल, नोकरसाही, पुँजीवादी र दक्षिणपन्थीहरुसँग छ । त्यसैले कसैको चुनौतीको लागि नभई आफ्नो शक्ति प्रदर्शन गर्न हामीले चितवनलाई रोजेका हौँ ।

१० औँ राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक महाधिवेशनको रुपमा व्याख्या गरिन्छ, कसरी पुष्टि गर्नुहुन्छ ?
१० औँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक र एकताको महाधिवेशन हो । यो महाधिवेशन नेकपाको निरन्तरताको रुपमा समेत अगाडि बढेको छ । यो महाधिवेशन दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त गर्ने, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न केन्द्रीत हुनेछ । संविधानभन्दा बाहिर परमादेशको सरकारबाट सदन चल्न सकेको छैन । संवैधानिक निकायहरुमा रिक्तता छ र न्यायलय पनि दिक्भ्रमित भएको छ । यस्तो अवस्थामा मुलुकलाई असफल राष्ट्र बनाउन गठबन्धन र न्यायलय समेत मिलेको कारणले गर्दा यी सबै सत्रुका तागतहरुलाई परास्त गर्नुपर्ने भएकाले यो महाधिवेशन विगतको भन्दा ऐतिहासिक र महत्वपूर्ण छ ।

चितवनमा नेकपा एमालेले ५ लाख र बागमती प्रदेश मात्रले ३ लाख जनसहभागिता गराउने योजना बनाउनु भएको छ, त्यो कसरी सम्भव छ ?
नेकपा एमालेलाई अहिलेको अवस्थामा ५ लाख जनसहभागिता गराउन कुनै ठुलो कुरै होइन । हामीसँग साढे ९ लाखको हाराहारीमा संगठित सदस्यहरु छन् । ९ लाख जनाले एकजना थपेर ल्याउँदा पनि १८ लाख हुन्छन् । बागमती प्रदेशमा १ लाख ७५ हजार संगठित सदस्य छन्, उनीहरुले थप १ जना ल्याउँदा पनि सजिलै ३ लाख बढी नै हुन्छन् । हामीले ५ लाख मात्र किन भन्यौँ भने, नारायणी किनारमा समेत सो भन्दा बढी जनसहभागिता गराउनै मिल्दैन । त्यो भन्दा बढी अट्ने ठाउँ भएको भए १० लाख वा २० लाखको योजना बनाउने थियौँ । हामीले बनाएको कार्ययोजनाबाटै ५ लाखभन्दा बढी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु जमघट हुनेछन् । यो अरु राजनीतिक पार्टीहरुलाई चुनौती होला, हामी सहज ढंगले यो महाधिवेशन सम्पन्न गर्छौँ ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा माधव नेपाललाई किन निमन्त्रणा गरिएन ?
हामीलाई माधव नेपालको पार्टी छ भन्ने नै लाग्दैन । इतिहासमा माधव नेपाल एमालेमै थिए होलान्, अहिले विद्रोह गरेर कहिँ पसल थापेका छन् भन्दैमा त्यसलाई पार्टी भन्नु र निमन्त्रणा गर्नु जरुरी छैन ।

माधव नेपालको पार्टी राजनीतिक दल नठानेर नै नबोलाउनु भएको हो त ?
राजनीतक दल होइन । नेकपा एमाले विभाजन गर्न, फुटाउन र सत्रु र बैरीसँग बढी साँठगाँठ गर्न, दक्षिणपन्थी यथास्थितिवादी, कांग्रेस र विदेशी तागतसँग लम्पसार पर्ने प्रवृति छ । न एकता, न समृद्धि र विकास, न जनजिविका र सामाजिक न्याय, त्यस्तो तत्व जसको उद्धेश्य नेकपा एमालेलाई हराउन वा कमजोर बनाउन गठन भएको झुण्डलाई पार्टीको रुपमा बोलाएर ऐतिहासिक महत्वको राष्ट्रिय महाधिवेशनमा हामी हाम्रा पार्टी कार्यकर्ताहरुको अपमान गर्न चाहदैँनौँ ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा थप भन्नुपर्ने केही छ कि ?
यो महाधिवेशनले दक्षिणपन्थी गठबन्धनलाई पराजित गरेर आगामी तिनै तहको निर्वाचनमा नेकपा एमालेलाई बहुमत सहित निर्वाचित गराउने, प्राविधिक रुपमा प्रतिपक्षमा भएको नेकपा एमालेलाई विजय प्राप्त गर्ने बाटोमा अग्रसर भैरहेका छौँ । त्यसैले यो महाधिवेशनका दुईवटा कार्यभारहरु छन्– एउटा उद्घाटन सत्रमा व्यापक जनसहभागिता गराउने र प्रतिपक्षहरुलाई नेकपा एमाले कमजोर छैन, एकताबद्ध छ, हिजोभन्दा अझ सुदृढ छ भन्ने देखाउने र दोस्रो कुरा हिजो एकीकृत हुदाँ ८ लाख सदस्य थिए, अहिले एक्लै साढे ९ लाख भन्दा बढी नविकृत पार्टी सदस्यहरु छन् । यो नेपालको मात्र होइन दक्षिण एसियाकै सबैभन्दा ठूलो पार्टी बनेको छ । त्यसैले ५ लाखभन्दा बढी जनसहभागिता गराई प्रदर्शन तयारी गर्न सबै नेता, कार्यकर्ता कमरेडलाई अनुरोध गर्न चाहन्छु ।

साथै प्रतिनिधि हुनु भएका साथीहरुलाई सर्वसम्वत रुपमा नेतृत्व छनौटमा योगदान पुर्याउन आह्वान गर्दै दुुनियाँका सबै कम्युनिष्ट विरोधी/एमाले विरोधी शक्तिहरुलाई नेकपा एमाले एकताबद्ध र सुदृढ छ भन्ने देखाउन आ– आफ्नो ठाउँबाट योगदान गर्न समेत अपिल गर्दछुँ ।

प्रतिक्रिया दिनुहोस्