नेकपा एमाले अधिवेशनपछि पुरानै लयमा फर्कियो काठमाडौं महानगर, बैठक र कार्यक्रम नियमित भएपछि नेता-कार्यकर्तामा उत्साह



काठमाडौं महानगरमा एमालेको प्रथम अधिवेशन

२०७८ कार्तिक ९ गते नेकपा एमाले काठमाडौं महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन भव्य रुपमा राष्ट्रिय सभागृहमा भयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल र महासचिव ईश्वर पोखरेलले प्रत्यक्ष रुपमा सम्बोधन गरको महानगरको उद्घाटन सत्र विविध साँस्कृतिक कार्यक्रम सहित समापन भयो। बन्द सत्रमा आयोजक कमिटीका अध्यक्ष निर्मल देउलाले राजनीतिक र सांगाठानिक प्रतिवेदन प्रस्तुत गरे। उक्त प्रस्तावमाथि सुझाव सहित पारित गरियो। अध्यक्ष मण्डलले करिब २ घण्टाको छलफलपछि निर्मल देउलाको नेतृत्वमा १०१ सदस्यीय महानगर कमिटी सर्वसम्मत रुपमा घोषणा भयो। सबै प्रतिनिधिले ताली बजाएर पास गरे। सपथ ग्रहण भयो। पहिलो र छोटो बैठक सभागृह मै बस्यो र मनोनित गर्न पाउने १० प्रतिशत सदस्यहरुलाई मनोनित गरेर कमिटीलाई पूर्णता दिईयो।

काठमाडौं महानगरपालिकाले नेतृत्व छनोट गर्दा सम्म सायद देशभर ५० भन्दा बढी पालिकाहरुले नेतृत्व घोषणा गरेका थिएनन्। कतिपय पालिकाहरुमा मध्ये रातमा नेतृत्व छानियो, कतिपय पालिकामा भोलिपल्ट छानियो।  कतिपय जिल्लामा ३ दिन लगाएर छानियो भने अझै कतिपय पालिकाहरुले कार्तिक २५ भित्रमा अधिवेशन गर्दै छन्। त्यो अर्थमा पनि देशको जेठो महानगरले आफूलाई जेठै सावित गर्न सक्यो।

एमाले काठमाडौं महानगर कमिटीको दोश्रो बैठक

नेकपा एमाले काठमाडौं महानगर कमिटीको दोश्रो बैठक एलो पेगोडामा होटलमा भयो। बैठक शुरु हुनु भन्दा अघि सबै सहभागीहरुलाई बैठकका एजेण्डाहरु वितरण गरियो। बुदागत रुपमा छलफल भयो। अध्यक्ष निर्मल देउलाले एजेण्डा प्रस्तुत गर्दै गर्दा महानगरको भव्य प्रथम सम्मेलनमा भएका कमजोरी समेत प्रस्तुत गर्दा गहिरो ढंगले कमजोरीहरु टिपोट गरिएको थियो।

अधिवेशन समीक्षामा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र पुडासैनीले अध्यक्षको प्रतिवेदनमा कमजोरी टिप्पणी गर्दै पार्टी सदस्यता नविकरण नगरेको १ जना पार्टीको व्यक्ति कसरी महाधिवेशन प्रतिनिधि भयो भनेर गम्भीर आपत्ति जनाए। महानगर अधिवेशनमा छानिएको १ जना प्रतिनिधिले पार्टी सदस्यता नविकरण नगरेको विषय समीक्षामा उठ्नु, महानगर अध्यक्षबाट कमजोरी भएको स्वीकार गर्दै नयाँ विधान र नयाँ तरिकाले भएकोले केहि कमजोरी भएको स्वीकार गर्नुले पार्टी भित्र पद्दतिगत प्रणालीको जग बलियो हुने संकेत देखिन्थ्यो।

हिजोको एमालेमा सबैजसो अधिवेशनहरु मतदानबाट निर्वाचित हुने गर्थे। सर्वसम्मत रुपमा निर्वाचित भएका वडाहरुले नयाँ शन्देश दिन्थे। तर दोश्रो बैठकमा वडा नम्बर २५ का अध्यक्ष सर्वज्ञ बज्राचार्यले महानगरको सबै वडामा सर्वसम्मत नेतृत्व छनोट भएको भएपनि आफ्नो वडामा निर्वाचन भएकोमा रोष प्रकट गरे। अध्यक्ष मण्डलले चाहेको भए हाम्रोमा पनि सर्वसम्मत कमिटी घोषणा हुन्थ्यो तर नेतृत्वको अदुरदर्शिताको कारण चुवाव भयो। यसले पार्टीलाई घाटा पुर्यायो। निकै आक्रोशित मुद्रामा वडा अध्यक्षले पटक-पटक भने -म यो बैठकमा खेद प्रकट गर्दछु।  

उनको प्रस्तुतिले के प्रष्ट बुझ्न सकिन्थ्यो भने वडा भित्र सँगै काम गर्ने साथीहरु बीच आन्तरिक प्रतिष्पर्धा गर्दा भावनामा चोट पुग्यो। साथीको मन भाँचियो। आफ्नैभित्र लडेर कसरी कमिटीगत हार्दिकता ल्याउन सकिन्छ। हिजो साना-साना विषयमा पार्टी भित्र हुने गुटबन्दीले पार्टीलाई कमजोर बनाएको महशुस गर्ने उनी मात्र होईन, कमिटीका सबैमा त्यो किसिमको एकता र हार्दिकता प्रष्ट देखिन्थ्यो।

बैठकमा नेताहरुको सम्बोधन

महानगर सचिव गणेश श्रेष्ठले संचालन गरको बैठकमा अध्यक्ष निर्मल देउलाले अध्यक्षता गरेका थिए भने पार्टी केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला ईन्चार्ज  कृष्णगोपाल श्रेष्ठ प्रमुख अतिथि, केन्द्रिय सदस्य तथा काठमाडौं  जिल्ला सह-ईन्चार्ज रुपनारायण श्रेष्ठ, केन्द्रिय सदस्य तथा काठमाडौं  जिल्ला सह-ईन्चार्ज  रामेश्वर फुयाल, केन्द्रिय सदस्य तथा काठमाडौं महानगर ईन्चार्ज नारायण सिलवाल, प्रदेश सदस्य तथा काठमाडौं महानगरपालिकाका प्रमुख विधासुन्दर शाक्यले बैठकलाई सम्बोधन गरेका थिए।

बैठकमा सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णगोपाल श्रेष्ठले भने,”  ऐतिहासिक काठमाडौं महानगरको प्रथम अधिवेशन भव्य, सभ्य र सूत्रबद्ध ढंगले सम्पन्न गर्नुभएकोमा सबैलाई धन्यवाद। विविध कारणले हाम्रो पार्टी  ३ वर्ष पार्टी जाम भो, अब पार्टी कमिटीले गती लिन्छ । ७५३ पालिका र एकैपटक ६७४३ वडामा शाखा अधिवेशन सम्पन्न गरी एमालेले ईतिहास रच्यो।  अब राष्ट्रिय महाधिवेशनपछि एमाले देखिने, बोलिने र हिड्ने पार्टी बन्नेछ।”

सम्बोधनमा केन्द्रिय सदस्य तथा महानगर ईन्चार्ज नारायण सिलवालले भने,” व्यवस्थित योजनाका साथ दोश्रो बैठकमा आउनु भएकोमा धन्यवाद तर आगामी बैठकदेखि प्रस्तावहरुबारे कमिटीका साथीहरुलाई ३ दिन अगाडि पठाउन निर्देशन गर्दछु। वडा नम्बर २५ मा निर्वाचन हुनु सामान्य भएको भन्दै निर्वाचनले सकारात्मक सन्देश दिएको बताउँदै जित्नेले समेटेर लाने र हार्नेले सहयोग गर्ने एमालेको नीतिलाई कार्यान्वयन गर्न अनुरोध गर्छु । दशौ महाधिवेशन उद्घाटनको तयारी व्यापक बनाएर प्रत्येक वडाबाट कम्तिमा १ र ठूला वडाहरुले कम्तिमा ५ ओटा बसहरु आफैले पैसा तिर्ने गरी प्रोत्साहित गर्दै महानगरबाट पचास हजार सहभागी गराउने तयारी गर्न अनुरोध गर्दछु। “

दोश्रो बैठकमा महानगर प्रमुख विधासुन्दर शाक्यको सम्बोधनले सबैलाई गम्भीर बनाएको थियो। २०५४ सालमा पार्टी विभाजित हुँदा २०५६ सालको निर्वाचनमा तात्कालिन मालेले एक सीट पनि जित्न सकेन तर धेरै क्षेत्रहरुमा एमालेलाई हराएर बहुमत ल्याउने अवसर गुमाएको स्मरण गर्दै माधव नेपालको पार्टीले एक सीट जित्न नसकेपनि धेरै क्षेत्रमा हराउने भूमिका खेल्ने भएकोले स्थानीय कमिटीहरुले शाखा कमिटीबाट छुट्टिएका साथीहरुलाई मुलधारमा ल्याउन पहल गर्न अनुरोध गरे। बैठकमा सपथ ग्रहण गर्न बाँकी केहि सदस्यहरुलाई पार्टीका केन्द्रिय सदस्य नारायण सिलवालले सपथ ग्रहण गराएका थिए भने केन्द्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए। बागमती प्रदेश कमिटीका सदस्यहरु निर्मल कुईकेल, रत्न गुरुङ लगायत सहभागी बैठकमा महानगर भित्रका प्रदेश र जिल्ला कमिटीका सदस्यहरु अतिथिको रुपमा सहभागी थिए।

एकीकरण अवधिमा एमाले

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पछि बनेका ठूला कमिटीहरु कार्यक्रम जस्तै हुने गर्थे। स्थानीय कमिटीहरुमा दुवै पार्टीका नेता कार्यकर्ता समावेश गर्नुपर्दा पार्टी काममा तालमेल मिलेको थिएन। नियमित हुनुपर्ने बैठकहरु बस्न समेत सकस पर्ने देखिन्थ्यो। भएका बैठकहरु समेत औपचारिकतामा सिमित हुन्थे। कार्यकर्ता बीचमा हुनेपर्ने कमिटीगत हार्दिकतामा कमी देखिन्थ्यो।

सर्वोच्च अदालतको फैसलापछि जोडिएका नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किए। यद्दपी माधव नेपाल गुटले पार्टी भित्र साना-साना कुरामा निउ खोजेर आन्तरिक विवादलाई चर्को रुप लिन थालेपछि पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा देशभर नेकपा एमालेले ठूला-ठूला कमिटीहरु बनाउन थाल्यो। पार्टी फुटको पूर्वानुमान गरेर भीमकाय केन्द्रिय कमिटीको गठन, भिमाकाय जिल्ला कमिटीहरु समेत बने। वडा र पालिकाका कमिटीहरु अध्यक्षले मात्र संचालन गर्नुपर्ने अवस्था भयो। हिजो पार्टीमा क्रियाशील र योगदान पुर्याएका कतिपय कार्यकर्ताहरु दर्शक बने। कतिपय ठाउँमा युवा पुस्ताले पार्टीलाई चलायमान गर्न खोजे, केहि भयो जस्तो भयो त धेरै भएन।

कम्युनिष्ट पार्टीको जीवन्तता भनेकै नियमित बैठक, छलफल र प्रशिक्षण हो। एकता प्रक्रियाको ३ वर्ष दुवै पार्टीका नेता कार्यकर्तामा त्यस किसिमको तालमेल मिलेन। कम्युनिष्ट पार्टी भित्र मात्र होईन, नेपालका सबै पार्टीहरु मध्ये व्यवस्थित पार्टी कार्यालय, गतिशील कमिटी र वैचारिक नेता, कार्यकर्ताले भरिएको एमाले छोटो समयमा ध्वस्त जस्तै भएको थियो। पार्टीका जिम्मेवारीमा आउन गुटका नेता समाउने प्रवृति निकै फस्टाउँदै गएको देखिन्थ्यो। पार्टी सदस्यता वितरण र नविकरणको परिपाटी करिब-करिब शुन्यप्राय: थियो। केन्द्रिय नेताहरु नै आन्तरिक बैठकमा भएका गोप्य विषयहरु, सामाजिक संजाल र आम संचारमा छताछुल्ल हुनेगरी ओकल्थे। अझ स्थानीय कार्यकर्ताका सामाजिक संजालहरु अर्को गुटको नेतालाई खुईल्याउन प्रयोग हुन्थे।

वर्तमानमा एमाले

कार्तिक ६ र ९ गते देशभर एकैपटक वडा र पालिका अधिवेशनपछि स्थानीय तहले नयाँ नेतृत्व प्राप्त गरेको छ। प्राय: कमिटीमा पहिलो बैठक सम्पन्न भएको छ। नयाँ नेतृत्वसँगै स्थानीय स्तरमा धेरै हदसम्म पार्टी भित्रका असन्तुष्टिहरु सामाजिक संजाल र चियापसलमा छरिन छोडेका छन्। पार्टीमा एकमत र एकढिक्काको अवस्था सिर्जना भएको छ। यद्दपी करिब चार वर्षको कमिटीगत शुन्यताले पार्टी कमिटीहरु, नेता-कार्यकर्ताहरुलाई पूर्ण रुपमा पूर्ववत अवस्थामा ल्याउन अझै केहि समय लाग्ने देखिन्छ। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित हुने केन्द्रिय कमिटी र केन्द्रिय कमिटीको पूर्णतापछि गरिने प्रदेश र जिल्ला कमिटीका अधिवेशनपछि भने नेकपा एमाले आफ्नैलयमा फर्किने देखिन्छ। वर्तमान अवस्थामा ठूलै फेरबदल आएन भने अबको चार महिनाभित्रमा एमालेका सबै कमिटीहरुले पूर्णता पाउने छन्। उक्त अवधिसम्म स्थानीय कमिटीहरुमा देखिएका छिटपुट समस्याहरु समाधान भई कमिटी नियमित गतिमा अघि बढ्ने देखिन्छ।

आगामी निर्वाचन अघि पार्टीको मूलधारबाट बिचलित नेता-कार्यकर्ताहरु मूलधारमा आउने क्रम बढ्ने छ। कार्यालय नभएका वडा कमिटीहरु, पालिकाहरुले पार्टी कार्यालयलाई व्यवस्थित गर्नेछन। स्थानीय तहदेखि प्रदेश र केन्द्रिय निकायमा पार्टी नियमित बैठक, प्रशिक्षण, प्रचार तथा प्रकाशनका कामहरुले नियमितता पाउने छन् । पार्टी भित्र काम गर्ने र नगर्ने नेतृत्वको पहिचान हुनेछ। कुनै नेतालाई मन परेको आधारमा कसैलाई थप जिम्मेवारी दिने र कसैलाई जिम्मेवारी बिहिन बनाउने परिपाटीको अन्त्य हुनेछ। कमिटीगत, वैचारिक र गतिशील एमालेले आगामी निर्वाचनमा सानदार विजयी हाँसिल गर्नेछ।

भोलिको एमाले

अहिलेपनि नेकपा एमाले व्यवस्थित रेकर्ड राख्ने, प्रत्येक सदस्यले पार्टीको लेभी आफैँ तिर्ने, पार्टी कार्यालयहरु व्यवस्थित गर्ने, नियमित पार्टी बैठकहरु संचालन गर्ने पार्टी हो। संघीय र प्रादेशिक सरकारबाट एमाले केहि समयको लागि बहिर्गमन भएपनि स्थानीय सरकारमा एमालेको शसक्त उपस्थिति रहेको छ। राष्ट्रिय रुपमा पार्टी विभाजनले आउने निर्वाचनहरुमा प्रत्यक्ष असर गर्ने देखिएपनि बजारहल्ला जस्तो कमजोर अवस्थामा एमाले पुगेको छैन।

माओवादी प्रभावित क्षेत्रमा एमालेको पक्कड बढ्नु र तराईमा कार्यक्रम गर्न नसक्ने अवस्थाबाट गुज्रिएको एमाले अहिले मधेश-तराईमा लोकप्रिय बन्दै जानुले पनि आगामी निर्वाचनबारे पूर्व अनुमान गर्न गाह्रो पर्ने देखिन्छ। एमाले विभाजनको ईतिहास हेर्ने हो भने २०५४ सालमा पार्टी विभाजनको वैचारिक आधार थियो। अहिले माधव नेपालहरुले गरेको विभाजन भनेको पदको लागि हो भन्ने विषयमा आम कार्यकर्ता र जनतामा प्रष्ट बुझाई छ। अर्कोतर्फ एमालेको देशभर बढ्दो लोकप्रियता र अन्य पार्टी नेतृत्वमा देखिएको विश्वास अभावले केहि समयपछि नै विभाजनको असर कमजोर हुँदै जाने देखिन्छ।

वास्तवमा २०४८/२०४९ सालतिर नेकपा एमालेमा जुन किसिमको स्प्रिट थियो, करिब १ वर्ष त्यो स्प्रिटलाई पुनर्जागरण गर्न सक्ने किसिमको योजना र कार्यक्रम माथिल्ला कमिटीबाट ल्याई व्यवस्थित ढंगले परिचालन गर्न सक्ने हो भने एमालेले आगामी निर्वाचनहरुमा एकल र सानदार बहुमत ल्याउने प्रष्ट देखिन्छ किनभने एमालेमा बिग्रिएको भनेको पार्टीको माथिल्लो नेतृत्व हो। पालिका र वडा तहमा क्रियाशील नेकपा एमालेका कुनैपनि नेता र कमिटीहरु जनताबाट टाढा भएका छैनन्।

सर्वोच्चको फैसलापछि पूर्ववत अवस्थामा फर्किएका एमाले र माओवादी केन्द्रका गतिविधिलाई नजिकबाट हेर्ने हो भने एमालेले यो विचमा गरेका कमिटीगत  उपलब्धिहरु माओवादीले गर्न अझै केहि वर्ष कुर्नुपर्ने देखिन्छ। जटिल र विविधताले युक्त काठमाडौं महानगरमा पार्टी अध्यक्षको रुपमा निर्मल देउलाले थोरै समयमा निर्वाह गरेको योजनावद्द, गतिशिलता, शालीन र समन्वयकारी भूमिकाले महानगरको एमालेले विगतभन्दा राम्रो परिणाम ल्याउने प्रष्ट देखिएको छ। काठमाडौं महानगर पार्टी कमिटीका असल र राम्रा अभ्यासहरूले छिमेकी पालिकाहरुलाई पार्ने सकारात्मक प्रभावले सिंगो काठमाडौंलाई एमाले किल्ला बन्नबाट कसैले पनि रोक्ने छैन। 

(लेखक ध्रुवप्रसाद घिमिरे नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्