‘कम्युनिष्टहरुको आदर्शपात्र कमरेड गोन्जालो’



हर्कसिंह केसी, विश्व पुजीवादको नाइके अमेरिकाको छेवैमा क्युबा,भेनेजुएला लगायतका ल्याट्टिन अमेरिकी देशहरुमा लगभग एकै साथ चर्किएको सर्वहारावादी कम्युनिस्ट आन्दोलन पेरु भन्ने गरिब ल्याटिन अमेरिकी राज्यमा पनि सन १९८० को दशकमा निकै चर्कियो । राज्यको करिब असी प्रतिशत भू(भाग कब्जा गरिसक्दा अधिकांश केन्द्रीय नेतृत्व पक्राउ पर्नाले अप्रत्याशित धक्का खाएर तहस नहस अबस्थामा पुगेको उक्त आन्दोलनका संस्थापक र सर्बोच्च नेता कमरेड गोञ्जालोको २९ बर्षे आजिबन काराबासका क्रममा ११ सेप्टेम्बर २०२१ ई.सं. मा निधन भएको खबर बाहिरिएको छ । सर्ब प्रथम अन्याय र अत्याचारका बिरुद्ध बैचारिक र शसस्त्र आन्दोलनको सुत्रपात गर्ने महान योद्धाप्रती भावपुर्ण श्रद्धाञ्जली !

भनिन्छ कम्युनिष्टहरु जिवन समर्पित गरेर क्रान्तिमा होमिन्छन। कि त जितेर भौतिक रुपमा सर्बहारावादी सत्ता प्राप्त गर्दछन या त भौतिक रुपमा हारेर पनि भावी पुस्तालाई बैचारिक शिक्षा प्रदान गर्दछन । उनिहरु मृत्यु पछि पुनर्जन्मको विश्वास गर्दैनन।अथवा मृत्यु पश्चात आत्मा र देह दुवैको अस्तित्व समाप्त हुन्छ भन्ने ठान्दछन।त्यसो हुँदा मृत्यु पछि पनि अजय रुपमा बाँचिरहने भनेको उसले समाजमा छोडेको छाप या बिचार मात्र हो। यस्तै आफुले ब्यक्तिगत र भौतिक रुपमा हारेर पनि विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारावादी क्रान्तिकारिहरुलाई महान बिचारकको शिक्षा प्रदान गर्ने एक हस्तीको संक्षिप्त जिबनी उल्लेख गर्ने कोशिश गर्दछु ।

खास नाम-मानुएल रुबेन अबिमाएल गुज्मन रेनोसो । (अबिमाएल गुज्मन रेनोसो मात्र पनि भनिन्छ)
विश्व चर्चित उपनाम क.गोञ्जालो !
जन्म मिति- ३ डिसेम्बर १९३४ ई.सं.
जन्म स्थान – आरेकुइपा पेरु।
माता- बर्निस रेनोसो
पिता- अबिमाएल गुज्मन
जीवनसाथी – अगस्ता ला टोरे
विवाह – १९६४ ई.सं.(१९८८ मा मृत्यु)

२ एलिना इपारागुइरे
बिबाह- २०१० ई.सं.
नेता-पेरु कम्युनिस्ट पार्टी (साइनिङ्ग पाथ)
पथ प्रदर्शक सिद्धान्त – माक्र्सबाद,लेनिनवाद,माओवाद र गोञ्जालो बिचारधारा

पेरु भियाली एक धनाढ्य ब्यापारि अबिमाएल गुज्मन र बर्निस रेनोसो नाम गरेकी एक महिला बिचको बिवाह पुर्वको सम्बन्धबाट जन्मिएका थिए गोञ्जालो । उनकी आमाले विवाह नगरेरै आफ्ना बाबुसितको सम्बन्ध तोडेर माईतीमा बस्न गएकी थिइन । दुर्गम गाउँमा गरिब मावली परिवारमा उनले केही समय बिताए।उनी पाँच बर्षको हुँदा सन १९३९ मा उनकी आमाको निधन भयो । आमाको मृत्यु पश्चात केही समय मामासँग बिताएका उनी त्यसपछि काकाकोमा गए । काकासँगको केही बसाइ पश्चात आफ्नै बाबू अबिमाएल गुज्मनको घर अथवा गोञ्जालोको जन्म स्थान आरेकुइपा पुगे ।त्यहाँबाट उनले ग्राजुयट सम्मको अध्ययन सकाए र उनि एउटा राष्ट्रिय विश्वबिधालयको प्रोफेसरमा नियुक्त गरिए।

उत्तरयौवनाबस्थाको अवधिमा उनी एउटा बामपन्थी बुद्धिजीवी संगठनमा आवद्ध भए पश्चात् उनीमा बिस्तारै राजनैतिक चासो बढ्न थाल्यो।खास गरि उनी एक जना रंगरोगनको काम गर्ने कार्लोस डेला रिभा नाम गरेका मजदुरसँग नजिक हुन पुगे।कार्लोस सामान्य मजदुर मात्र नभएर रसियन कम्युनिस्ट नेता स्टालिनका कट्टर समर्थक थिए।कार्लोसले सन १९५० को अन्त्यतिर पेरुभियन कम्युनिस्ट पार्टीको निर्माण गरिसकेका थिए।गोञ्जालो अब उनका चेला जस्तै बन्न पुगे।

त्यस पछि उनी कार्ल माक्र्स,लेनिन र माओद्वारा रचिएका पुस्तकहरुको अध्ययनमा गहिरोसँग लागे।सँगसँगै उनले गरिव, किसान र आदिवासीहरुलाई भेला गर्दै शोषण,अन्याय र अत्याचारका बिरुद्ध प्रशिक्षण दिन थाले।

उनी अब शहरको बसाइ छाडेर ‘आयाकुचो’ भन्ने पहाडी दुर्गम ठाउँमा पुगे र त्यहाँबाट संगठन बिस्तारलाई निरन्तरता दिए । त्यस ताका पेरुमा अन्याय अत्याचारले सिमा नाघेको थियो।सानै देखि अन्याय र अत्याचारका बिरुद्ध निडर रुपमा खरो उत्रिए गोञ्जालो अन्तर हृदय देखि त्यस बिरुद्ध लड्ने अठोट सहित लाग्दा जनता पनि उनिलाई सजिलै बिश्वास गर्न थाले र संगठित हुन थाले।

सन १९६५ देखि १९६७ को बिचमा उनी कयौं पटक चाइना आवत जावत गरेर चिनियाँ छापामार युद्धकलाको अध्ययन गरेर पेरु फर्किए।पेरु कम्युनिस्ट पार्टि भित्र रसियन सशस्त्र मजदुर बिद्रोहको मोडेल र चिनियाँ छापामार युद्धको मोडेलका बिषयमा मत बिभाजन भयो। जसमा गोञ्जालो पेरु जस्तो भूपरिवेष्टित गरिव किसान बाहुल्य राष्ट्रमा चिनियाँ मोडेल नै उपयुक्त हुने पक्षमा लागे।अब उनी ढिला नगरी घनिभुत रुपमा शसस्त्र क्रान्तिको सुरुवात गर्नु पर्नेमा जोड दिन थाले र सन १९६९ मा पेरु कम्युनिस्ट पार्टी साइनिङ्ग पाथको स्थापना गरे।जुन पार्टीले चिनियाँ छापामार शैलीको क्रान्तिको अबधारणा राखेको थियो। मार्क्सवाद,लेनिनवाद र माओवादलाई पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा अङ्गिकार गर्दै पार्टीलाई पुरै सैन्यकरन गर्‍यो र युबाहरुलाई छापामार गुरिल्ला सैन्य तालिम दिएर अघि बढ्यो।

यसरी सन १९८० को दशकमा पेरुमा गृहयुद्धको रुपमा भीषण संघर्ष चल्यो।पेरुभियन राज्य संयन्त्रका स्थानीय अड्डाहरुमा कब्जा जमाउदै पेक पासाइनिङ्ग पाथले राजधानी बाहिरका करिब असी प्रतिशत भू-भाग आफ्नो नियन्त्रणमा लियो। अब फूजिमोरी सरकारले राज्यमा संकटकालको घोषणा गरिसकेको थियो र आफ्ना संयन्त्रहरुलाई राजधानिमा मात्र सिमित राखेको थियो। गोञ्जालो र उनको टिम राजधानी घेरा हाल्ने र कब्जा गर्ने रणनीतिमा थियो । उदेश्य बमोजिम पार्टी राजधानी लिमा प्रवेश गर्‍यो। सन १९९२ सेप्टेम्बर १२ तारिकका दिन राजधानिको कुनै स्थानमा पार्टी योजनाका बिषयमा छलफल गर्न विशेष केन्द्रिय टिम जुटिरहेका बेला एक्कासी अमेरिकी साम्राज्यवादका पाल्तु जत्थाले घेराबन्दी गरेर गिरफ्तार गरे । कमरेड गोञ्जालो सहित निसस्त्र १४ जना गिरफ्तार परे पछि नेतृत्व र निर्देशन बिहिन बनेको युद्धरत पेरु कम्युनिस्ट पार्टी साइनिङ्ग पाथ केही समय निकै हतोत्साहित भयो। लगतै थुप्रै नेताहरु एक पछि अर्को गिरफ्तार हुन थाले। त्यसको केही समय पश्चात् २५ बर्षिय फिलिसियनोले नेतृत्व समाले तर पछि उनी पनि समातिए ।

प्रतिक्रियावादी र सामराज्यवादीहरुले गोञ्जालोलाई मानविय हद नाघेर कठोर र निर्मम यातना दिदै कस्टडीबाट षडयन्त्रका भ्रमपूर्ण समाचार सम्प्रेषण गर्न थाले। गोञ्जालोका नक्कली आवाजहरुमा उनिले शान्तिवार्ता गर्न र आत्म समर्पण गरेर हतियार बुझाउन भनेको भन्ने हल्ला पिटाई। त्यसले साइनिङ्ग पाथ भित्र दुई लाइन संघर्ष सृजना गरिदियो। एक थरी भन्न थाले ‘यो गोञ्जालोको आफ्नै आवाज हो। उहाँले भने अनुसार नै युद्ध रोक्नु पर्छ र आत्म समर्पण गर्नु पर्छ।’ अर्को थरी भन्न थाले ूकमरेड गोञ्जालो त्यति कमजोर मानसिकता भएको ब्यक्ती हैन जो प्रतिक्रियावादी र साम्राज्यवादीका यातनाले गलोस।उहाँलाई अचेत बनाएर या नक्कली आवाज दिएर भ्रम मात्र सृजना गर्न खोजिएको हो, हामी युद्ध जितेरै गोञ्जालोलाइ न्याय दिलाउन सक्छौ न कि आत्म समर्पण गरेर।’ यसरी दुई लाइन संघर्षले चरम रुप लियो र एक थरी नेताहरु गोञ्जालोलाई जीवन दिने भन्दै फुजिमोरी सरकारसँग वार्ता गर्न गए र कोहि त्यहिबाट गिरफ्तार परे कसैले आत्म समर्पण गरे। आखिर फूजीमोरी सत्ताको भ्रमको पर्दा च्यातियो।त्यसपछी आन्दोलनले बिस्तारै रक्षात्मक बन्दै बिसर्जनको आस्था बेहोर्नु पर्‍यो।

यसले विश्व क्रान्तिकारी आन्दोलनलाई ठूलै शिक्षा प्रदान गर्‍यो।बिजयको अन्तिम चरणमा प्रबेश गरेको आन्दोलन एक्कासी यसरी तहस नहस पारिनुमा कस्ता खालका कमि कमजोरी कारक छन भन्ने कुरा बिश्वका क्रान्तिकारिहरुको लागि अध्ययन अनुसन्धान र ग्रहणयोग्य शिक्षा बन्यो।भनिन्छ नेपालको जनयुद्व प्रत्याक्रमणको चरणमा प्रबेश गर्दै गर्दा शान्ती वार्ता मार्फत लोकतान्त्रिक गणतन्त्रमा सम्झौता गर्नुका पछाडी प्रचण्डले यिनै अन्तर्राष्ट्रिय परिघाटनाबाट शिक्षा लिएर गरेको निर्णय महत्वपुर्ण छ।

१९८८ तिर गोञ्जालोको जिवनमा बिपरित उत्कर्षका दुई ठुला परिघटना भएका थिए। पहिलो सकरात्मक परिघाटना पेरु कम्युनिस्ट पार्टी साइनिङ्ग पाथले पेरुमा चलाएको छापामार युद्धले बिजय हासिल गर्दै जाँदा त्यहाँ विकास भएको बिचार शृङ्खलालाई गोञ्जालो बिचार भनेर पारित गरेको थियो। त्यो स्वयं साइनिङ् पाथ र विश्व क्रान्तिको लागि नयाँ उर्जा र उत्साहको कुरा त थियो नै अझ गोञ्जालोको ब्यक्तिगत पहिचानको कोसे ढुङ्गा पनि थियो । खासमा त्यसपछि क्रान्तिले पछाडी धक्का नखादा सम्म बिश्वका क्रान्तिकारिहरुले गोञ्जालोलाई मार्क्स,लेनिन र माओ को दर्जा दिएर चिन्ने गर्दथे।

दोश्रो नकरात्मक परिघटना थियो।उनको संघर्षरत ब्यक्तिगत जिवनलाई नजिकबाट काँध थापेर अघि बढ्न प्रेम पुर्बक मदत गरेकी उनकी एक मात्र जीवन संगिनी ‘अगस्ता ला टोरेूको निधन त्यसै समयमा भएको थियो।उनको निधनले गोञ्जालोलाई कतै न कतै अभाव खट्किएको बुझिन्थ्यो।

फूजिमोरी सरकार र अमेरिकी साम्राज्यवादका हतियारधारी जत्थाले अकस्मात हमला गरि गिरफ्तार गरेको केही समय बेपत्ता रुपमा कसैलाई भेट्न नदिएर अन्तर्राष्ट्रिय आतंककारीको बिल्ला भिडाएर कडा पहराका बिच बन्दी बनाइयो। साइनिङ्ग पाथका छापामारहरुले जमिनको जेलबाट खोसेर लान सक्ने भयले सन १९९३ मा पश्चिमी लिमाको एउटा सानो समुन्द्री टापुमा निकै विशेष कारागार भित्र आजिवन बन्दी बनाइ राखियो। बिश्वका क्रान्तिकारिहरु र मानव अधिकारवादिहरुले गोञ्जालोको रिहाइका लागि पहल नगरेका हैनन।तर गोञ्जालो लाई रिहा गरे आफ्नो स्वर्गको अन्त्य निश्चित देखेको अमेरिकी साम्राज्यवाद र कठपुतली फूजिमोरी सरकारले उनको अबस्था सम्म पनि जानकारी गराउन उपयुक्त ठानेन र कसैसँग संपर्क नै हुन दिएन। बरु उनलाइ निरन्तर शारिरिक मानसिक यातना दिई राख्यो। विभिन्न भ्रमका जालहरु फिजाइ राख्यो । अन्ततःत्यही यातनाका कारण उनिमा विभिन्न बिमारहरु सृजित भए र उनको एक खालको हत्या जस्तै मृत्यु भयो ।

यस बिचमा उल्लेख गर्न लायक कुरा उनको दोश्रो बिहे सम्बन्धि छ।पहिलो श्रीमतिको निधन पछि प्रेममा परेकी समकक्षी एलेना इपारागुइरेसंग दुवै जना आजिवन कारावासको जीवन बिताइरहेकै अबस्थामा अन्तर्राष्ट्रिय मानवधिकारवादीको दबाबमा सन द्दण्ज्ञण् मा बिहे गर्न अनुमती दिइएको थियो।यसरी उनले आफ्नो जिवनकालमा दुइवटा बिहे गरे पनि उनका कुनै सन्तान नभएको बताइन्छ ।

क्रान्तिकारिहरु हारमा आफ्नो ज्यान दिन सक्छन् भने जितमा सिङ्गो संसार।कमरेड गोञ्जालो पनि पेरुभियन निमुखाहरुले भोगेको अन्याय अत्याचारका बिरुद्ध ,उनिहरुको मुक्तिका लागि आफ्नो ज्यान बाजि राखेर युद्धमा होमिएका थिए।उनले ब्यक्तिगत रुपमा कहिल्यै हारेनन।दुश्मनका अघि घुडा टेक्नु सब भन्दा ठूलो हार हुन्छ। उनले आफ्नो जीवन बलि चढाए तर दुश्मनसँग माफी मागेनन । यदि उनिले माफी मागेर अमेरिकी साम्राज्यवादको गुलामी गर्ने कसम खाँदा हुन त अहिले पेरुमा अमेरिकी कठपुतली सरकारको कुर्सीमा बस्न सक्थेहोला।तर साच्चैका क्रान्तिकारिहरु दुश्मनसँग हार स्वीकार गरेर उत्पीडित वर्गीय आन्दोलनलाई हतोत्साहित गर्नु भन्दा आफ्नो जीवन चढाएर क्रान्तिकारिहरुको प्रेरणा बन्नु मा बिजय देख्छन। हुन पनि आत्म समर्पण गरेको भए गोञ्जालो,चे ग्वेभारा,लगायतका विश्व क्रान्ति नायकहरु आज भौतिक रुपमा सुख सयलमा बाच्न सक्थेहोला तर बैचारिक रुपमा मसान बन्ने थिए।अपराजित साहास र सौर्यका कारण आज अजर अमर विश्व क्रान्ति नायकका रुपमा सुप्रसिद्ध भै अनन्तकालका लागि बाँचिरहेछन। सर्वहाराहरुका एक नअस्ताउने नक्षत्र कमरेड गोञ्जालो अमर रहनेछन।

क्रान्ती नायक कमरेड गोञ्जालो जिन्दावाद !
कायर र आततायी सबै खाले प्रतिक्रियावादी र साम्राज्यवादी अत्याचारीहरु मुर्दावाद !

प्रतिक्रिया दिनुहोस्