पशुपति क्षेत्र विकास कोषमा पुनः नियुक्तिका लागि प्रदिप ढकालको आर्थिक चलखेल शुरु



हिन्दु धर्मावलम्वीहरुको आस्थाको धरोहरको रुपमा रहेको पशुपति क्षेत्रको विकास गर्न गठित पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव र कोषाध्यक्ष बन्न करोडौंको चलखेलमा कोषका निवर्तमान सदस्य सचिव डा. प्रदीप ढकाल लागेका छन् ।

मधेशी जनअधिकार फोरमको तत्कालिन नेतृत्वलाई ४ करोड रकम बुझाई कोषको सदस्य सचिव बनेका ढकालले आफ्नो ४ वर्षे कार्यकालमा विकासको नाममा सिन्का नभाची पुरातात्विक सम्पदा संरक्षण तर्फ कुनै काम नगरेको एक स्थानीयले सेतोपेजलाई बताए ।

एक स्थानीयका अनुसार प्रदीप ढकालले आफ्नो कार्यकालमा अघिल्लो कार्यसमितिले सेवा दिने उद्देश्यले निर्माण गरेको नेपाल भारत मैत्री धर्मशालालाई अहिले निजी कम्पनीलाई ठेक्का दिएर तीन तारे होटल बराबरको चर्काे शुल्क अशुली रहेका छन् ।

पुरातत्वविद् र स्थानीयलाई सहभागी नबनाई तयार पारेको १०० वर्षको गुरुयोजना विरोधपछि रद्दीको टोकरीमा थन्काएर अहिले डा. चन्द्रमणी अधिकारीको नेतृत्वमा गुरुयोजना निर्माण समिति मार्फत अर्काे गुरुयोजना निर्माण गर्नु परेको छ ।

ढकाल सदस्य सचिव बनेपछि बूढानीलकण्ठ नगरपालिकामा छ करोड रुपैयाँमा बंगला किनी बसिरहेको तथ्य फेला परेको छ । अर्का स्थानीय भन्छन्, ‘स्याङ्जाबाट खाली हात काठमाडौं छिरेका ढकालले आफ्नै कार्यकालमा गौशला भुवनेश्वरी सडक पिच गरे र सद्धे पिच भत्काएर अर्काे वर्ष ढुङ्गा छापे । गौशला प्रहरी चौकीदेखि पशुपतिनाथ मन्दिर हुँदै गौरीघाटसम्मको बार र तारजाली पनि पहिलो वर्ष बनाई दोस्रो वर्ष फेरी निर्माण गरे । पुरातात्विक सम्पदाको संरक्षण नगर्ने, विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा सिमेन्ट र रडको प्रयोग गरी विभिन्न संरचनाहरु निर्माण गरी अपारदर्शी ढंगले करोडौं घोटला गरेका छन् ।’

पशुपति मन्दिर क्षेत्रमा रहेको विश्वरुपको मन्दिर संरक्षण नगर्ने तर सोही मन्दिरको पछाडी भू–क्षय रोक्ने नाममा करोडौंको घोटाला गरेको मन्दिर संरक्षणकर्ताले जानकारी गराए ।

प्रदीप ढकालको स्वेच्छाचारी निर्णयविरुद्ध स्थानीय धर्मसंस्कृति संरक्षणकर्ता र राजनीतिक दलहरुले संघर्ष समिति नै निर्माण गरी पटक–पटक उनका कु–कर्मलाई सच्याउनुपरेको संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्