बुर्जुवा शिक्षा त्यागी भूमिगत राजनीतिमा होमिएका युवराज कार्की



नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा बहराईनका लागि प्रस्तावित राजदुत युवराज कार्की २०१० साल जेठ १६ गते संखुवासभाको तत्कालिन  मादी मूलखर्क गाविसमा जन्मिएका हुन् ।

परिवारसँगै बसाईसरी झापा पुगेका कार्कीलाई कम्युनिष्ट विचारधाराले आकर्षित गर्यो र २०२८ सालदेखि उनी अनवरत रुपमा कम्युनिष्ट पार्टीमा क्रियाशील रहँदै आएका छन् । झापामा रहँदा कम्युनिष्ट राजनीतिमा होमिएका कार्की उच्च शिक्षाको लागि काठमाडौं आएपछि नेताका रुपमा स्थापित भए ।

धरानस्थित हात्तीसार क्याम्पसमा आई.टेक (आई एसस्सी सरह) पढ्ने बेलामै उनी विद्यार्थी राजनीतिमा सक्रिए थिए । हात्तीसार क्याम्पस विद्यार्थी युनियनको चुनावमा सभापतिमा पनि चुनिएका उनी क्याम्पसको एक मेहेनती विद्यार्थीको रुपमा समेत परिचित थिए । आईटेकको परीक्षामा कार्कीले ८६ प्रतिशत अंक प्राप्त गरि क्याम्पसमा सबैभन्दा उच्च रेकर्ड कायम गरेका थिए ।

हात्तीसार क्याम्पसबाट आईटेक उत्तीर्ण उत्तिर्ण गरी थप उच्च शिक्षाको लागि काठमाडौंको जनप्रशासन क्याम्पसमा भर्ना भएर अध्ययनकै शिलशिलामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रममा जागिर शुरु गरेका थिए । पढाईमा सधै अब्बल कार्कीले काठमाडौंको जनप्रशासन क्याम्पसमा पनि स्नातक तह प्रथम बर्षको परीक्षामा क्याम्पसको रेकर्ड तोडी ७८ प्रतिशत अंक प्राप्त गरि जेहन्दार विद्यार्थीको रुपमा छात्रवृत्ति समेत प्राप्त गरेका थिए । तत्कालिन नेपाल कम्युनिष्ट पार्टीले उनी पढीरहेको शिक्षालाई बुर्जुवा शिक्षा भन्दै बहिष्कार गरि क्रान्तिकारी आन्दोलनमा सामेल हुन आह्वान गरेपछि उनले उच्च शिक्षा, आकर्षक जागिर र ऐस आरामको जिन्दगीलाई त्याग्दै भूमिगत आन्दोलनमा होमिए ।

पढाई छोडेर भूमिगत भएपछि जनप्रशासन क्याम्पसमा पछिसम्म उनको खोजी भइरह्यो । उनी भूमिगत भई क्रान्तिकारी काममा लागि सकेका थिए भनेर तात्कालीन नेकपा(माले)को सिमित नेताहरुलाई मात्र थाहा थियो । विद्यार्थी जीवनमा जहिल्यै कार्कीले प्रथम स्थान हासिल गरेको उनलाई पढाउने शिक्षकहरु अहिले पनि उनको प्रतिभा र लगनशीलताको चर्चा गर्छन् । श्रमजीवि वर्गको मुक्तिको लागि कम्युनिष्ट राजनीतिमा होमिएका कार्कीले कहिल्यै पनि पढाईलाई राजनीतिक जीवनभन्दा ठूलो ठानेनन् । यदि पढाईमै केन्द्रित रहेका भए आज उनी मुलुककै एउटा प्रतिष्ठित विशेषज्ञ वा प्रशासक बन्न सक्थे । तर व्यक्तिगत उन्नति भन्दा शोषित पिडित जनताको मुक्ति अभियानलाई आफ्नो जिन्दगीको उद्देश्य बनाए ।

कहालीलाग्दो भूमिगत जीवनदेखि अहिलेको अवस्थासम्म कार्की निरन्तर कम्युनिष्ट आन्दोलनको अगुवाको रुपमा निस्वास्र्थ ढगंले क्रियाशील भइरहेका छन् । अझैपनि नेकपा (एमाले)बाटै नेपाली समाजको रुपान्तरण र समृद्धि देख्ने कार्कीले व्यक्तिगत लाभ भन्दा पनि पार्टी हित र समृद्ध नेपाल निर्माण बाहेक अरु कुनै उद्देश्य वा व्यक्तिगत स्वार्थ राखेको देखिदैन ।

तत्कालिन नेकपा(माले)को संगठकका रुपमा २०३४ सालदेखि काठमाडौं उपत्यकामा पार्टी कामको विकास एवम् बिस्तारमा क्रियाशील कार्कीले २०३४ सालदेखि २०४० सालसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा पार्टी संगठनको निर्माण र बिस्तारमा धेरै पसिना बगाएका छन् । त्यसबेला काठमाडौं उपत्यकाको पार्टी सम्पर्कमा रहेका युवराज कार्की पार्टीभित्र कमरेड योगशको नामबाट परिचित थिए । कार्की २०३३ सालदेखि तत्कालिन कोअर्डिनेशन केन्द्रबाट राजनीतिमा सक्रिय रही २०३४ सालमा कोअर्डिनेशन केन्द्रको सदस्यता लिएर दोस्रो पटक सदस्यता लिएर कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०३९ सालमा सिपी मैनालीले पार्टीमा मच्चाएको गढबढीलाई निस्तेज पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कार्की २०४० सालमा पार्टीको नारायणी अञ्चल कमिटीको सचिव भएर ग्रामिण भू–भागमा क्रियाशील थिए । २०४१ देखि २०४६ सम्म बागमती अञ्चल कमिटीको सचिव भएर धादिङदेखि ओखलढुङ्गासम्म पार्टी निर्माणको काममा योगदान पुर्याए । भूमिगत कालमा योगेश, हिम्मत, दुर्लभ र रेवत जस्ता नामले चिनिने कार्की २०४६ सालको भदौमा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटीमा निर्वाचित भई २०४७ सालमा नेकपा(माले) र नेकपा (मार्क्सवादी)को बिचमा एकीकरण भई नेकपा एमाले नबनुन्जेलसम्म सगरमाथा अञ्चलको ईन्चार्ज भएर पार्टी कामलाई योगदान पुर्याएका थिए । २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सगरमाथा अञ्चलको नेतृत्वदायी भूमिका निर्वाह गरेका कार्की नेकपा एमाले भएपछि राष्ट्रिय परिषद् सदस्य र सगरमाथा अञ्चल कमिटीको सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । २०५३ सालदेखि पार्टीको केन्द्रिय विदेश विभागको सदस्य रहेका कार्की २०५४ माघमा सम्पन्न नेकपा एमालेको छैटौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटीमा चुनिएका थिए । नेकपा एमालेको केन्द्रिय कमिटीमा रहँदा विभिन्न समयमा कार्कीले पार्टी केन्द्रिय प्रचार विभाग प्रमुख, केन्द्रिय सचिवालय सदस्य, विद्यार्थी तथा युवा फाँट ईन्चार्ज र नेपाल कम्युनिष्ट पार्टी स्थापनाको स्वर्ण जयन्ती वर्ष आयोजक कमिटीको सदस्य सचिवको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पोलिटब्यूरो सदस्यमा निर्वाचित कार्की २०६४ सालमा समानुपातिक तर्फबाट संविधान सभा सदस्यमा निर्वाचित भई २०६८ सालमा सामान्य प्रशासन मन्त्री समेत भएका थिए ।

सरल र निश्चल व्यक्तित्वका धनी युवराज कार्की संकटको घडीमा जहिल्यै पनि पार्टीको पक्षमा उभिएर गलत प्रवृतिका विरुद्ध दृढतापूर्वक जुझ्दै आईरहेका छन् । निरन्तरको कष्टकर राजनीतिक जीवन, पार्टीप्रतिको निष्ठा, इमान्दार छवि, स्वच्छ र संघर्षशील व्यक्तित्वले नै उनलाई नेकपा एमालेको केन्द्रिय जिम्मेवारीमा भएको देखिन्छ ।

(यो लेख परिवर्तन खबरबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्