कर्णालीमा मन्त्रिमण्डल विस्तार, काँग्रेस दुई मन्त्रालय सहित सरकारमा सहभागी हुने



काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुटेका छन् ।

कर्णालीमा नेपाली काँग्रेस प्रदेश सरकारमा सहभागी हुने भएपछि मन्त्रीमण्डल बिस्तार हुने भएको हो ।

पूर्ववत पार्टी बिउँतिए संगै माओवादी नेतृत्वको सरकारलाई एमालले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कर्णाली प्रदेशको सरकारलाई विश्वासको मत दिएर सत्ता समिकरण गर्न पुगेको नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारका सहभागी हुने तयारीमा जुटेको हो ।

सत्ता समीकरण अनुसार माओवादी नेतृत्वको सरकारमा कांग्रेस दुई मन्त्रालय सहित सरकारमा सहभागी हुनेछ ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले छिट्टै कांग्रेसका मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन् । सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय लिएर कांग्रेस सरकारमा जान लागेको हो ।

कांग्रेस निकट स्रोतका अनुसार भने गुटगत सन्तुलन मिलाएर सरकारमा जाने तयारी गरिएको छ । देउवा र पौडेल समूहका एक÷एक जना सांसद्लाई मन्त्री बनाउने तयारी भएको कांग्रेस स्रोतले बतायो ।

एमालेका मन्त्रीले चैत २४ गते मन्त्रीबाट राजीनामा दिएपछि अहिलेसम्म सामाजिक विकास मन्त्रालय खाली छ । यसअघि माओवादी सांसद्लाई मन्त्री बनाउन भौतिक पूर्वाधार मन्त्रालय फुटाएर बनाइएको जलस्रोत मन्त्रालय पनि खाली नै छ ।

यसअघि सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलुकुदलाई आन्तरिक मामिला मन्त्रालयमा लिइएको थियो । कांग्रेसको अडानका कारण अहिले उक्त विषयलाई सामाजिक विकास मन्त्रालयमै ल्याउने तयारी भईरहेको जनाईएको छ । विहिबार बस्ने मन्त्रिपरिषद वैठकले यो निर्णय गर्ने जनाईएको छ ।

प्रदेश सरकारमा अहिले मुख्यमन्त्री सहित ३ जना, एमालेका फ्लोरक्रस गर्ने नेपाल समुहका ३ जना मन्त्री रहेका छन् । नेपाली काँग्रेसका दुई मन्त्री थपिए कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री सहित ८ जनाको मन्त्रीमण्डल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्