अर्थमन्त्री पौडेलले भने : चुनावपछि पनि हामी नै सरकारमा आउँछौं र बजेट कार्यान्वयन गर्छौं



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन बताएका छन् ।

निर्वाचन घोषणा गरेको सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना भएका बेला उनले चुनावपछि पनि नेकपा एमाले नै सरकारमा आउने र बजेट कार्यान्वयन गर्ने दाबी गरेका हुन् ।

‘आज बजेट जसले प्रस्तुत गरेको छ, त्यसैले बजेट कार्यान्वयन गर्छ,’ आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक वर्ष २०७८÷७९ को बजेटका विषयमा गरेको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘आज पनि कार्यान्वयन गर्छ, निर्वाचनपछि पनि जनताबाट अनुमोदित भएर यो शक्ति आउँछ ।’

बजेट ल्याउन हुँदैन भन्नु कोरोना नियन्त्रण गर्नु हुँदैन, निजी क्षेत्र र जनताको माग सुन्नु हुँदैन भन्नुजस्तै रहेको अर्थमन्त्री पौडेलले बताए ।

उनले बजेटमा अहिले केवल विरोधका लागि मात्र विरोध भइरहेको भन्दै तथ्यमा रहेर विरोध गर्ने कुनै विषय नै विपक्षीसँग नरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्