कथाकार पूर्ण ओलीको कथासङ्ग्रह “जितौरी” को समीक्षात्मक अध्ययन



‌ ‌कमलमणि देवकोटा  ‌ (समीक्षक)

कथाकार पूर्ण ओलीद्वारा रचित कथाहरूको सन्दर्भमा समीक्षात्मक चर्चा गर्नुपूर्व उनको वारेमा थोरै केही कुरा पस्किन सान्दर्भिक लाग्यो ।

सुरुमा इष्टमित्रको नाताले तथा एक राष्ट्रसेवकको हैसियतले मात्रै उनलाई मैले अलि अलि चिन्ने मौका पाएको थिएँ । जब म सरुवा पदस्थापना भएर २०७१ सालमा रुकुम पश्चिममा गएँ, त्यतिबेला उनी कोलेनिका रुकुमको कोष नियन्त्रकबाट सरुवा भै निर्वाचन आयोगको आ.प्र.महाशाखामा कार्यरत थिए । त्यसबेलादेखि झन् कहिलेकाँही भेटहुँदा हाइहलो, सकुशल, निकाआराम आदि औपचारिक सोधपुछ त हुने नै भयो ।

यसरी म पहिलो र दोश्रोपटक गरी करिब चारवर्ष रुकुम मुसिकोट बस्दा त्यतिबेला उनका आफन्त एवम् परिवारजनसँग समेत अलि नजिकिँने मौका पाइयो । रुकुम सोलावाङ निवासी यिनकी ममतामयी आमा योगमाया जो सामाजिक सेवाका कार्यमा समर्पित एक सशक्त नारी हुनुहुँदोरहेछ भन्ने कुरा समेत थाहा भयो । त्यसपछि त झन् त्यो परिवारप्रतिको मेरो हेराई अझैं उच्च बन्दै गयो ।

दुई वर्षअघिको कुरा हो पश्चिम रुकुमको सदरमुकाम मुसिकोटको ऐतिहासिक महत्वलाई दर्शाउन तथा पौराणिक साँस्कृतिक पहिचान एवम् धरोहरलाई अमिट बनाई राख्नुका साथै यसलाई सर्वत्र चिनारी गराउन त्यहाँका स्थानीय साहित्यसर्जक यिनै पूर्ण ओलीद्वारा लिखित एवम् स्थानीय कलाकारहरूद्वारा नभिनित एक श्रव्यदृश्य नाटक “मुसी“ जो निकै नै चर्चामा आयो ।

उक्त ’मुसी’ नाटक रुकुमदेखि नेपालकै मुटु काठ्माण्डौं लगायत अन्य ठाउँमा प्रदर्शन हुने क्रममा तुल्सीपुरमा समेत मञ्चन हुँदा मैले समेत दर्शक दिर्घाबाट नियाल्ने मौका पाएको थिएँ । जसमा तत्कालीन स्थानीयस्तरका भाषा,कला, सँस्कृति, सँस्कार, भेषभूषा, सामाजिक चालचलन, स्थानीय मेलापर्व, लोक गीत, लोकनृत्य, ग्रामीण रहनसहन तथा राजनीतिक गतिविधि आदि ऐतिहासिक महत्वका विषयवस्तुलाई समेट्ने प्रयास गरिएको पाइयो ।

उक्त प्रदर्शित “मुसी“ नाटकले एउटा स्थानीय स्रष्टाद्वारा प्रस्तुत गरिएको साहसिक कदम भनेर सर्वत्र चर्चा परिचर्चा पाएको थियो । जसले गर्दा पनि उनको सिर्जनशीलता एवम् स्रष्टा चिनारीलाई अझैं उच्च बनाउने काम गर्‍यो । यसैगरी अर्को बलियो प्रमाण यिनी स्वयं सामाजिक सञ्जालमा जोडिएदेखि नै फेसबुकका पेजहरूमा पनि केही फुटकर रचनाहरू यत्रतत्र देखा पर्न थाले । विशेष गरी पहाडी भेकमा (कर्णाली प्रदेशतिर) परम्परागत रूपमा गाइने ठाडीभाकाका केही अनुसन्धानमूलक गीतहरूको अभिरुचीपूर्ण सङ्कलनसँगै केही रोचक कथानक घटनाहरू समेत निरन्तरूपमा देखिन थाले ।

सामाजिक एवम् व्यावहारिक तवरले धेरैको मनछुने कथाहरू जसलाई केही अग्रज साहित्यसर्जकहरूको अभिरुचिपूर्ण हेराई तथा टिप्पणीसँगै मैले पनि निकै नै गहनतापूर्वक नियाल्ने र सकेसम्म आफ्नो पाठकीय प्रतिक्रिया समेत दिने गर्न थालेँ । सायद हामीहरूको एउटै भेक, एकै खाले भाषाभेष, हामीमा मिल्दोजुल्दो परिवेश आदि बिभिन्न विशेषताले गर्दा नै होला यिनै रचनाहरू निकै नै अभिरुचीपूर्ण तवरले मेरा लागि समेत पठनीय हुँदै गए ।

साथै यस्ता कथाहरू सङ्ग्रहकै रूपमा आए त झनै राम्रो हुने थियो भन्ने कुरा मनमा लागिरहेकै अवस्थामा यसरी “जितौरी“ र “यालमाया“ नामक दुईवटा कथा सङ्ग्रहरू जुम्याहा सन्तान झैँ एकैचोटी जन्मिन सफल भए । वास्तवमा हामी जस्ता कैयन पाठकका लागि यो नै एउटा खुसीको कुरा हो । अतः यिनै कथासङ्ग्रहभित्र सङ्गृहित कथाहरूको गहनतापूर्वक अध्ययनपचात् यहाँ आफ्नो पाठकीय प्रतिक्रिया प्रस्तुत गर्ने जमर्को गरेको छु ।

२०७७ सालले हामीमाझबाट सदाका लागि विदा लिएर जाने दिन नजिकिंदै थियो । गत चैत्र १७ गते काठमाडौंमा एकैसाथ यी दुई कथासङ्ग्रह सार्वजनिक भए । जुन दिन यिनै कथाकार ओलीका मुटुका टुक्रा उनै दिवंगत छोरा ई.परिशीलन ओली यस धर्तीमा छोटो समयका लागि पाहुना भएर पदार्पण गरेकै दिन थियो । उक्त दिनकै सन्दर्भ जुराएर उनकै स्मरणका निम्ति समारोहको आयोजना गरिएको रहेछ । त्यसो त उक्त दिन ‘खुसी र आँसुको संगमको दिन’ पनि हुनगयो । जे होस् पीडालाई धैर्यता र साहसमा रुपान्तरण गरी गरिएको यो साहसिक कार्य आफैमा स्तुत्य छ, प्रशंसनीय नै छ । जुन समाचार छापा तथा विद्युतीय माध्यमबाट र सामाजिक सञ्जालमार्फत सम्प्रेषित भयो । यसरी राष्ट्रियस्तरका केही वरिष्ठ साहित्यसर्जकहरू एवम् साहित्यिक मनका उच्चराजनीतिज्ञहरू सहितको समुपस्थितिमा यिनी सार्वजनिक गरिँदा अझैँ यो ओझपूर्ण भयो ।

यी कथा सङग्रहरू यसरी राष्ट्रकै मुटुमा सार्वजनिक हुनु र “मार्मिक कथाहरू“ भनेर सन्देश प्रवाह हुनुले पनि यो पाठकको मन यतातिर तानिन पुग्यो । यता दाङमा पनि कथा पढ्ने व्यग्र प्रतिक्षामा रहेको बेला स्वयं लेखकले यी पुस्तकहरू अभिरुची राख्ने हरेक पाठकको हातमै थम्याइदिने व्यवस्था समेत गरे । यसै सिलसिलामा आफूले पनि प्राप्त गरेपश्चात् पुस्तकभित्र आँखा दौडिन थाले । विश्व चर्चित कथाकार हड्सनका अनुसार “कथाको आयतन एक बसाइमा पढिसकिने हुनुपर्छ । एकपटक तयार भएको मानसिक स्थिरता भङ्ग नभई समाप्त हुने स्थितिलाई ध्यानमा राखेर लेखिएको आख्यानात्मक रचना नै कथा हो” भने झैँ मलाई पनि सुरु गरेदेखि नसकिँदासम्म छोड्न मनै लागेन ।

सर्वप्रथम ‘जितौरी’ र ’यालमाया’ मा कुनलाई अध्ययनको पहिलो प्राथमिकता दिउँ ? भनेर घोत्लिँदा लेखकले पहिलो कृति भनेर उल्लेख गरेको कथासङ्ग्रह ’जितौरी’ लाई नै मैले पहिलो प्राथमिकताभित्र पारेँ । अध्ययन गर्दै जाँदा सङ्गीतमय भिडियोका दृश्यहरू हेर्दा मन रमे झैँ गरी यस कथाको विषयवस्तुमा नजर दौडाउँदै गर्दा मानसपटलमा कथाका तस्वीरभाव उतार्दै गएँ । “कथा एउटा सानो झ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ’ भन्ने महाकवि देवकोटाको यो भनाई जस्तै कथाकार कहाँ कहाँ दौडिन्छन् म पनि पछि पछि चियाउँदै गरेँ ।

यस जितौरी कथासङ्ग्रहमा समाविष्ट तेह्रवटै कथाहरू पूर्णरूपमा अध्ययन गरेपश्चात आफूले प्राप्त गरे बमोजिमको पाठकीय प्रतिक्रियालाई क्रमशः निम्नानुसार उल्लेख गरेको छु ।

१) ‘अंशियार’ शीर्षकको कथामा एउटै आमाको कोखबाट जन्मेका दुईभाइ सन्तानमध्ये कुमार जेठो अलि टाठोबाठो कहलाएको हुन्छ भने कान्छो गणेश लाटोसोझो हुन्छ । दाइले भाइलाई नोकरसरह व्यवहार गर्दै उसलाई अंशबण्डा नदिने उद्देश्यले नागरिकता बनाउबाट समेत बञ्चित गरिरहेको हुन्छ । उसले साम, दाम, दण्ड, भेद अपनाई गाविसबाट सिफारिश लगायत साक्षी सर्जमिन समेतका काम गर्न दिएको हुँदैन । गाउँमै नागरिकता दिलाउन हुलाक अधिकृत हरि सरको नेतृत्वमा टोली खटिन्छ । हरि कसैको बहकाउमा नलाग्ने, आदर्श, इमान्दार र निश्पक्षी हुन्छ ।

कुमारले आफ्नो पहुँच माथिसम्म भएको र यदि गणेशलाई नागरिकता दिलाइयो भने अख्तियारमै मुद्दा हाल्नेसम्मको चुनौति दिँदै ज्यानको धम्की समेत दिन्छ । तर पनि गणेशलाई अन्याय पर्न गएको थाहा पाएपछि गाउँ सर्जमिन गरी टोली प्रमुख हरिले कुमारको धम्कीबीच पनि उसलाई नागरिकता प्रमाण–पत्र उपलब्ध गराई न्याय दिलाउने काम गर्छ । तर कुमारको पहुँच सर्वत्र भएकोले उसले हरिलाई अख्तियारमै मुद्दा हाल्छ । हरिले अनाहकमै मुद्दामा फसी तारेख बोक्न थाल्छ । उसको जागिरी नै धरापमा पर्छ ।

समाज न हो यो अन्यायलाई धेरैले बुझ्दैनन् बरु हरिलाई उल्टै भ्रष्टाचारीको आरोप लाउँछन् । उसले न्याय पाउन हरप्रयत्न गरे पनि सफाइ पाउँदैन । अन्ततः मानसिक पीडाले छटपटाउँदै श्रीमती र सानी छोरीसहित काठमाडौँ तथा टाढाका अन्य एकान्त ठाउँमा पुग्छ । यसैबीच एकजना समकक्षी पुरानो साथी प्रेमसँग भेटहुँदा लाजले उम्कन खोजे पनि उसको पीछा गर्दै र निकै नै सोधखोजपछि बल्ल आफू यसरी भौँतारिनुको वास्तविक रहस्य खोल्छ । आफू कर्तव्यनिष्ठ भै इमान्दारीपूर्वक काम गर्दा अनि अन्यायमा परेको व्यक्तिलाई न्याय दिलाउँदा यसरी भोग्नु परेको यो पीडालाई उसले नखाएको बिष सरह नै भएको कुरा यो कथा ‘अंशियार’बाट प्रतित हुन्छ ।

२) ‘खाजा खर्च’ शीर्षकको कथामा जिल्ला निर्माण कार्यालयको सुव्वा जगतप्रसाद एउटा सरल एवम् आदर्श कर्मचारी हो । ऊ श्रीमती सहित अफिसकै दुईकोठे क्वाटरमा बसेको हुन्छ । कार्यालयको क्वाटरमा रंगरोगन भैरहेको हुन्छ । रंगरोगन गर्ने एकजना ज्यामीले साहुले भुक्तानी गरेपछि तिर्नेगरी जगतसँग खाजा खर्चका लागि भनी रकम सापटी माग्छ । उसलाई दया लागेर रु दुईसय रुपियाँ दिन्छ । यो कुरा लोकसेवाको तयारी गरिरहेकी उसकी श्रीमती कमलालाई चित्त बुझेको हुँदैन ।

साहुले ज्याला नदिएपछि र ज्यामीले सापटी फिर्ता गर्न नसकेपछि एकदिन साहु भेटिँदा जगतले ‘ज्यामीलाई पैसा किन नदिएको ?’ भनी प्रश्न गर्छ । साहुले पनि ‘ठेकेदारले आफूलाई भुक्तानी नदिएकोले’ भन्ने जवाफ दिन्छ । ठेकेदार अलि ठग्ने प्रवृत्तिको हुन्छ र उसले ‘अफिस, विभाग र मन्त्रालयको सिस्टमको भाग बुझाएर बचेपछि दिने’ भन्छ । भर्खरै यस्तो विकासे अड्डामा सरुवा भै आएको जगतलाई यो ‘सिस्टम’ भन्ने शब्दले मानसिक हालचल मचाउँछ । सुव्वाकी श्रीमती कमला अरु कर्मचारीका श्रमितीहरूका अनुपातमा आफू अभावमा भएको महशुस गर्छे र पति जगतले ज्यामीलाई सापटी दिएको पैसाको प्रसँग निकाल्दै निहुँ खोज्छे ।

जगतले ओभरसियर विनोदलाई भेटेर ठेकेदारको नम्बर माग्छ । तर ओभरसियरले यो कुरा इन्जिनियर विमललाई थाहा भएकोले उसैकहाँ जान भनेपछि जगत इन्जिनियरको कोठामा पुग्छ । इन्जिनियरसँग ठेकेदार सन्दीपको फोन नंं.माग्नुको साथै उनको कोठामा रंगरोगन नलगाएकोले अब लगाउने प्रसँग समेत निकाल्छ । यो कुरा सुनेर इन्जिनियर जगतदेखि सशंकित हुन्छ । जगतलाई बेसरी डाँठ्दै बाहिर निकाल्छ । यो कुरा हाकिम सुबोध खड्काको कानमा पुग्छ । हाकिम प्राविधिकहरू सबै एकजुट हुन्छन् र उनीहरू सबैले सुव्वा जगतका कुरै सुन्दैनन् । सबैका लाइने कुरा हाकिमले सुनेपछि स्टाप बैठक बस्छ र त्यहाँ जगतलाई नै डाँठ्छ् । किनकि प्राविधिकहरू मिलेर नभएका मर्मतका लाखौँका बील मिलाएर खाइरहेका हुन्छन् । दुई करोडको कामलाई दस करोडको भुक्तानी दिने काम पनि गरेका हुन्छन् । यो कुरा मन्त्रालयमा सचिवकहाँ पुगिसक्छ । सचिवले समेत जगतलाई नै हपार्छ र कार्वाहीको धम्की दिन्छ । किनकि भागबण्डाको ‘सिस्टम’ तलदेखि माथिसम्म मिलाइएको हुन्छ ।

भ्रष्ट्राचार निवारण आयोग, मन्त्रालय, विभाग, आदि उच्च तहका कर्मचारीहरूसम्म उसको पहुँच पुग्दैन । त्यसैले अब उल्टै जगतलाई फसाउने षडयन्त्र गरिन्छ । उही ज्यामीलाई बोलाएर उसले लिएको सापटी उनीहरूकै सामुन्ने फिर्ता दिन लगाउँछन् । यसैलाई नै घुस दिएको प्रमाणकोरूपमा आरोप लगाई पक्राउ गराउँछन् । अनि भ्रष्ट्राचार गरेको कसुरको सजायमा पाँच वर्ष जेल सजायको भागिदार बन्छ् । यसरी आफूले एउटा ज्यामीलाई खाजा खर्च वापत दुईसय रुपियाँ सापटी दिएको रकम फिर्ता लिँदा उल्टै ती भ्रष्ट कर्मचारीहरूको षडयन्त्रमा पर्नु परेको चोटिलो कथा बन्न गएको छ यो ‘खाजा खर्च’ ।

३) ‘माछे आँखो’ शीर्षकको कथामा गरिबीको चपेटामा परेकी पटाउकी नाउँकी एक दुःखी महिला । साथमा लफङ्गो जँड्याहा पोइ र तीनवटी छोरीहरूमध्य एउटी मरिसकेकी र अब दुइवटी सानी छोरीहरू बाँकी हुन्छन् । ‘छोरो पाइनस्’ भनेर लोग्ने भनाउँदोले पटाउकीलाई कुट्ने, पिट्ने गरेकोले शरीरैभरी घाउचोट जो पटाउकीको मानवीय संवेदनाभरी भरिएका छन् । उसको पैतालाभरी घाउचेटका खोबिल्टै खोबिल्टा छन् । खोबिल्टाको बीच बीचमा आँखा जस्तो देखिने दाग जसलाई माछे आँखो भनिन्छ । जँड्याहा लोग्नेले ‘छोरो चाहियो नत्र भने अर्की स्वास्नी ल्याउँछु’ भनेर सधैँ धम्की दिँदै सताउँछ । नशाको सुरमा जे भेटायो त्यसैले दनादन हिर्काउँछ स्वास्नीलाई । दुई छोरीहरू छातीमा टासिँदै आमाको रक्षा गर्छिन् । उसको शरीरैभरी घाउ र मनभरी चोटले गर्दा यही झोकमा आगोमा पोलिएका रापिलो कर्केटाले घाउहरू शान्त पार्न झोस्छे । माछे आँखायुक्त घाउले गर्दा दुबै पाइताला झ्याङ झ्याङ भएका छन् ।

मुलुकमा जत्ति आमूल परिवर्तन भए पनि पटाउकीका लागि दिनचर्या निकै नै कहालीलाग्दो नै छ । उसलाई यस्तो परिवर्तनले केही छोएकै छैन । यसलाई परिवर्तन केहो थाहै छैन । खाली आफूमाथि अन्याय भएको मात्रै देख्छे । छोरी भएर पराई घर जानुपर्ने र त्यहाँ दयनीय अवस्था भोग्नुपर्ने बाध्यता भएको महशुस गर्छे । सायद लोग्नेको हेलाँ, गरिबीको चपेटा र दीनदसाले गर्दा नै होला गाउँमा उसलाई देख्नेहरू बोक्सीको आरोप समेत लाउँछन् । यता पोइ भनाउँदोले बारम्बार ‘डङ्किनी, मुडुली, टोकेनी’ जस्ता शब्दले गाली गरिरहन्छ । यतिबेला पटाउकीका आफन्त भनेकै दुई छोरी र पालिएका डिङा बाच्छा शिवाय अरु कोही हुँदैनन् ।

अतः उसको पीडा आगोको ज्वालाभन्दा पनि ठूलो छ । आगोले समेत उसको करक मार्दैन । बलिरहेको कर्केटाले समेत माछे आँखो निको नहुने भएपछि र सधैँ जँड्या पोईको चोट असह्य भएपछि पैतालालाई दन्कीरहेको आगोमा झोस्दै ती रापिला पैतालाहरू आफूलाई निशान बनाइरहेको लोग्नेतिर तेस्याउँदै उसैलाई नै झिसोल्छे । अनि मात्र भित्र र बाहिरको जलन केही कम भएको महशुस गर्छे । यस ‘माछे आँखो’ सारभूतरूपमा गरिबीको चपेटा र अन्यायमा परेकी एक निरिह नारीको पीडादायी कथा भन्ने बुझिन्छ ।

४) ‘एउटा अयोग्य लडाकुको कथा’ शीर्षकको कथामा आशाराम एक विद्यालयको शिक्षक हो । उसलाई विद्यालयको वार्षिकोत्सवमा प्रकाशन गरिने स्मारिकाका लागि एउटा आलेख तयार गर्न भनिन्छ । लेख रचनाका लागि उसले आफ्ना सहयोगी साथीहरूसँग एक–एक गरी सल्लाह लिन्छ । सबैले आ–आफ्नै तर्क प्रस्तुत गर्छन् । हुन त आशाराम आफैमा नेपाली विषयको एउटा शिक्षक हो । तर पनि कतिले उसलाई अयोग्य शिक्षकको संज्ञा दिन्छन् । किनकि यहाँ फाइफुट्टेहरूकै भोलाभाला हुने भएकोले त्यस्तालाई मात्रै चल्तापुर्जा भन्ने गरिन्छ । त्यही विद्यालयमा केशवलाई सम्पूर्ण विषयको ज्ञाता भन्ने गरिन्छ । उसले विदेश घुम्ने अवसर समेत पाएको हुन्छ । सुनिन्छ ‘यो संसार जित्नेहरूको मात्र हो हार्नेहरूको होइन’ । हुन पनि जसले संघर्षको तरिका जान्छ उसैले नै बाजी मार्छ ।

यसैबीच शान्तवीर एक लडाकु हुन्छ । ऊ पनि शिक्षक जागिर छोडेर युद्धमा होमिएको हुन्छ । त्यसमा ऊ कर्मठ र कटिवद्ध हुन्छ । तर अहिले अयोग्य लडाकुमा गनिएको छ । यस अगाडि आशाराम एक सर्वाेत्कृष्ट शिक्षक र शान्तवीर सर्वाेत्कृष्ट लडाकुमा सफल मानिएका थिए । तर अहिले आशाराम र शान्तवीरको अवस्था यस्तो भयो । अब आशारामले यिनै अयोग्य लडाकुकै वारेमा आफ्नो आलेख लेख्न सुरु गर्छ । यस ‘एक अयोग्य लडाकुको कथा’ बाट के सन्देश प्राप्त हुन्छ भने योग्य, आदर्श, इमान्दार र कर्मठ सधैँ ओझेल परिरहेका हुन्छन् भने चम्चे, चाप्लुसे र चाकडीवालहरू चल्तापुर्जा अर्थात योग्यमा गनिन्छन् ।

५) ‘जितौरी’ कथा यस पुस्तकको नाम भएको आवरण शीर्षकको मूल कथा हो । यसमा जिते एउटा नामी जुवाडे हुन्छ । बूढी आमा र प्रेमिकाले जत्ति सम्झाए पनि उसलाई त्यो लतले छोड्दैन । जुवाको अखाडामा बसेपछि भूइँचालो नै गए पनि कुनै चिन्ता हुँदैन । उल्टै जुवाकै जीत हारमै ठूलो भूइँचालो गैरहेको हुन्छ । चाहे जागिर खानेहरू हुन्, चाहे राजनीति गर्नेहरू हुन् जुवाको अखाडामा बसेर जितौरी खान मस्त भए जस्तै हुन्छन् । पहुँचवालाहरूले आपद विपदको अवस्थामा पनि कमाउनेहरूबाट जितौरी खान्छन् । आपद विपदमा पनि चोरहरूको विगविगी भैरहन्छ । किनकि उनीहरूबाट पनि कसैले जितौरी खाएकै हुन्छन् । तर जितेको जिन्दगी भने विना जितौरी नै बित्छ । यस ‘जितौरी’ कथाबाट ठुल्ठूला काम र सफलताबाट मात्रै होइन आपद विपदमा पनि जितौरी नामक फाइदा उठाउनेहरू जीवनभर नै यसैमा मस्त र व्यस्त हुन्छन् भन्ने कुरा बुझिन्छ ।

६) ‘केई हैना’ कथामा कथाकारका प्रतिनिधि पात्र काठमाडौँ उपत्यकाको एउटा सार्वजनिक बसबाट यात्रा गरिहेका हुन्छ । ऊ एउटा आदर्श कर्मचारी समेत हो । ऊ आफ्नो कार्यालयका हाकिमको सरुवा बढुवा विदाई समारोहमा कार्यालयमा जाँदैछ । श्रीमतीकै सल्लाहले त्यहाँ लैजान भनी झोलामा फलफुल बोकेको हुन्छ । यसैबीच एक बालक ऊ चढेको गाडीभित्र प्रवेश गर्नखोज्दा त्यही उमेरकै फुच्चे खलासीले भित्र जान दिँदैन । तर ऊ भने सकिनसकि गाडीभित्र पस्छ । उसलाई कतै बस्ने ठाउँसम्म नदिएर त्यो खलासीले झपारिरहेको हुन्छ । खचाखच यात्रीले भरिएको गाडी बिभिन्न स्टेशनमा रोकिँदै अनि यात्रु झार्दै र चढाउँदै गर्छ । खलासीले त्यो बालकसँग भाडा माग्छ र उसले आफूसँग भएको पचास रुपियाँ दिन्छ । जति माग्दा पनि बाँकी पैसा फिर्ता दिँदैन, उल्टै ‘अहिल्यै दिउँला के’ भन्दै हप्काउँछ ।

त्यो बालकलाई केही सोधे पनि खाली ‘केई हैना’ भनेर जवाफ दिन्छ । हेर्दा उसको दयनीय अवस्था देखिन्छ । यो देखेर त्यो यात्रु कर्मचारीका मनमा अनेक कुराहरू खेल्न थाल्छन् । ‘को होला यो ? कहाँ जाँदैछ होला ? भाडा तिरेरै पनि किन उजस्तै फुच्चे खलासीबाट हेपिएको छ ?’ निकै नै दयाको भावनाले यस्तै सोच्दासोच्दै धेरै स्टेशन पार हुन्छन् । ऊ आफ्नो गन्तव्य तीनकुनेमा झर्दैन । बरु त्यो फुच्चेको निगरानीमै व्यस्त हुन्छ । आफूले लगेका फलफुल उसले नमाने पनि जबर्जस्ती खान दिन्छ । आफनो थप भाडा तिरेरै भए पनि त्यो फुच्चे कहाँसम्म जान्छ त्यसको निगरानी गर्दै बसमा बसिरहन्छ । बस अन्तिम स्टेशनमा गएर रोकिन्छ । यात्री बालक पनि ओर्लिन्छ । कर्मचारी पनि त्यही ठाउँमै ओर्लिन्छ । बालकलाई सोध्छ ‘ए बाबु कहाँ जाने हौ । जहाँबाट चढेको त्यही ठाउँमा किन आयौ ?’ भन्दा उसले जवाफमा ‘बाबुको मृत्यु भैसकेको, विरामी अवस्थाकी आमाको अत्तोपत्तो नभएको । उनलाई खोजेर औषधोपचार गर्नको लागि पैसा कमाउन यही खलासी काम नै उपयुक्त भएकोले त्यसका लागि आफूले यी सबै ठाउँहरूको नाम थाहा पाउनका लागि नै बस चढेको’ कुरा बताउँछ । साथै ‘हिजो एउटा गाडी ड्राइभरले आफूलाई दिएको पचास रुपियाँले आजको यात्रा पूरा गरेर यो काम सिकेको’ भन्ने कुरा सुन्दा उसको मन पग्लिन्छ ।

उसको पिछा गरेको यो कर्मचारी यात्री हाकिमको विदाई कार्यक्रममै जाँदैन । अन्तिममा उसलाई कसैले बोलाउँछ र फर्केर हेर्छ त आफ्नै श्रीमतीले पो । ‘के हो, तपाइँको चाला ? यहाँ किन ?’ भन्दा पो ऊ झस्कँदै भन्छ उही बालकले झैँ ‘केई हैना’ । उसको यात्रा पनि यसरी समाप्त हुन्छ । यस कथा ‘केई हैना’ को सारबाट ममतामयी आमाको एक अबोध सन्तान जसले आमाको रक्षार्थ गरेको यो कारुणिक तथा साहसिक कदमले कर्तव्यनिष्ठहरूलाई एउटा ठूलै पाठ सिकाएको छ ।

७) ‘मितज्यू’ शीर्षकको कथामा एकजना रामबहादुर भन्ने केटा पढ्न भनी गाउँबाट काठमाडौँ उपत्यका छिर्छ । कीर्तिपुरमा डेरा लिएर एउटा कोठामा गुजारा चलाएको हुन्छ । उपत्यकावासी घरबेटीहरूको निगरानीमा बस्नु परेको हुन्छ डेरावाललाई । त्यहाँ पनि घरबेटी अलि कडा स्वभावको नै हुन्छ र उुसले कोठामा को आए भनेर चियोचर्चाे गरिरहन्छ । रामबहादुरको परीक्षाको दिन नजिकिँदै गर्दा ऊ अध्ययनमै व्यस्त हुन्छ । यसैबीच एकजना शशिराम नामको मित भनाउँदो त्यो डेरामा प्रवश गर्छ । रामले नचिने पनि उसले आफूहरू बाल्यकालको साथी भएको कुरा बताउँछ । जे होस् ऊ त्यहाँ बस्छ । त्यसैबेला घरबेटीले को आएछ भन्दै कोठामा जान्छ र नचिनेको मानिस देखेर गनगन गर्न थाल्छ । अनि शशिरामले निकै नै चलाकीपूर्वक घरबेटीको प्रशंसा गर्दै मख्ख पार्छ । त्यसपछि उल्टै उसले स्वागत पाउँछ ।

अर्को दिन राम कलेज जाने भनेर निस्कन्छ भने शशिराम पनि बाहिर कतै निस्कन्छ । फर्कँदा शशिरामले एउटी महिलालाई त्यही कोठामा राखेर आफू बाहिरिएको हुन्छ । रामले दंग पर्दै ‘यो त मेरो कोठा हो, तपाइँ को हो ?’ भनेर प्रश्न गर्छ । उसले आफू शशिरामकी श्रीमती भएको बताउँछे । तर शशिरामले बदमासीपूर्वक यस्तै केटीहरू भित्र्याउँदै र स्वास्नी भन्दै धेरैैलाई ठग्दै हिँडेको रहस्य खुल्छ । एकैछनमा पुलिस आउँछन् र नक्कली मितज्यू भनाउँदो ठगीको आरोपमा कार्वाहीमा पर्छ । यस ‘मितज्यू’ कथाबाट ठग प्रवृत्तिका बदमासहरूबाट अनाहकमा सज्जन मानिसहरू ठगिइरहेका हुन्छन् भन्ने शिक्षा प्राप्त हुन्छ ।

८) ‘मोरावाङ’ शीर्षकको कथामा दुई विपक्षीधारका रमेश र रानू दुई नदीको संगम जस्तै एकदिन एकाकार हुन्छन् । अर्थात पढे लेखेका र अनुभवी ती दुबैले स्वबिचारले सँगै जिउने प्रण गर्दै एकले अर्काेलाई जीवनसाथी स्वीकार्छन् । उनीहरू दक्ष भए पनि रोजगारी नपाउनु, बजारको डेरा, अभाव र समस्याका कारण आपसमा टकराव उत्पन्न हुनथाल्छ । हुँदाहुँदा त रमेशले नसा समेत सेवन गर्नथाल्छ र आपसी द्वन्द्व झन् झन् चर्किदै जान्छ । सधैँ झगडा भएको देखेर घरबेटीले पनि उनीहरूलाई तुरुन्त डेरा छोड्न भन्छ । झगडा पर्दै गर्दा श्रीमती रानूले रशेशलाई ‘मोरा’ भन्ने शब्द प्रयोग गरेर गाली गर्छे । जुन आफैले प्रयोग गरेको ‘मोरा’ शब्दले रानूलाई पछि आत्माग्लानी हुन्छ ।

अन्ततः एकदिन त्यो कोठा छोड्छन् । रानू अब उसको गाउँतिरै गएर केही गर्ने सोचमा बसबाट फर्किँदे गर्छे । रमेश पनि उसलाई विदा गर्ने निहुँमा गाडीभित्रै हुन्छ । तर ऊ पनि श्रीमती रानूकै साथमा आफ्नै गाउँ मोरावाङ फर्किन्छ । मोरावाङ पुगेपछि बोर्डमा ‘मोरा’ लेखिएको शब्दले पुनः रानूलाई झस्काउँछ । तर मोरावाङ अर्थात् ‘मो.रा.वाङ’ वास्तविक अर्थ यहाँ यस्तो लेखिएको हुन्छ ‘मोष्ट रासनल वाङ’ अर्थात् ‘एकदमै सुझबुझपूर्ण, पूरै औचित्यपूर्ण, अत्यन्तै विवेकपूर्ण’ हुन्छ । रमेश र रानू गाउँको यही नामरूपि शब्दलाई आत्मासात् गर्दै कुखुरा पालन पेशा गरेर जिविकोपार्जन गर्ने सोचका साथ आपसी समझदारी कायम गर्दै अघि बढ्छन् । यस ‘मोरावाङ’ कथामा आपसी समझदारी, सद्भावएवम् सकारात्मक सोच भएमा मात्रै श्रीमान श्रीमती जिन्दगी ज्यून सहज हुन्छ भन्ने कुराको बोध हुन्छ ।

९) ‘बढुवा’ शीर्षकको कथामा कलमप्रसाद र नियमप्रसाद दुई कर्मचारी हुन्छन् । बढुवाका लागि उमेदवार भएका ती दुईबीच ठूलो प्रतिस्प्रधा हुन्छ । दुबैको बढुवा भएर उच्चतहमा जाने प्रवल इच्छा हुन्छ, जो प्राय अरु कर्मचारीहरूमा समेत हुने गर्छ । तर उनीहरूबीच भित्रभित्रै डाह उत्पन्न हुन्छ । कलमप्रसाद बढुवा प्रक्रियालाई आफ्नो कनुकूल बनाउन खप्पीस हुन्छ र साम, दाम, दण्ड, भेदसँगै हरप्रयत्न गर्छ । नियमप्रसाद भने जेष्ठताको हिसावले अरु कर्मचारीभन्दा अगाडि भएकोले मेरो बढुवा हुनुपर्छ भन्दै ढुक्क हुन्छ ।

एकआपसमा रिस ईवी भैै यी दुईबीच निकै नै मनमुटाव हुन्छ । दुबैले आपषी षडयन्त्र गर्दागर्दै बढुवा प्रक्रियाबाटै बन्चित हुन्छन् । आखिर यी दुबै नभएर तेश्रो व्यक्तिको बढुवा हुन्छ । अन्ततः ती दुबैको मानसिक सन्तुलन गुमेझैँ भै त्यसै भौँतारिन्छन् । यस ‘बढुवा’ शीर्षकको कथाले आपसी द्वन्द्व, घमण्ड र षडयन्त्रले आफैलाई नै वर्वाद गराउँछ भन्ने गतिलो शिक्षा प्राप्त हुन्छ ।

१०) ‘कृष्ण सुदामा’ शीर्षकको कथामा जाजरकोटको दुर्गम गाउँमा कालीबहादुर ‘काले’ नामको गरिब केटो जो पढाइमा निकै नै लगनशील र तेज हुन्छ । उसले पढ्ने विद्यालयमा दामु र अर्जनु नामका अरु दुई केटाहरू पनि हुन्छन् । अर्जुन सोझो र इमान्दार हुन्छ भने दामु चत्तुर तर पढाइमा ध्यान नदिने स्वभावको हुन्छ । दामु आवश्यक परे साम, दाम, दण्ड, भेद प्रयोग गर्न पनि सक्थ्यो । उसले आफ्नो स्वार्थसिद्ध गर्न कालीबहादुरलाई कृष्ण र आफूलाई सुदामाको उपमा दिन्थ्यो । दुईवटा वैदेशिक कोटामा छात्रवृत्तिको अवसर आएकोले सबै विद्यार्थीले जाँच दिन तयारी गर्छन् । दामुले पहिले आग्रह र पछि धम्की प्रयोग गर्दै जसरी भए पनि परीक्षामा आफूहरूले कापी साटफेर गर्न कालीबहादुरलाई भन्छ । कालीबहादुरले मन नलागी नलागी भए पनि डराएर स्वीकार्न बाध्य हुन्छ । अन्ततः अर्जनु र दामु सफल हुन्छन् । पढाइमा अव्वल कालीबहादुर असफल भएकोमा सबैले अचम्म मान्छन् ।

उनीहरू दुईजना भने उच्च शिक्षा अध्ययनका लागि विदेश जान्छन् । पढाई सकेर स्वदेश फर्किन्छन् र दुईवटा मन्त्रालयमा सचिवको पदमा कार्यरत हुन्छन् । तर कालीबहादुर भने हुलाकको नासु पदमा कार्यरत हुन्छ । सचिव दामोदर खड्का बालसखा भएको र आफूले ठूलै सहयोग गरेकोले भेट्न मन्त्रालयमा जान्छ । तर हरप्रयत्न गर्दा पनि उसले भेट्नै पाउँदैन । सचिवले देखे पनि नदेखे झैँ गर्छ । यता जिल्ला भ्रामण आएको बेला पनि आशा गरेको भेट्नै पाएन । त्यसैबेला सचिव दामोदरलाई नक्कली सर्टिफिकेट पेश गरेर जागिर खाएको भन्दै अख्तियारले समात्छ ।

यसैबीच एकदिन अर्का सचिव अर्जुन शर्मा जिल्ला भ्रमणमा आएको हुन्छ । त्यसैबेला सुव्वा कालीबहादुरको कार्यालयमा एकजना मानिस भेट्न आउँछ । उनी अरु कोही नभएर बालसखा कालीहादुरलाई नै भेट्न भनी आएको सचिव अर्जुन शर्मा हुन्छ । ऊ सादा जीवन उच्च बिचारको व्यक्तित्व हुन्छ । उनीहरूले आफ्नो इतिहास खोतल्दै बाल्यकालका धेरै कुरा गर्छन् । अर्जुन ठूलो मान्छे भए पनि सम्मान गर्दै कालीबहादुरलाई कृष्ण र आफूलाई सुदामाको तुलना गर्छ । यस ‘कृष्ण सुदामा’ कथाबाट सादा जीवन र उच्च बिचारको मानिस सदा झुकेको हुन्छ भन्ने ज्ञान प्राप्त हुन्छ ।

११) ‘देशी चश्मा’ शीर्षकको कथामा जिविसको सुव्वा केशवबहादुर पाको कर्मचारी हो । धेरै हाकिमहरू सरुवा भएर आउँछन् विदाई भएर जान्छन् । तर केशवबहादुर स्थानीवासी भएकोले त्यहाँ निमित्त प्रमुख भएर काम चलाएर अनुभव हासिल गरेको पनि धेरै भैसकेको छ । उसले अरु कर्मचारीहरूलाई समेत काम लगाउन सिपालु हुन्छ । यसैक्रममा एकदिन सरुवा भएर तराईतिरबाट एकजना हाकिम आउँदै हुन्छ । उसको स्वातका लागि केशव लगायतका स्टाफ र अन्य कार्यालयका कर्मचारीहरूको समेत समुपस्थितिमा भव्य तयारी गरिन्छ । हाकिम देशी चश्मा लगाएका हेर्दैमा जिउडाल मिलेका राम्रा र सुकिला देखिन्छ । जे होस् ठूलै उपस्थितिमा उसको स्वागत गरिन्छ । त्यसैबेला अबिरको पोको खोज्दाखोज्दै केशवले केही मानिसको पछाडि नै स्वागत गर्छ । यो कुरा उसले हाकिमसँग त भन्दैन तर भित्रभित्रै अप्ठेरो महशुस भैरहेको भने हुन्छ ।

किन हो किन ? हाकिमको हेराई केशवप्रति एकदमै नकारात्मक हुन्छ । उसले कुरा गरे पनि सहन्न । उसलाई क्वाटर समेत छोडेर जान भन्छ । सायद कुनै गलत कुराले उसका कान भरिईसकेका हुन्छन् । यसैबीच हाकिमले सुव्वा केशवलाई ‘आचार संहिता पालना नगरी उलङ्घन गरेको, अफिस भाँडेको’ आदि आरोप लगाउँदै चौबीस घण्टाभित्र लिखितरूपमा स्पष्टिकरण पेश गर्न पत्र नै थम्याउँछ । तर केशवलाई अनाहकमा लगाइएको यो आरोप असह्य नै हुन्छ । उसले पनि निर्धक्कसाथ हाकिमलाई मर्म पुग्नेगरी मनभरिका कुरा पोख्दै र उसको देशी चश्माप्रति कटाक्ष गर्दै राजिनामा नै पेश गर्छ । यस ‘देशी चश्मा’ कथाले अर्काको लाइने कुरा सुनेर आँखामा जालो लागेपछि अर्थात दोषरूपि चश्माले ढाकेपछि राम्रोलाई पनि खराब देख्ने हाकिमहरू पनि हुन्छन् भन्ने कुराको बोध गराउँछ ।

१२) ‘शम्भु दाइको विदाई’ शीर्षकको कथामा शम्भु एउटा पुरानो अनुभवी कर्मचारी हुन्छ । उसले छत्तीस वर्षे जागिरे जीवनमा पन्ध्रवटा विभागीय स्तरका कार्यालयहरूमा काम गरिसकेको छ । आफूभन्दा माथिका किन नहोउन् न्यायसँगत कुरामा कत्ति पनि डराउँदैन ऊ । आफूसँग आइलाग्ने जुनसुकैलाई पनि जिन्दगीभर पछुताउने गरी तह लगाउँछ । उसले चम्चा, चुक्ली, चाप्लुसी केही जान्दैन । ऊ स्पष्टवक्ता पनि हो । अरुलाई वर्वादीमा पार्न खोज्नेहरूलाई ‘बज्रस्वाँठ, चण्डाल, मूला’ भन्ने शब्द प्रयोग गर्छ । सिधासादा कर्मचारीलाई ‘तिमीहरू पनि अन्त्यमा मजस्तै हालतमा पुग्छौ’ भन्छ ।

धुर्त पहुँचवालाहरू भने पुरस्कृत हुने, सम्मानित हुने, उनीहरूले भनेकै ठाउँमा सरुवा हुने र विदेश जान पाउँछन् । यस्तै चल्तापूर्जा ठहरिएका कर्मचारीहरूले त्यसको सिकायत गर्दै तलदेखि माथिसम्मका कान भर्छन् । त्यसैले उनीहरू सबैका नजरमा शम्भु कसिंगरसरह भएकोले उसलाई बढार्न चाहन्छन् । यसै सिलसिलामा एकदिन एक्कासी उसको विदाईको आयोजना गरिन्छ । तर उसलाई अन्तिमसम्म पनि जानकारी दिइँदैन । जब विदाई समारोह सुरु हुन्छ ऊ बसेको कोठामै सुनिनेगरी उदघोषककाे जिम्मेवारी पाएकाे स्टापले माइकबाट बोल्छ । अनि उसको कानमा पर्नासाथ रिसले चुर हुँदै र मुक्का बजार्दै बाहिरिन्छ । अन्ततः एकैछिन्पछि विदाई समारोह कोठा सुनशान हुन्छ । यस ‘शम्भु दाइको विदाई’ कथाबाट के बुझिन्छ भने सचरित्र, इमान्दार र प्रष्टवक्ता कर्मचारी सधैँ नै ओझेल पर्ने र अवसरवादी मात्र हावी हुने चलन कायमै छ भन्ने कुरा झल्काउँछ ।

१३) ‘नौलो सेवा जेडप्रेस’ शीर्षकको कथामा यो एउटा नयाँ बस सेवा हुन्छ । अरु बिभिन्न सेवाका देखावटी र सस्ता विज्ञापन जस्तै यात्रुलाई आफूतिर तान्ने प्रक्रिया भैरहन्छ । यो एउटा व्यङ्ग्यात्म शैलीको कथा पनि हो । यात्राको नाममा भएका प्रसस्तै विकृति, विसँगतिहरूलाई यहाँ औँल्याइएको छ । राम्रो सेवा दिने नाउँमा यात्रुहरूलाई अनुपयुक्त ठाउँमा रोक्ने । अन्य विकल्प नभएको ठाउँमा खाना तथा नास्ता खुवाउने । सीट क्षमताभन्दा बढी यात्रुहरू कोचाकोच गरेर राख्ने । पुरस्कार तथा बीमाको खोक्रो प्रलोभन देखाएर टिकट काट्ने । ठीक अवस्थामा नभएका सवारी साधनहरू चलाउने । अनियन्त्रित तवरले गाडी हाँक्ने । जोखिमपूर्ण बाटोमा जथाभावी तवरले गाडी हाँक्दै अन्ततः दुर्घटना नै निम्त्याउने र यात्रुलाई जीवन तथा मृत्युको दोसाँधमा पु¥याउने जस्ता व्यवहारहरू सवारीधनीले जुन गरिरहेका हुन्छन् त्यसलाई जस्ताको तस्तै रूपमा यहाँ बडो रोचक तवरले उल्लेख गरिएको छ ।

यहाँ वर्णित शब्दहरू पनि एकदमै रोचक तवरका जस्तै उच्छादन, उच्छादन संकलन केन्द्र, मलमुत्र संकलन केन्द्र, मानव ग्याँस संकलन केन्द्र, उच्चस्तरीय ग्याँस उत्पादन एवम् विश्लेषण केन्द्र आदि शब्दहरूले कथालाई पठनीय बनाइएको छ । यस ‘नौलो सेवा जेडप्रेस’ स्वप्निल ‘स्वप्नरूपि’ कथाले वर्तमान यातातात सेवामा देखिएका व्यावहारिक गतिविधिको वास्तविक चित्रण गरेको पाइन्छ ।

कथाहरूको उठान बिन्दु : कथाकार ओली एकैपटक यसरी नै दुईवटा ओझिला कथाहरूसँगै सार्वजनिक भए । यसअघि उनका कथाहरू फुटकररूपमा सामाजिक सञ्जालमा देखा परेका भए तापनि यसरी सङ्गृहितरूपमा पस्किएको भने यो ‘जितौरी’ पहिलो हो । कथाकारका मनमा सामाजिक घटनाहरू प्रतिबिम्बित भै मानषपटमा हलचल मचाइरहँदा अनि औँलाहरू अक्षरको खोजिमा सल्बलाइरहेकै बेला भेडीगोठमा भेडाले ‘भ्या ’ गरेको सुनेर नै उसकै आवाजलाई बिम्बकारूपमा लिएका छन् । यसरी नै उनले कथा उठान गरेको बताएकोले पनि भेडो उनको प्रतीककारूपमा खडा भएको मान्न सकिन्छ । त्यसैले कथामा उनको व्यङ्ग्य व्यञ्जना पनि भेटिन्छ । जसले कथावस्तुको उठानलाई अझ रोचक एवम् उत्सुकतापूर्ण बनाएको प्रतीत हुन्छ ।

घटना विवेचना र कलात्मकता : समाजमा घटेका, भोगेका, देखेका, सुनेका र कल्पित घटना परिघटनाहरूलाई सारभूतरूपमा टपक्क टिपेर कलात्मकरूपमा उतारी मर्मस्पर्शी एवम् पठनीय बनाउनुको साथै वास्तविकतासँग जोड्नसक्नु नै कथाकारको उच्च विशेषता मान्न सकिन्छ । मुख्य विषयवस्तुबाट नै कथाको उठान गरी त्यससँग गाँसिएका विविध विषयहरूलाई मनोविश्लेषनात्मक ढंगले निकै गहिराइसम्म पु¥याउनुको साथै त्यसलाई परिणाममुखी अवस्थामा अवतरण गराउन सक्नु नै सफल कथाकारको पहिचान हो । यसका साथै बिभिन्न उखान र उपमाको प्रयोगले पनि कथाको कलारूपि सौन्दर्यमाथि अझ उचाई थपेको भन्न सकिन्छ ।

कथाहरूमा प्राप्त सारभूत तत्व : सामाजिक विकृति, विसंगति, अन्याय, अत्याचार, जाल झेल, छलकपट, ठगी, षडयन्त्र, घमण्ड, दोषारोपण, शोषण, दमन, गरिबी, बेरोजगारी, चाकडी, चाप्लुसी, घुस, कमिशन, पीडा, क्रन्दन, आदि तीता यथार्थहरू गाँसिएका निकै नै चोटला घटनाहरूको कथानक विवेचना यसमा भेटिन्छ । यसैगरी आपसी सद्भाव, समझदारी, सदासयता, आदर्शता, इमान्दारिता सचरित्र, आदर, सत्कार र सम्मानभावहरूको समिश्रणरूपि सारतत्व समेत यसमा पाइन्छ ।

कथासङ्ग्रहको विशेषता : भुँडीपुराण प्रकाशन बागबजार काठमाडौँद्वारा प्रकाशित एवम् २६३ पृष्ठमा वर्णित यसको आकार पनि अन्य पुस्तक झैँ सामान्य नैे छ । झट्ट हेर्दा हात उठाएको मानिस जस्तो या कुनै भग्नावशेष जस्तो देखिने आवरण कला छ । उनै दिवंगत छोरा ई.परिशीलन ओलीप्रति समर्पित छ । आँखाको कमजोरी भएका कतिपयलाई चश्मा नै नलगाएर पढ्न सकिने अक्षरहरू कुँदिएका छन् । अरु पुस्तकहरूमा जस्तो यसमा न त लेखकको कुनै लामो व्याक्तिगत परिचय नै छ, न त कसैको शुभेच्छा मन्तव्य नै । छ त केवल अन्त्यमा लेखकको तस्वीरसहितको छोटो परिचय मात्र । यसरी कथाकारले प्रचार शैलीलाई अपनाएको भने देखिदैन । मूल्य पनि पुस्तक सुहाउँदो रु. ३९०।– कायम गरिएको छ ।

प्राप्त समष्टीगत भाव : पढ्न सुरु गरेदेखि अन्त्य नहुँदासम्म बिसाउन मन लाग्दैन । स्थानीय भाषा, शैली र परिवेश सुहाउँदा शब्दको प्रयोग पाइन्छ । शीर्षक अनुसार कथाको मर्मलाई गहन बनाई स्पष्ट भाव समेटिएको पाइन्छ । साहित्यकार वी.पी.कोइरालाले “कथाकारले जे जति भन्छ त्यो सबै उसको आत्मकथाको एउटा टुक्रा मात्र हो” भनेझैँ कथाकारले जे देखे, जे भोगे, जे सुने त्यसलाई आत्मभावमा समेटिएको उनको यो पहिचान नै हो भन्न सकिन्छ ।

समालोचनात्मक पक्ष : सबै कुराहरू कहिल्यै पूरा हुन सक्दैनन् । सबै वस्तुहरू सबैलाई सुपाच्य हुँदैन् । सबै गरिएका कामहरू आफैमा परिपूर्ण हुँदैनन् । हरेक गतिविधिमा केही न केही कमजोरी त अवश्यमेव हुन्छ नै । यहाँ पनि केही नगन्ने मात्रामा त्रुटीहरू नभेटिएका होइनन् । भाषाको विषयमा पनि भन्नुपर्दा यस भेकका लागि सबै शब्दहरू सुपाच्य नै छन् । तथापि अन्य क्षेत्रमा बोलिने भाषाको हिसावले कोही कसैलाई केही अड लाग्न पनि सक्ला । यस बारे यत्ति नै बोलौँ किनकि भनिन्छ ‘उपदेश दिन सजिलो हुन्छ तर उपाय बताउन कठिन ।’

उपसंहार : यो पाठकका लागि यी सबै कथाहरू पठनीय छन् । खुल्दुलीपूर्ण एवम् रोचक छन् । केही कथाहरू पाठ्यपुस्तकमै समेत समाविष्ट हुने लायकका पनि छन् । आगामी कथा लगायत अन्य आख्यान सामग्रीहरू अझ परिमार्जित एवम् परिष्कृततवरले गुणस्तरीयरूपमा आउन सकुन् भन्दै कथाकार पूर्ण ओलीप्रति हार्दिक शुभेच्छा सहित साधुवाद ! भन्दै र फेरि अर्काे कथा “यालमाया”को समीक्षामा भेटिने बाचाकासाथ यो पाठकीय प्रतिक्रियापूर्ण समीक्षालाई यही बीट मार्छु । धन्यवाद !

प्रतिक्रिया दिनुहोस्