भत्केको पुल बनाउन खोज्दा एकको मृत्यु, ८ घाइते, २ बेपत्ता



काठमाडौं । चितवन र तनहुँलाई जोड्नेगरी बन्दाबन्दै भत्किएको पुल निर्माणकाक्रममा पुलको फलामले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । ८ जना मजदुर घाइते भएका छन् । नदीमा खसेर फलामले च्यापिएका दुई जना मजदुरको अझै उद्धार हुन सकेको छैन ।

भरतपुर महानगरपालिका–१ को ठिमुरालाई देवघाटसँग जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूली नदीमा खसेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए ।

मृत्यु हुनेमा भारत घर भएका ४३ वर्षीय विजय यादव छन् । उद्धार गरिएकाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचारकाक्रममा एक जनाको मृत्यु भएको हो । अन्य दुई जनाको उद्धारको प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख ईञ्जिनियर कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्