मलेसियामाथि नेपालको सानदार जित



काठमाडौं । नेपालले मलेसियालाई फराकिलो अन्तरमा हराउँदै सानदार जित निकालेको छ ।

राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसियामाथि ६९ रनले जित निकालेको हो ।

नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया ५ बल अगाडि नै अलआउट हुँदै १४८ रनमा समेटियो ।

मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान अहमद फैजले ३१ रन बनाउँदा फित्री साम १४ र विकेट विपर विरेनदीप सिंहले १३ रन जोडे । बाँकी खेलाडीले खासै रन बनाउन सकेनन् ।

मलेसियालाई सस्तैमा रोक्न नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले ३((३ विकेट लिए । सुशन भारीले १ विकेट हात पारे ।

यसअघि करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टी(ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनायो ।

नेपालले टी ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आँकडा पार गरेको थियो ।

डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए ।

प्रतिक्रिया दिनुहोस्