नेता नेपालले भने : पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय दिएन

वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, यो भन्दा ठूलो विडम्बना के होला ?
एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए ।
आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्यकर्तामाझ आएको भन्दै उनले समानान्तर कमिटी गठनको बचाउ गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीलाई एकताबद्ध गर्न २ जेठ २०७५ मा फर्कनुको विकल्प नभएको बताए ।