बाघको मुखमा फसेका मालिकलाई आफैंले पालेका भैंसीले बचाए



काठमाडौं । मानिसहरु मात्र चेतनशिल प्राणि भन्ने गरिन्छ तर कति पय अवस्थामा पशु जनावरहरु पनि चेतनशिल भएको देख्न सकिन्छ । हो यस्तै घटना घटेको छ भारतमा बाघको मुखमा फसेका एक जना गोठालालाई उनी आफैंले पालेको भैंसीहरुले बचाएका छन् । जंगलमा भैंसी चराएर फर्किने क्रममा बाघको आक्रमणमा परेका उनलाई आफूले पालेका भैंसीहरु झुण्डमा आएर बाघलाई धपाएर बचाएका हुन् ।

भारतको बांधवगढ टाइगर रिजर्भको पनपथा कोर जोनमा ती गोठाला बाघको आक्रमणमा परेका थिए । आक्रमणमा परेर घाइते भएका उनलाई अस्पतालमा भर्ना गरिएको नवभारत टाइम्सले जनाएको छ ।

अस्पतालमा मिडियासँग कुरा गर्दै ती गोठालाले बाघको आक्रमणपछि आफूले ‘अब म मरें’ भन्ने विश्वास गरेको बताए । उनको मानपुर सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मानपुरका बीएमओ डा.बी के प्रसादका अनुसार उनको अवस्था खतरामुक्त छ । २६ वर्षका गोठाला लल्लु यादवका अनुसार त्यस दिन पनि उनी सधैंझैं आफूले पालेका भैंसीहरु चराउन गएका थिए ।

दिउँसो करिब ३ बजेतिर भैंसीहरुलाई पानी खुवाएर उनी गाउँतिर फर्किंदै थिए । फर्किने क्रममा अचानक उनलाई पछाडिबाट बाघले आक्रमण गर्यो । त्यसपछि उनका भैंसीहरुले तत्कालै झुण्डमा आएर बाघमाथि आक्रमण गर्न खोजे । भैंसीहरुले आफूलाई घेरा हालेको देखेपछि बाघ डराएर भाग्यो र ती गोठालाको ज्यान बच्यो । बाघ भागेपछि उनले वन विभागलाई यसको सूचना दिए ।

प्रतिक्रिया दिनुहोस्