कर्णाली प्रदेश सरकारबाट ३ मन्त्रीले दिए संयुक्त राजीनामा



सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले मंगलबार संयुक्तरुपमा राजीनामा दिएका छन् ।

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाश ज्वालाले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाको प्रभाव कर्णाली प्रदेश सरकारमा परेको बताए ।

उनले अघि भने, ‘एमाले संसदीय दलले सरकारबाट फिर्ता आउने निर्णय गर्‍यो, त्यसलाई स्वीकार गरेर हामीले राजीनामा दिएका हौं ।’

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्