फोहोरमैलाको व्यवस्थापन राम्रोसँग गर्नुपर्छ : जगदिशनरसिंह केसी



काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले २०६२ सालमा सरकार र स्थानीयबीच जे सहमति भएको कुरा अहिलेको सहमतिमा उल्लेख नगरिएको गुनासो पोखे ।

उनले भने, ‘हामीले त स्पष्टसँग भनेका थियौं, आन्दोलन गरेका जनतामाथि छारो हाल्ने काम हो भनेर । तर, यसले दिर्घकालिन समाधानको बाटो लिँदैन् । हामीले त्यो दिन निचोड गरेर निस्किएका हौं । तर, भोलिपल्ट त्यही सहमति गरिएछ । ओखरपौवा ल्याण्डफिल्ड साईटका लागि ८ बुँदे सहमति भएको थियो ।

पहिलो बुँदामा ओखरपौवाबाट गल्छीसम्म कालोपत्रे गर्ने सहमति भयो, १६ वर्ष भयो, आजसम्म त्यो काम हुन सकेको छैन् । तर, आज हामीले केही सम्झौता गरेका छौं । फेरि यो पनि उही पूरानै सम्झौताजस्तै हो ।’

उनले स्थानीय पीडितले पैसा नखोजेको पनि सुनाए । उनले फोहोरको राम्रोसँग व्यवस्थापन नभएको पनि गुनासो पोखे । विगत १६ वर्षदेखि निरन्तर फोहोर फाल्ने काम भएको तर अहिलेसम्म सम्झौता भने कार्यान्वयन नभएको पनि केसीले गुनासो पोखे । उनले स्थानीय जनताले जे चाहन्छन् त्यसमा आफूहरुको साथ रहने विश्वास दिलाए । उनले आफू सडकमा सुत्न तयार रहेको पनि प्रतिबद्धता जनाए ।

सिस्डोल बञ्चरे डाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगानाले आफूहरु विगत लामो समयदेखि एउटै समस्याको लागि काठमाडौंका विभिन्न सरोकारवाला निकाय धाएको स्मरण गराए । उनले उक्त समस्याको दिर्घकालिन समाधानको लागि धेरै पहल गरेको पनि सुनाए ।

उनले फोहोरमैलाको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने धारणा राखे । उनले भने, ‘अहिले फोहोरको पहाडबाट दुर्गन्ध फैलिएको छ । चिल, गिद्धले गन्ध वस्तु स्थानीयको घरमा लैजाने गरेको छ, यसले मान्छेहरुको रोग लाग्ने खतरा छ । यसमा हामीले ध्यानाकार्षण गराएका छौं । बास्तवमा फोहोरमैलालाई व्यवस्थापन गर्ने समिति नै राज्यमा छैन् ।’ उनले काठमाडौं उपत्यकाको १८ वटा नगरपालिका धाउँदाखेरि एकले अर्कोलाई देखाउने गरेको पनि गुनासो पोखे । र, समस्या अहिले पनि जस्तोको त्यस्तै नै रहेको उनको भनाई छ ।

यसअघि आफूहरुले फोहोर फाल्न रोक लगाएको भएपनि काठमाडौं उपत्यकामा फोहोर बढेपछि र समय पनि चैत्र मास भएकोले संयमतता अपनाएको र पूनः फोहोर व्यवस्थापनको लागि सुचारु गरिदिएको उनले स्पष्ट पारे । उनले गत चैत्र २० गते सरकार र आफूहरुबीच सहमति भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्