मेरो पत्रकारीता र पत्रकार महासंघमा उम्मेद्वारी किन ?



देविराम देवकोटा, सुर्खेत । मैले पत्रकारीता सुरु गरेको २०५९ सालबाट हो । त्यतिबेला म माओवादी जनयुद्धमा सहभागी थिएँ । नरेश भण्डारी (हाल कर्णाली प्रदेशका आन्तरीक मामिला मन्त्री)को नेतृत्वमा काञ्जिरोवा पाक्षिक पत्रिका प्रकाशन गर्ने निर्णय भयो । उहाँ सम्पादक र म कार्यकारी सम्पादक भएर पत्रिका प्रकाशन गर्यौं । पत्रिका प्रकाशनको उद्धेश्य माओवादी आन्दोलनले गरेका सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्नुथियो । हामीले लिथो मेसिनबाट पत्रिका प्रकाशन गर्यौं । गोठ, ओडार र जंगलमा हाम्रा घुम्ती कार्यालयहरु हुन्थे । हामीले पत्रिका प्रकाशन सुरु गरेको दुइ बर्ष पछि मैले माओवादीले संचालन गरेको डोको रेडियोमा काम गर्ने अवसर पाएँ ।

त्यसपछि मैले छापा पत्रकारीताबाट रेडियो पत्रकारीता सुरु गरेँ । अहिले हिजोआज जस्तै लाग्छ, जाजरकोटको लुहादह डाँडा,कालीकोट,दैलेख र जाजरकोटको तिनचुले,सल्यानका डाँडापाखामा बसेर रेडियो संचालन गरेको । त्यतिबेलाको याद झल्झली आउँछ । त्यतिबेला हाम्रो रेडियोका निर्देशक रामलाल विश्वकर्मा हुनुहुन्थ्यो । उहाँलाई यो अवसरमा म विशेष रुपमा सम्झन चाहान्छु । किनकी उहाँले नै मलाई रेडियो पत्रिकारीता सिकाउनुभयो । उहाँ मेरो लागि गुरु हो । जेबि सुनार, टक्क बहादुर सिंह, हिमालय, निलम आरसी, गणेशकञ्चन भारती, धर्मराज जीसी, आशा शर्मा, कल्पना बिसुराल लगायतका साथीहरुसंग काम गरेको सम्झना पनि ताजै छ । पछि सुदूर पश्चिमको रेडियोमा काम गर्ने पुष्प न्यौपाने, बसन्त विश्वकर्मा, टेकराज विश्वकर्मा, मुना नायक लगायतका साथीहरुसंग पनि काम गर्ने अवसर प्राप्त भयो ।

२०६२/०६३ को जनआन्दोलनपछि शान्ति सम्झौता भयो । त्यसपछि भने जंगलबाट सुरु भएको मेरो पत्रकारीता रेडियो नेपालसम्म पुग्यो । विष्णु सापकोटा,सचिन रोका, संगीता खड्का, कल्पना बिसुराल, प्रज्ज्वल श्रेष्ठ, पुष्प न्यौपाने र मैले रेडियो नेपालको घटना र बिचार कार्यक्रम संचालन गर्यौं । कार्यक्रमको निर्देशक विष्णु सापकोटा र संयोजक सचिन रोका हुनुहुन्थ्यो ।

उहाँहरुको प्रेरणाले मैले मिशन पत्रकारीतापछि व्यवसायिक पत्रकारितामा काम गर्ने अवसर पाएँ । त्यो अवसर मलाई रेडियो थाहा संचार नेटवर्क काठमाडौले पुरा गरिदियो । त्यहाँ रेडियो पत्रकारीताका अनुभवि साथीहरु रोशन पुरी, दिपेन्द्र कुँवर, माधव दुलाल, बोमलाल गिरी, नरेन्द्र सापकोटा, सरस्वती अधिकारी, केशव घिमिरे, लक्ष्मी पौडेल, सञ्चु ब्लोन, टिकाराम तामाङ्ग लगायतका थुप्रै साथीहरुसंग काम गर्ने अवसर मेरा लागि महत्वपूर्ण थियो । अहिले पनि मेरो पेशा सक्रिय पत्रकारीता नै हो । पत्रकारीता गरेको झण्डै दुइ दशक पुरा हुनै लाग्दा मैले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको अध्यक्षमा उम्मेद्वारी दाबी गरेको छु ।

मेरो उम्मेद्वारी किन त ?

मैले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको अध्यक्ष बन्ने अवसर पाएमा श्रमजीवि पत्रकारहरुको हकमा केही उदाहरणीय काम गर्ने सोच बनाएको छु । अहिलेको अवस्थामा श्रमजीवि पत्रकारको दिर्घकालिन रुपमा आर्थिक र भौतिक सुरक्षा हुन कठिन छ । संचार गृहले दिने आर्थिक सुविधाले श्रमजीवि पत्रकारको दिर्घकालिन समस्या समाधान गर्न सक्दैन र संचार गृह पनि धौ धौ चलाउनु पर्ने अवश्थामा छन् । यस्ता समस्याको समाधान पत्रकार महासंघ मार्फत गर्न सकिन्छ भन्ने मेरो पूर्ण विश्वास छ । यही विश्वास र अठोटका साथ मैले उम्मेद्वारी दिदैछु ।

मेरा प्रतिबद्धताहरु

१.पत्रकारीता पेशामा क्रियाशिल रहँदा रहँदै विभिन्न कारणले अशक्त, बिरामी वा अन्य सङ्कट बेहोर्नु परेका सञ्चारकर्मी र पेसागत जीवनमा सक्रिय रहँदा रहँदै विभिन्न कारणले जीवन गुमाउनु परेका सञ्चारकर्मीका छोराछोरीको पठनपाठन तथा परिवारको आर्थिक सुरक्षाको ज्ञारेन्टी गर्न राहत कोषको व्यवस्था गर्ने । त्यसका लागि प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न नीजि तथा सार्बजनिक संस्थाहरुसंग आर्थिक सहयोगको अपील गर्दै अभियान संचालन गर्ने ।

२. क्रियाशिल पत्रकारहरुका लागि बीमा र आकस्मिक उपचार कोषको व्यवस्था मिलाउने ।

३.कर्णालीका सार्वजनिक निकायबाट ’राष्ट्रिय मिडिया‘मा जाने करोडौंको विज्ञापन कर्णालीमै स्थापना भएका मिडियाले समानुपातिक तरीकाले पाउने कुराको ज्ञारेन्टी गर्न पहल गर्ने । त्यसका लागि कर्णालीमै विज्ञापन वोर्ड गठनको लागि प्रदेश सरकारसंग समन्वय गर्ने ।

४.कर्णालीका मिडियालाई विद्युत, इन्टरनेट, टेलिफोनको महशुलमा विशेष छुट दिलाउन सम्बन्धित निकायहरुसंग छलफल तथा समन्वय गर्ने ।

५.कर्णाली प्रदेशमा आम संचार प्रतिष्ठान स्थापनार्था प्रदेश सरकारलाई दबाब दिने ।

६.नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साथै भवन नभएका जिल्ला शाखाहरुको भवन निर्माण गर्ने ।

७.श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गराउन पहल गर्नुका साथै कर्णालीमा स्थापित विभिन्न मिडियामा कार्यरत श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र र अन्य सुविधाहरुको व्यवस्था गर्न सम्बन्धित संचार गृहसंग छलफल र समन्वय गर्ने ।

८.साना लगानीका, श्रमजीवी पत्रकारद्वारा सञ्चालित सञ्चार गृह, सञ्चार सामग्री उत्पादन कम्पनीका लागि महासंघमार्फत् उचित नीतिगत र व्यवस्थापकीय पक्षको ज्ञारेन्टी गर्ने ।

९.पत्रकारको पेसागत क्षमता वृद्धिका लागि तालिम तथा प्रशिक्षणको आयोजना गर्ने ।

१०.सूचना विभागबाट प्रदान गरिने प्रेस पास, पत्रपत्रिका दर्ता तथा स्थानान्तरण, रेडियो लाइसेन्स नविकरण, रोयल्टी बुझाउने कार्य कर्णाली प्रदेशका सम्बन्धित जिल्लाबाटै सहजरुपमा उपलब्ध गराउन सरकारसँग समन्वयन गरि कार्यान्वयन गर्न दबाब दिने ।

११. पत्रकारीता विषय लिएर उच्च शिक्षा अध्ययन गर्न चाहाने कम्तिमा १० जना विद्यार्थीका लागी छात्रवृत्तिको व्यवस्था मिलाउने । यो छात्रवृत्ति कर्णालीकै दलित, जनजाति, अपांग, गरिब,जेहन्दार र महिला बिद्यार्थीले पाउने कुराको ज्ञारेन्टी गर्ने ।

१२.पेशामा क्रियाशिल सक्रिय पत्रकारका छोराछोरीलाई नीजि तथा सरकारी विद्यालयमा पठनपाठनको व्यवस्था गर्न पहल गर्ने । त्यसका लागि नीजि तथा सरकारी विद्यालयमा सहयोगका लागि छलफल तथा समन्वय गरि कार्यान्वयन गर्ने ।

तपाईहरुका अमुल्य सुझावहरु समेट्दै र सहकार्य गर्दै पत्रकार महासंघ मार्फत केही उदाहरणीय काम गर्ने मेरो प्रतिबद्धता हो । त्यसकारण कृपया तपाईको एक मत मलाई है ।

प्रतिक्रिया दिनुहोस्