फुटपाथका व्यापारीको पक्षमा आवाज उठाएपछि २७ दिनसम्म हिरासतमा राखेर दुःख दिइयो : तरकारी व्यवसायी गंगालाल श्रेष्ठ



काठमाडौं । फुटपाथका निम्न व्यापारीको पक्षमा आवाज उठाउँदा प्रहरीले हिरासतमा राखी दुःख दिएको भन्दै काभ्रेका गंगालाल श्रेष्ठले न्यायको आग्रह गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी पाँचखाल ४ का श्रेष्ठले २७ दिनसम्म हिरासतमा राखेर अनाहकमा प्रहरीले दुःख दिएको जानकारी गराएका हुन् ।

‘मलाई फुटपाथका निम्न व्यापारीको पक्षमा बोल्दा अनाहकमा दुःख दिइयो,’ श्रेष्ठले पत्रकार सम्मेलनमा भने,‘अनाहकमा दुःख दिने दोषीमाथि कारबाही होस् ।’ बानेश्वरमा तरकारी व्यापार गर्ने निम्न वर्गको हकहितमा लागि बोल्दा उल्टै समस्या खडा गरिएको बताए । आफू मानिसहरुको आँसु पछ्नमा लागिपरहेको उनको भनाई थियो ।

भाडा तिर्न नसक्ने निम्न व्यापारीहरुले फुटपाथ तरकारी व्यापार गर्दै आएकोलाई सरकारले हटाउने निर्णय गरेपछि ०६५ साल मंसिर ६ गते रिपोर्टर्स क्लबमा कार्यक्रम गरेको स्मरण गरे । उनले फुटपाथका व्यापारीको विषयमा आवाज उठाएकोले आफूलाई अपहरण र मार्न खोजेको आरोप समेत लगाए ।

२०६५ मंसिर १९ गते रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेको जानकारी दिए । उनले पर्चा मार्फत देशमा विदेशी सेनाहरु प्रवेश गर्दैछन् र देश बचाउँनु पर्छ भन्दै जनतामा सन्देश पुर्याउन खोज्दा पार्टीका मानिसलाई प्रहरीले थुनेको आरोप लगाए ।

आफूलाई २०६५ माघ १० गते परिबन्धमा पारेर अपहरण गरिएको बताए । अपहरण गरेर, बन्धक बनाएर, मानसिक यातना दिएर राखेको उनले बताए । ‘यातना दिएर बन्धकमा राख्दा भगवानलाई सम्झन्थे ।’ २०६२ सालको शिवरात्रिको दिनमा बन्धकबाट मुक्त भएको उनको भनाई थियो ।

आफूलाई झुटो मुद्दा लगाएर फसाउन खोजेपनि कतै दोषी नदेखेपछि वचत खाता तथा किताबहरु सबै सक्कल कागजपत्र जलाईदिएको दुखेसो गर्दै भने, ‘न्यायलयले मलाई सत्य तथ्य बुझेर न्याय दिन सकेन ।’

हाल ललितपुरको बालकुमारी श्रेष्ठले २०७७ सालको साउन २९ गते घरैबाट उठाएर लगेर मार्न खोजेको आरोप लगाए । घरबाट जबजस्ती आफ्नै कार्यालयमा लगेर पेस्तोल देखाएर मार्न खोजेको उनको भनाई थियो । त्यहाँबाट भाग्न सफल भएपनि परिवारको सम्र्पकमा तत्काल नआएको बताए । उनले प्रहरीलाई १ गते जाउलाखेलमा सबै कागजपत्रसहित गएर आफुलाई अपहरण गर्ने, अफिसमा हतियार लुकाएर राख्ने सबैलाई मैले चिनेको छु तपाईहरुले खोजिदिनुहोस् र कारबाही गर्नुहोस् भनेको बताए । तर प्रहरीले सबै प्रमाण दिन्छु भन्दा पनि उल्टै उसैलाई जोगाउन लागेको बताए । प्रहरीले अपराधीलाई नै उल्टै जोगाउन लागेपछि आफुले सबै घटना क्रम किताबमार्फत लेखेको बताए ।

श्रेष्ठले अन्तिम पटक माघ २९ गते फेरी जाउलाखेलबाट हिरासतमा राखेको बताए । २७ दिनसम्म हिरासतमा राखेकोमा आपत्ति जनाउदै भने, ‘मेरो गल्ती केही थिएन् । उनले २७ दिन राखेर त्यत्तिकै छाडेकोमा आश्चर्य लागेको बताए । उनले आफुलाई समात्नु र छाड्नुको कारण प्रहरीलाई सोध्दा पनि चित्त बुझ्दो जवाफ नदिएको बताए ।

फागुन २५ गते राति १० बजे प्रहरीले छाडेको बताए । उनले भने, ‘राजनितिक पहँच नहुने र पैसा नहुने मानिसले न्याय पाउने आशा गर्नु गलत हो ।’ वकिलहरुले पनि आफूलाई सहयोग नगरेको भन्दै आपत्ती जनाए ।

प्रतिक्रिया दिनुहोस्