राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् । राष्ट्रपतिले शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन् । नेता मानन्धरको सोमबार साँझ निधन भएको हो ।

यसैबीच वामपन्थी नेता मानन्धरको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गत नेता मानन्धरको शवमाथि पार्टीको झण्डा ओढाएका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गणेश साहलगायतले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।

अपूरणीय क्षति अध्यक्ष दाहाल

त्यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् । अध्यक्ष दाहालले शोक वक्तव्यमार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेता मानन्धरले विसं २००७ मा आफ्नै घरबाट विद्रोहको बिगुल फुक्नुभएको स्मरण गर्दै अध्यक्ष दाहालले विसं २००९ को रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको बताए । नेपालको वामपन्थी आन्दोलनमा नेता मानन्धरले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहिरहने अध्यक्ष दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्