सरकार र थरुहट संघर्ष समितिबीच वार्ता सुरू



काठमाडौं । थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समिति र सरकारबीच वार्ता सुरू भएको छ ।

समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र सरकारी वार्ता टोलीबीच गृह मन्त्रालयमा मंगलबार दिउँसो वार्ता सुरू भएको हो ।

कल्याणकारिणी सभाका पदाधिकारी, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच वार्ता सुरू भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए ।

गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो ।

सभाले १९ बुँदे माग सरकारसँग राखेको छ । सो माग पूरा भए समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारी गर्ने सम्भावना बलियो छ ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी सदस्य छन् ।

कल्याणकारी सभा, थारुहटरथारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली छ ।

प्रतिक्रिया दिनुहोस्