चिनियाँ खोप बुझ्दै प्रधानमन्त्रीले भने : सरकारले दुइटै डोज एउटै कम्पनीको दिने गरी व्यवस्था गरेको छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसविरूद्ध पहिलो डोज जुन खोप लगाइएको छ, दोस्रो डोज पनि त्यही खोपको लगाइने बताएका छन् ।

सोमबार बालुवाटारमा चीनले अनुदानमा दिएको ८ लाख डोज भ्याक्सिन बुझ्दै प्रधानमन्त्री ओलीले दोस्रो डोज अर्कै खोपको लगाउन लागेको भन्दै चलेका हल्लामा कुनै सत्यता नभएको बताए ।

‘सरकारले दुइटै डोज एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

नेपालमा अहिले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइएको छ । नेपालले अहिलेसम्म १३ लाख अनुदानसहित २३ लाख डोज कोभिसिल्ड भ्याक्सिन ल्याएको छ ।

चिनियाँ भ्याक्सिन हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ बनाउन खोप हस्तान्तरण कार्यले थप योगदान गरेको बताए ।

चीनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’को नीतिमा अघि बढेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्