बागलुङमा आफ्ना कार्यकर्ताको हत्या गर्नेलाई कडा कारवाही गर्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले बागलुङमा आफ्ना कार्यकर्ताको हत्या गरेकोमा दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै बागलुङमा अमानवीय घटना घटेकोले दोषीलाई छिटो पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ शर्माले भनेका छन् ।

घटनामा प्रकाश कुँवर र दिपक नेपालीको मृत्यु भएको थियो । कुँवर कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन् ।

घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसँग संवाद गर्न र जीवन गुमाएका युवाहरुका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्