आज पनि केन्द्रीय कमिटी बैठक बस्दै खनाल-नेपाल पक्ष



काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिलो हुने जानकारी प्राप्त भएको छ ।

नेता रघुजी पन्तका अनुसार शुक्रबारको संसदीय दलको बैठकबारे नेताहरुले केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्ने छन् ।

उनले भने, ‘हिजो संसदीय दलको बैठकमा सहभागी हुनुभएका नेताहरुले त्यहाँ भएको गतिविधिबारे केन्द्रीय सदस्यलाई जानकारी दिनुहुन्छ । साथै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि परामर्श गर्छौं ।’ आजको छलफल हिजोका छलफल कै निरन्तरता भएको उनको भनाइ छ ।

ओलीले एमाले ब्यूँतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।

नेपाल र रावलले पार्टीलाई बुझाएको प्रष्टीकरण कारबाही योग्य भएको ओलीले बताइसकेका छन् । आजको छलफलमा ओलीले कारबाही गरेको खण्डमा कसरी जाने भन्नेबारे पनि विमर्श हुने पन्तले बताए ।

हिजोकै स्थानमा बैठक बस्ने र अहिले त्यहाँ गइरहेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्