नेपाल पक्षका सांसद बालुवाटारको संसदीय दलको बैठकमा सहभागी हुने



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् ।

नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा जाने तयारी भइरहेको बताए । त्यसअघि नेपाल पक्षका सांसदको छुट्टै छलफलको तयारीसमेत भइरहेको पाण्डेले बताए ।

‘बैठकमा सबै जना जाने कुरा भएको छु, पाण्डेले भने, ‘बैठकमा सहभागी हुने विषयमा यसअघि पनि कुराकानी भएको हो । तर त्यतिबेला भेला भएकाले जान भ्याइएन । बैठकमा सहभागी हुने कुरालाई हामीले सामान्य ढंगले लिएका छौं । तर बाहिर ठूलो विषय बनाइएको छ ।’

पाण्डेले धेरैजसो दलका सदस्यहरूको बैठक सिंहदरबारमा गरेको भए हुने भन्ने मत रहेको बताए ।

‘चैत ५ गते कार्यकर्ता भेला भएकाले गइएन । त्यसपछिको ७ गते नेताहरूले विधि पद्धतिको कुरा गरेकै कारण गइएन, त्यतिबेला मागपत्र लैजाने र बैठक बालुवाटार बाहिर गर्नुपर्छ भन्ने कतिपय नेताहरुको चाहना थियोु, पाण्डेले भने, ‘कोही नेताहरू अझै स्पष्टिकरण लेख्दै हुनुहोला । कतिपयले बुझाउन जानुहोला ।’

प्रतिक्रिया दिनुहोस्