मुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु



काठमाडौं । धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

डिएसपी मिश्रका अनुसार कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए ।

‘असईसाब आफ्नो ड्युटी सकेर घर जाँदै हुनुहुन्थ्यो, त्यही बेला ट्रकले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो,’ डिएसपी मिश्रले भने, ‘हामीले आज बिहान करिब साढे ४ बजेमात्रै यसबारे जानकारी पाएका हौं ।’

कापरको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले फेला पार्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्