रेशम चौधरीको रिहाइबारे वार्ता गरौं : गृहमन्त्री थापा

काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार माइतीघर मण्डला पुगेका छन् ।
थारु कल्याणकारिणी सभाको अगुवाईमा बसेको धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् ।
थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने, ‘माननीय रेशम चौधरीको रिहाइका लागि गृहमन्त्रीज्यूले वार्ता टोली बनाएर आउन भन्नुभएको छ । साथै प्रधानमन्त्रीसँग पनि कुरा गरेर क्याबिनेटमा लैजान्छु भन्नुभएको छ ।’
उनले चाँडै नै रेशम चौधरीको रिहाइको लागि थारु कल्याणकारिणि सभा, थारु अगुवाहरुको नेतृत्व गरेर सरकारसँग वार्ता टोली बनाउने समेत बताए ।