सिस्टम अपडेटपछि पठाओका सम्पूर्ण सेवा सुचारू



काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओको राइड सेवा चल्न थालेको छ । एप अपडेटका कारण अबरूद्ध भएको राइड सेवा भर्खरैदेखि चल्न सुरू भएको कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

‘अपडेट भइरहेका कारण राइड रोकिएको थियो । अहिले चल्न सुरू भयो,’ उनले भने ।

प्राविधिक कारणले पठाओको ट्याक्सी र फुड पनि मंगलबारदेखि बन्द थियो । आज बिहानदेखि उक्त सेवा पनि सञ्चालनमा आएको हो ।

सोमबार बिहान ट्याक्सी चालक र पठाओ राइडरबीच झडप भएपछि राइड सेवा रोकिएको आम उपभोक्ताले अनुमान लगाएका थिए । तर, झडपका कारण नभई प्राविधिक कारणले बन्द भएको कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

‘झडपले बन्द भएको होइन, हाम्रो प्राविधिक समस्याले बन्द भएको हो,’ उनले भने, ‘समस्या समाधान भएर हाम्रो सबै सेवा सुचारू भइसकेको छ ।’

ट्याक्सी चालक र पठाओबीच झडप भएपछि पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्