कुकुरको निहुँमा आफ्नै छोराले गरे आमा बुबाको हत्या



एजेन्सी । इटलीमा एक व्यक्तिले आमाबुवाको हत्या गरेका छन् । ३० वर्षका बडी बिल्डर बेनो साउथ टायरोलेमा आफ्ना आमाबुवासँग बस्दथे । बेनोकी आमा लरोको मृत शरीर एडिजे नदीमा पाइएको थियो भने उनका पिताको शव हालसम्म पनि पाइएको छैन । उनीहरुको घर नजिकैको एउटा पुलमा रगतका टाटा भने देखिएका थिए । बेनोले आफ्नो अपराध स्वीकारेका छन् ।

डेली मेलका अनुसार बेनोले आफ्नो पिताको हत्या निकै सानो झगडापछि गरेको बताएका छन् । यस्तै, उनीहरुको झगडाको बीचमा आमा आएपछि एक शब्द पनि नबोली आमाको पनि हत्या गरेको बताएका छन् ।

विवाद कुकुरलाई बाहिर डुलाउन लिएर जाने विषयमा सुरु भएको हो । पिताले बेनोलाई घरको कुकुरलाई बाहिर डुलाउन लिएर जान भनेका थिए । बेनोले यस्तो गर्न अस्वीकार गरेपछि बहस सुरु भएको हो । बेनो भन्छन्, ‘बुवाले मलाई असफल भएको आरोप लगाउनुभयो । मलाई शान्ति चाहिएको थियो । त्यसैले मैले उहाँलाई चुप गराएँ ।’

उनका अनुसार बुवाको गालीबाट बच्नका लागि उनी आफ्नो कोठामा पनि गएको बताए । तर बुवाले उनको कोठासम्म नै पछ्याएपछि उनलाई रिस उठेको बताए ।

बुवाको कचकच सुन्नबाट जोगिन उनले पिताको घाँटी थिचिदिएको बताए । उनले भने, ‘मैले क्लाइम्बिङ रोप देखेँ । हामी हलवेमा थियौं र हामी एकैपटक जमिनमा पछारियौं । मलाई यत्ति मात्रै थाहा छ कि मैले निकै बेस्सरी अँठ्याएको थिएँ ।’

बेनोका अनुसार उनकी आमा त्यस दिन छिट्टै घर फर्किएकी थिइन् । उनले त्यहि डोरीले आमाको पनि घाँटी अँठ्याए । उनले भने, ‘मैले गुडबाय पनि नभनी त्यसो गरेँ ।’

ती छोराले आफ्ना आमाबुवाको शव पूलबाट फ्याँकेको बताए । बेनोलाई प्रहरीले जनवरी २९ मा पक्राउ गरेको थियो । उनी हाल प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्