बूनपामा अधिकृत हेरफेर, सापकोटाको बिदाई, कार्कीलाई स्वागत



काठमाडौं । बूढानिलकण्ठ नगरपालिकामा प्रमुख अधिकृत बैकुण्ठ सापकोटालाई बिदाई गरिएको छ । नगरपालिकामा निकै कडा हाकिमका रुपमा परिचित सापकोटालाई नगरको सभा हलमा आयोजित कार्यक्रममा बिदाई गरिएको हो ।

सोमबार एक औपचारिक कार्यक्रम मार्फत बैकुण्ठ सापकोटालाई बिदाई गर्दै राजेन्द्र कार्कीलाई प्रमुख अधिकृतको रुपमा स्वागत गरिएको हो ।

उक्त बिदाई तथा स्वागत कार्यक्रममा नगर प्रमुख उद्धव खरेल, नगर सल्लाहकार सुन्दर पुर्कुटि, विभिन्न वडाका जनप्रतिनिधि र नगरपालिका विभिन्न शाखा कर्मचारीहरुले निवर्तमान र वर्तमान प्रमुख प्रशासकिय अधिकृतहरुलाई फुलमालाका साथ स्वागत तथा बिदाई गरेका थिए ।

करिब १० महिना बूढानीलकण्ठ नगरपालिकामा कार्यरत बैकुण्ठ सापकोटा मध्यनेपाल नगरपालिका, लमजुङमा सरुवा भएका हुन् । सापकोटाको कार्यकालमा नगरपालिका शाखा कर्मचारी देखि स्थानीय लगायत सेवाग्राहि सबैलाई व्यवस्थित गर्दै एक सफल नेतृत्वको उदाहरण प्रकाश पारेका थिए । उनको काम प्रति सरोकारवालाहरु सबै सन्तुष्ट रहेको आम नगरपालिकाको बुझाई छ ।

बिदाई तथा स्वागत कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेलले सापकोटलाई आगामी सुखद् रहोस् भन्ने कामना सहित उत्तरोत्तर प्रगतिको शुभकामना दिए । साथै नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यसै स्वागत तथा विदाई कार्यक्रममा नगरपालिकामा हालै सरुवा भई आएका विभिन्न शाखाका कर्मचारीहरुलाई पनि स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्