४० वर्षपछि भारतीय जेलबाट मुक्त भए दुर्गाप्रसाद

काठमाडौं । ४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना आइतबार स्वदेश आइपुगेका छन् ।
कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका हुन्।
उनलाई अब त हामी नेपाल आइयो नि भन्दा यति मात्रै भने-हो।
चार दशकपछि स्वदेश फर्किँदा पनि उनी मौन थिए। जेलबाट छुटेका तिम्सिनाले आफ्नी आमाका लागि मिठाइ बोकेका छन्।
यो मिठाई उनी आफैंले भने किनेका होइनन् । ह्याम रेडियो अपरेटरहरूको पश्चिम बंगाल रेडियो क्लबका प्रतिनिधिले उनकी ८६ वर्षीया आमाका लागि मिठाई पठाएका हुन् ।
दुर्गाप्रसाद आजै इलाम जानेछन् । त्यहाँ उनको आमासँग भेट हुनेछ ।