सहिदपुत्रको प्रचण्डलाई खुला पत्र– क्रान्तिकारीहरु फेरि एक ठाउँमा किन नआउने ?



कमरेड प्रचण्ड
अभिवादन

जहाँ हुनुहुन्छ, मानसिक र शारीरिक दुबै हिसावले स्वस्थ हुनुहुन्छ भन्ने अपेक्षा लिएको छु। जिँदै हुदा पनि पलपल मरिरहनु पर्ने यी सबै सहिद तथा बेपत्ता योद्धा सन्ततिहरुको तर्फबाट दुई शब्द लेख्दैछु ।

कमरेड ! बहादुरीपूर्वक मृत्युलाई अंगाल्नुहुने सहिदको सन्तति बन्ने सौभाग्य या दुर्भाग्य मिल्यो । सौभाग्य भनौं भने आज महान सहिदका सपनाहरु लथालिङ्ग छन, देशले हामीलाई सहिद सन्तति हैन द्वन्द्व प्रभावित भन्छ । दुर्भाग्य भनौं भने कल्पना गरौ त हामीलाई सामान्य चोट लाग्दा ठेस लाग्दा कति दुख्छ भने म मर्छु भनेर जानी जानि देशको लागि आफ्नो ज्यानको बलिदान हामी जो कोहीले गर्न सक्दैनौं, सायद तपाईले पनि ।

हरेक मान्छेहरु आफ्नो अभिभावक वा सन्तान गुमाउँदा कति पीडामा हुन्छन्, जो यहाँले पनि भोग्नुभएकै छ । हामीले हाम्रा अभिभावक गुमाएका छौ, जसले हामीलाई लालनपालनदेखि शिक्षा स्वास्थ्य दिलाउन अहोरात्र मेहनत गर्नुहुन्थ्यो । आज हामी सबै १४ हजार सहिदका हजारौं सन्तति, बेपत्ता, घाइतेकाका सन्ततिहरु के गर्दै छौं होला ? के साच्चै यस्तै दिन देख्न हिजो हाम्रा अभिभावकले आफ्नो ज्यान दिएका हुन् त ? केही नेताहरुलाई सत्तामा जाने भर्‍याङ मात्र बनाउन पक्कै सहिदले बलिदान गरेका होइनन् ।

कमरेड, आज देशलाई निस्वार्थ प्रेम गर्नेहरुका सन्ततिको भबिस्य अन्धकार भएको, अभिभावक बिहिन टुहुरा भयका छौ भने हामीले तपाइसित आफ्नो दुःख नपोखेर कोसँग पोख्नु ? यो देशमा निर्ममतापूर्वक श्रीमतीको हत्या गर्नेहरु उन्मुक्ति पाउँछन । गैँडा मार्ने तस्करहरु तारे होटेलमा शाषकहरुसँग लन्च र डिनर गरिरहँदा प्राण धान्न जँगल पसेको चेपाङ मारिन्छन । दशगजामा टाउको फूटाउने नेपालीहरु धोती र भारतीय एजेन्ट भनेर अपहेलित छन तर निर्मलाजस्ता हजारौं चेलीको बलात्कार गर्नेहरु खुलेआम बसिरहेका छ्न ।

कार्वनडाइअक्साइड र अक्सिजनको भेद थाहा नपाउनेहरु मन्त्री भैरहेका छ्न । राम्रो अध्यन गरेका युवाहरु बिदेशी भूमिमा तड्पिरहेका छन् । देशको भूभाग बेचेर सत्ता र सम्पति आर्जन गर्नेहरु रातारात राष्ट्रवादी भएकाछन । सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिस्य देख्दै विश्वका विभिन्न सहरहरुमा भएका नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् ।

तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली मजदूर किसान बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्नेबाहेक अरु बिकल्प सोच्नै सकिरहेका छैनन् । कमरेड ! आँखै आगाडिका यी दृश्यहरु तर चुपचाप शालिक झैँ बस्नु पर्ने अवस्था कसरी अन्त्य गर्ने हो ? के म चेतनशील प्राणी हुँ ? के जिउनु को अर्थ यही हो ? बडेमाको घनले टाउकोमा हिर्काए झैँ ठोकिक्रहन्छन यी प्रश्नहरु ।

हामीले सानोमा अभिभावक गुमाएको मात्रै थाहा पायौं तर हुर्कदै बढ्दै जाँदा हाम्रा अभिभावकहरुको पनि नेता तपाइँको बारेमा पनि जान्ने प्रयास गर्दैछु । तपाई त दस बर्षे जनयुद्ध र १९ दिने जनान्दोलनको सुप्रिम कमान्डर हुनुहुँदो रहेछ । सयौं बर्षदेखि जरा गाडी बसेको राजतन्त्र फाल्न हैसियत राख्ने र सार्वभौमसत्ता नेपाली जनतामा निहित बनाउन सक्ने महान व्यक्तिरुत्वको नाम रहेछ प्रचण्ड । अहिलेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता तथा समानुपातिक एजेण्डाका सूत्रपात गर्ने वैचारिक व्यक्तित्वको नाम रहेछ प्रचण्ड । यति धेरै सोच्ने तपाईंको दिमागले एकपटक तपाईंका सहयात्री सहिदका सन्ततिको अबस्था पनि बुझिदिनुहोला भन्ने हाम्रो अनुरोध हो । काठमाडौंमा हराएका पाइलाहरु बेपत्ता योद्धाका आफन्तहरु र आधा शरीर बोकेर बाँचिरहेका घाइतेहरुको झुपडीसम्म पनि पुगिदिनुहुन्थ्यो कि भन्ने हाम्रो विनय हो ।

हामी दैनिक प्रचण्डको नाम सुन्छौं तर यहाँको खुमलटारदेखि बालुवाटार, पेरिसडाँडादेखि सिंहरवारसम्मको चक्कर काट्न थालेको पनि दुइ दशक पुग्न थालिसक्यो । अब फेरि हाम्रा अभिभावकका पनि अभिभावक प्रचण्डलाई गाउँका गरीब दुःखीले भेट्न र आफ्ना मनका कुरा राख्न पाउलान् कि नपाउलान्, हामी आफै प्रश्न गर्छौं तर जवाफ पाउँदैनौं । कमरेड प्रचण्ड, यो पट्यारलाग्दो यात्रा अरु कसैलाई जिम्मा दिनुहोस् र यहाँ फेरि गरीबका झुपडीसम्म पुगेर यहाँकै नेतृत्वमा आएको गणतन्त्र गुञ्जायस झुपडीसम्म पुर्याइदिनुहोस् ।

एकपटक तपाईं आफै आत्मसमीक्षा गर्नुहोस्, हिजोका दिनमा प्रचण्ड भनेपछि मरिहत्ते गर्ने दूखी, गरीब, सहिद परिवार, बेपत्ता परिवार , घाइते जनहरु, ज्यालामजदूरीमा काम गरिखाने मजदूर, दलित, सूकूम्बासी किन प्रचण्डप्रति आशाभन्दा बढी गुनासो गर्दैछन् । हिजोसम्म आदर्शन नेतृत्वको रुपमा चिन्ने यिनैले आज किन पुरानै आदरभावका साथ हेर्न चाहदैनन् । यहाँले हुर्काएका नेताहरु किन धमाधम यहाँलाई छाडेर अन्यत्रै दौडिरहेका छन् ? सामाजिक सञ्जाल र चोक चौतारीमा यहाँको प्रशंसाभन्दा आलोचना गर्नेहरुको संख्या किन बढिरहेको छ ? अबको नेपाली कम्युनिष्ट आन्दोलनको दिशा र दशा के हो ? यस्ता प्रश्नमा गरमागरमी बहस गरेर ठोस निष्कर्षमा पुग्न यहाँले किन नेतृत्व नगर्ने ?

हिजोको यहाँकै भाषाको पुरानो सत्ताकै वरिपरि मात्र घुमेर देशमा आमूल परिवर्तन हुने देखिदैन कमरेड ! नेपाली जनता आफ्नो ज्यानको प्रवाह नगरी सहिद बन्न घाइते बन्न पछि हटेनन । उनीहरुलाई सपना देखाइए वा देखे तर सहिद बन्न तयार भए । तर, ती सपना पूरा हुने संभावना कतै देखिदैन । क्रान्तिका सपना फेरि पनि सुदूर भविष्यकै लागि छाड्ने हो भने अहिले भएको परिवर्तनलाई कसरी क्रान्ति मान्ने हामीले ? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ ।

त्योभन्दा पनि ठूलो कुरा जनतालाई देखाइएको सपना पूरा गर्नु हो । तपाईंसँग नेपालका अन्य नेतृत्वहरुसँग भन्दा धेरै र प्रभावकारी अनुभव छ । अब पनि म तपाइको क्षमतामाथि प्रश्न गर्न चाहन्न तर नतिजा त्यही बोलिरहेको रहेको छ कि अब यहाँले आफ्नो क्षमतामाथि आफै निर्मम समीक्षा गर्नुपर्ने बेला आएको छ । हिजो तपाईंको साथमा रहेका किरण, बिप्लव र बाबुरामहरुले किन यहाँको साथ छाडे ? यसमा अरुको पनि भूमिका होला तर यहाँको पनि त्यसमा अवश्य भूमिका छ । हाम्रा अभिभावकलाई रगत बगाउन आव्हान गर्ने नेताहरु एक ठाउँमा जुटेर फेरि पनि क्रान्तिको आगो ओकल्ने पार्टी र नेतृत्व हामीलाई चाहिएको छ । के यसका लागि ब्यापक क्रान्तिकारी ध्रुवीकरणको महाअभियान शुरु गर्न यहाँ तयार हुनुहुन्छ ?

परिणामले के देखाइसक्यो भने यहाँ र यहाँबाट टुक्रेका सबै नेताहरुले सहिदले चाहेजस्तो सार्थक परिणाम दिन नसकेको आजको यथार्थ हो । फूटेर परिणाम आएन फेरि मिलेर एकपटक परिणाम दिनेतिर किन नलाग्ने ?

काम गर्दा पनि कहिँ न कहिँबाट नकारात्मक टिप्पणी त आइ नै हाल्छ्न् तर मूल कुरा आन्दोलन सही दिशा र गतिमा छ कि छैन भन्ने हो । जसले क्रान्तिको सपना देखे, देखाए र देखाइए, कम्तीमा ती फेरि एक ठाउँमा आएर नयाँ अपिल गर्दा क्रान्तिको अधुरो सपना पूरा हुन्छ भन्ने हामी सहिद सन्ततिहरुको विश्वास छ । हाम्रा अभिभावकै बाटोमा लागेर हामी फेरि पनि यहाँहरुलाई साथ दिन तयार भएकै छौं तर यहाँहरु त्यसका लागि तयार हुने कि नहुने ? यिनै यी मेरा जिज्ञासा र छटपटीसहित विदा हुन्छु ।
सहिदपुत्र
तेजबिक्रम ओली
रोल्पा

(लेखक सहिद तथा बेपत्ता यौद्धा सन्तति फाउण्डेशनका लुम्बिनी प्रदेश इञ्चार्ज हुन्)

प्रतिक्रिया दिनुहोस्