कर्णाली सरकारलाई माधव पक्षधर नेताको काँध, प्रकाश ज्वाला भन्छन् : समर्थन कायमै



काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओली गुटको संसदीय दलको बैठकप्रति पार्टीको माधवकुमार नेपाल गुटले आपत्ती प्रकट गरेको छ ।

‘नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका नेकपा एमालेका सांसद प्रकाश ज्वालाले भने ।

नेकपा एमालेकै माधव नेपाल समूहले औपचारिक सूचना समेत नदिइ बोलाइएको गुटगत बैठकले गरेको निर्णयमा असहमति जनाएको हो।

संसदीय दलका नेता यमलाल कँडेलको अध्यक्षतामा बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट शाही नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । बैठकमा माधवकुमार नेपाल समूहका प्रदेश सांसद भने उपस्थित थिएनन्।

त्यसैलाई काउन्टर दिँदै ज्वालाले भनेका छन्, ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं । यो नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौं ।’

‘कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं,’ प्रकाश ज्वालाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्