तीन दल मिलेर प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने

प्रतिनिधि सभा पुनर्स्थापना भएदेखि नै नेपाली_कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल पक्ष र जसपाबीच नयाँ सरकार गठनको विषयमा छलफल भइरहेको थियो।
फागुन २३ गतेको लागि तय भएको संसद् बैठकअघि नै अविश्वासको प्रस्ताव ल्याउने तयारी पनि थियो। तर, दलहरुबीच एकअर्काप्रतिको आशंका कायम थियो। त्यसैले सरकारको नेतृत्व कसले गर्नेलगायतका विषयमा सहमति जुट्न सकेन। कांग्रेस आफ्नै नेतृत्वमा भए मात्र सरकार बनाउने नत्र चुनावमा जाने मनस्थितिमा थियो।
नेताहरुका अनुसार यी तीन दल प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा छन्। अविश्वासको प्रस्ताव ल्याउने भनेर सांसदहरुको हस्ताक्षर पनि तयारी अवस्थामा राखिएको कांग्रेसका एक सांसदले बताए। ‘अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर तयार छ,’ केन्द्रीय सदस्य समेत रहेका ती सांसदले भने। तर, उनले कति सांसदको हस्ताक्षर छ भन्ने खुलाउन चाहेनन्।
एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला राखेको छ। सो भेलाबाट आउने निर्णय कुरेर अविश्वासको प्रस्ताव पेस गर्ने तयारी छ। ‘ओलीलाई विदा गर्न ढिला भइसकेको छ, पछि समस्या नआउनेगरी प्रक्रिया अघि बढाउने सहमति भएको छ,’ ती कांग्रेस नेताले भने।
कांग्रेसले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा नदिएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ कि भनेर कुरेको थियो। तर, नयाँ सरकार बन्ने सुनिश्चित नभएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने अडान लिएको थियो।