ओली र प्रचण्डका विषयमा सूर्य थापा र डा. विजय पौडेलबीच ट्विटरमा रोचक जुहारी



प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलबीच ट्विटरमा रोचक जुहारी परिरहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार ट्विट गर्दै साविक नेकपाको प्रचण्ड पक्षमा लागेका पुनर्स्थापित नेकपा एमालेका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई संकेत गर्दैै अपराधीको संज्ञा दिए।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चारपटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ उनले लेखेका छन्, ‘दुईतिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन।’

जसको जवाफमा डा. पौडेलले थापालाई प्रधानमन्त्री ओली र आफूलाई कहिले कुनै गल्ती नगर्ने ‘महामानव’ लेख्न भन्दै व्यंग गरे।

नेता नेपालले भने : केपी ओलीसँग सुरुवातमा राम्रो वार्ता भएपनि छुट्टिने बेलामा टर्रो भयो

‘ओ सूर्य थापाजी ! जीवनमा कम्युनिस्ट एकता गर्ने छैन, गल्तीमा आत्मालोचना पनि गर्ने छैन, समस्या समाधान गर्नका लागि पार्टीको बैठक बस्नु पर्दैन, असहमतिलाई धुलिसात पार्ने हो,’ डा.पौडेलले लेखेका छन्, ‘म र केपी ओलीबाट कहिल्यै कुनै गल्ती हुन्न, हामी महामानव हौं भनेर लेख्नुहोस्।’

यसपछि आक्रोशित हुँदै थापाले अर्काे ट्विट गरेका छन्।

‘डा. विजय पौडेलजी, यी तपाईंकै सचेतताकै शब्द हुन्? २०७७ वैशाखयताका आफ्नै ट्विटहरू फर्केर पढ्न र आत्मसमीक्षा गर्न सक्नुहुन्छ,’ थापाले लेखेका छन्, ‘प्रचण्डको सेवामा कति ड्रम तेल रित्याउनुभयो, आफैंलाई सम्झना छ? उनको पार्टी कब्जा अभियानको सक्रिय सहयोगीका विश्लेषणहरू कहाँ पुगे नि? हेक्का त छ?’

प्रतिक्रिया दिनुहोस्