१४ वर्षपछि फिल्म क्षेत्रले सम्झँदा थामिएनन् विपनाका आँशु, भक्कानिदैँ यस्तो भनिन्…



कुनै समयकी सर्वाधिक चर्चित नायिका हुन्, विपना थापा । माईली, मितिनी, मानिस, आफ्नो मान्छे, तँ त साह्रै बिग्रिस् नि बन्द्री लगायतका थुप्रै सुपरहिट चलचित्रमा काम गरेकी विपना करिब १ दशकदेखि फिल्म क्षेत्रबाट टाढा छिन् ।

विवाहपछि फिल्म क्षेत्र छोडेर भारतमा परिवारसँग बस्दै आएकी विपना लामो समयपछि हिजो राजधानीमा आयोजित दशौँ नेफ्टा अवार्ड समारोहमा देखिइन् । उनी विशेष अवार्ड समारोहको लागि भनेर नै नेपाल आएकी हुन् ।

विपना लामो समयपछि फेरि आफ्नो इन्डष्ट्रिमा फर्कन पाउँदा निकै नै खुसी देखिन्थिन् । त्यसका साथै उनी अवार्ड समारोहमा निकै भावुक पनि हुन पुगिन् ।

अवार्ड समारोहमा उद्घोषकको रुपमा रहेकी माल्भिका सुब्बाले वर्षौंपछि विपना थापासँग साक्षात्कार गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनको भनाई जान्न खोजिन् । तर, माइक समात्न नपाउँदै विपनाले आँशु थाम्न सकिनन् । उनी शब्दविहीन भइन् । १४ वर्षपछि अवार्ड कार्यक्रममा सहभागी भएर फिल्म इन्डस्ट्रीको परिवारसँग भेट्न पाउँदा आफूसँग खुसीको सीमा नरहेको उनले बताइन् ।

गहभरि आँसु पार्दै उनले भनिन्, ‘हुनत, म नेपालमा नभएर पनि होला । म कसैमाथि आरोप लगाउन चाहन्नँ । तर, आजसम्म कसैले फिल्म इन्डस्ट्रीको एउटा कार्यक्रममा पनि मलाई बोलाएका थिएनन् । म १ सय ११ वटा फिल्ममा काम गरेको हिरोइन हुँ । तर, आजसम्म कसैले सम्झिएनन् । नेफ्टाले एक महिना अगाडिदेखि बोलाएपछि स्वास्थ्य राम्रो नहुँदा नहुँदै पनि आएँ । एकदमै खुसी छु ।’

त्यसका साथै उनले आफू १४ बर्ष अगाडि पुगेको महशुस भैरहेको बताइन् । विपनाले आफूले यो क्षेत्रमा निकै मेहेनत गरेको भएकाले लामो समयसम्म कसैले याद नगर्दा कता कता नरमाइलो लागेको पनि बताइन् । उनले अब चाडैँ नै आफू फेरि चलचित्रमा फर्कने पनि बताएकी छिन् । धेरैपछि विपनालाई पर्दामा हेर्न दर्शक पनि उत्साहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्