एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने वाग्मती प्रदेश इन्चार्ज



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेका सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् ।

असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।

५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो ।

त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।

साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् भने बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्