भीम रावल भर्सेस लेखराज भट्ट, ‘नेम प्लेट’का लागि दुई पक्षबीच कुटाकुट



कैलाली । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएको छ । नेकपा हुँदा दुई समूहमा विभाजित नेताहरु पुरानै पार्टीमा फर्किएका छन् । तर माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु प्रधानमन्त्री केपी ओलीको साथ नछोड्ने भन्दै एमालेमै रहने मनस्थितिमा छन् ।

माओवादी मन्त्री नफर्किँदा एमालेका नेताहरुसँग पोजिसन बाँझिन पुगेको छ। यसको असर सुदूरपश्चिममा पनि देखिएको छ।

विगतमा नेकपा हुँदा भीम रावल सुदूरपश्चिम इन्चार्ज थिए। पुस ५ मा प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित नेकपाको ओली समूहले पूर्वमाओवादी पृष्ठभूमिका उद्योगमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनायो। दाहाल-नेपाल समूहका तर्फबाट रावल नै रहे।

फागुन २३ गते सर्वोच्चको फैसलाबाट नेकपा नाम खारेज भई एमाले र माओवादी व्युँतिएपछि नेताहरु समूह छाडेर आ-आफ्नो पार्टीमा फर्किए। तर लेखराज भट्ट फर्किएनन्।

पुरानो पार्टी एमालेमा सुदूरपश्चिम इन्चार्ज भीम रावल थिए। नेकपामा ओली समूहमा भट्ट इन्चार्ज थिए। पुरानो पार्टी एमाले अस्तित्वमा आएपछि रावल नै इन्चार्ज हुने भए। तर प्रदेश पार्टी कार्यालयमा इन्चार्जमा भट्टको नाम थियो।

त्यसलाई हटाएर साविक एमालेकै रावलको नाम राख्न खोज्दा कैलालीमा एमालेभित्रका दुई समूहबिच कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको हो।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए। उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए।

यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए। विवाद बढ्दै गएपछि कुटाकुट भएको हो।

प्रतिक्रिया दिनुहोस्