अवैध लागूऔषध सहित पक्राउ



काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल डाइजेपाम, ३५ एम्पुल लुपिजेसिक र ३५ एम्पुल फेनारगन सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका-३ बस्ने २३ वर्षीय सुजित चौधरी र सप्तरी खडक नगरपालिका-१ बस्ने २२ वर्षीय महेश कुमार चौधरी रहेका छन् ।

लु.५१ प ७११३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक सुजित र मोटरसाइकलमा सवार महेशलाई पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-८ सगरमाथा चोक नजिकबाट ४ ग्राम ३६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश राजबंशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा दिनेशलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, बुद्धशान्ति गाउँपालिका-३ झिलमिले पुलबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १२ चक्की SPASPAIN र ५३ क्यापसुल ट्रामाडोल सहित सोही ठाउँ बस्ने २३ वर्षीय मुकुन्द राजवंशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मुकुन्दलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-४ बरगाछीबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय राज राई लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई को.१ ह ६७४८ नम्बरको अटोमा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-४ बाट ८० ट्याब्लेट नियन्त्रित लागुऔषध स्पास्मो प्रोक्सिभिन सहित कैलाली धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने २८ वर्षीय डिल्ली राज मिश्रलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

से.२ प ४८०७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका डिल्ली राजलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुर र डोटीबाट २६ जना नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर, महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत २२ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लोकसेवा आयोग दिपायल केन्द्रबाट संचालन भएको प्रहरी जवान (खुल्ला तथा समाबेशी) जनपदको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रबेश पत्रमा समेत फोटो परिवर्तन गरी हस्ताक्षर समेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।

डोटी, विभिन्न परीक्षा केन्द्रबाट नेपाल प्रहरीको जनपदतर्फको प्रहरी जवानको लिखित परीक्षामा अर्काको नाममा दिने ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न परीक्षा केन्द्रमा अर्काको नाममा नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्