ओखलढुंगामा भिजन एफएमबाट एसईई तयारी कक्षा सुरु



ओखलढुंगा : ओखलढुंगाको भिजन एफएमले एसईई दिने विद्यार्थीलाई लक्षित गरी तयारी कक्षा कार्यक्रम सुरु गरेको छ । ओखलढुुंगा र आसपासका स्थानीय तह र विद्यालयहरुसँगको समन्वयमा एफएमले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि एसइई परीक्षा स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई लक्षित गरी तयारी कक्षा कार्यक्रम प्रशारण गर्न थालेको हो ।

बन्दाबन्दीका क्रममा पनि पढ्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले दैनिक २ घण्टा आईतबार देखि रेडियोबाट एसईई तयारी कक्षा सुरु गरिएको भिजन एफएमका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । सरकारले टेलिभिजन मार्फत एसईई तयारी कक्षा सुरु गरेपनि ग्रामिण भेगका विद्यार्थीको पहुँचमा नेट र टेलिभिजन नभएकाले रेडियो मार्फत तयारी कक्षा कार्यक्रम थालिएको उनको भनाई छ ।

‘सरकारले टेलिभिजन र अनलाईन कक्षा सुरु ग¥यो तर हाम्रा गाउँघरमा विद्युतको पहुँच छैन । नेटको पहुँच झन टाढाको कुरा । विपन्न नागरिकका घरमा टेलिभिजनको पहुँच छैन ।’ न्यौपानेले भने, ‘तर ९५ प्रतिशत भन्दाबढी विद्यार्थीको पहुँचमा रेडियो छ । रेडियो कार्यक्रम प्रति विद्यालय उमेरका बालबालिकाको रुचि छ त्यसैले रेडियो मार्फत प्रभावकारी हुने ठहर गर्दै एसईई तयारी कक्षा विशेष कार्यक्रम थालेका हौं ।’ भिजन एफएममा हरेक दिन दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म २ घण्टा एसईई तयारी विशेष कार्यक्रम प्रशारण भईरहेको छ ।

ओखलढुंगा र आसपासका क्षेत्रमा प्रशारण पहुँच र प्रभावकारीता भएको भिजन एफएमले यो कार्यक्रम उत्पादन तथा प्रशारणका लागि ओखलढुंगाका सिद्धिचरण नगरपालिका सहित सुनकोशी, मोलुङ, चिशंखुगढी, चम्पादेवी, मानेभञ्ज्याङ र खिजीदेम्बा गाउँपालिका, खोटाङको रावाबेसी गाउँपालिका, उदयपुरको कटारी नगरपालिका र सिन्धुलीका स्थानीय तहसँग समन्वय गरेको छ ।

बरुणेश्वर मावि रामपुर, कालिका मावि सिस्नेरी, रुम्जाटार मावि रुम्जाटार सहितका विद्यालय र केही वडा कार्यालयहरुले पनि कार्यक्रम प्रशारणमा सहकार्य गरेका छन् । स्थानीय तहका शिक्षा शाखा र सिन्धुली जिल्ला शिक्षा समन्वय ईकाइ, त्यहाँका सामाजिक संस्था र रेडियोहरुले पनि कार्यक्रम उत्पादन तथा प्रशारणमा सहकार्य गरेका छन् ।

विज्ञ समुहले उत्पादन गरेको रेडियो कार्यक्रम एसईई तयारी कक्षा एसईई परीक्षा सञ्चालन नहुँदा सम्म निरन्तर प्रशारण गरिने स्टेशन मेनेजर रविन श्रेष्ठले बताए । सरल शैलीमा उत्पादन गरेको कार्यक्रम गुणस्तरीय रहेको उनको भनाई छ ।

गणित, विज्ञान र अंग्रेजी विषयलाई प्राथमिकता दिँदै एसईई तयारी कक्षा कार्यक्रम प्रशारण सुरु गरेको भिजन एफएमले स्थानीय विज्ञ शिक्षकद्धारा कार्यक्रम उत्पादन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्