काठमाडौं सहर, हेर्दा लाग्छ रहर (फोटोमा हेरौं)



‘काठमाडौंलाई कस्तो बनाउने ?’ अक्सर विकासे योजना र कार्यशालाहरूमा यही मुद्दा जल्दोबल्दो हुन्थ्यो । तर, कुरो अर्कै रहेछ । काठमाडौंलाई कस्तो बनाउने होइन, बरु काठमाडौंलाई कस्तो नबनाउने भन्ने कुरामा पो मन्थन गर्नुपर्ने रहेछ ।

काठमाडौं सहर आफैँमा रहरलाग्दो रहेछ । हराभरा । उत्तरतिर चम्किएका लस्करै हिमशृंखला । नागबेली आकारमा फैलिएका खोला-नाला । ठाउँ-ठाउँमा झुरुप्प वन-जंगल । हरिया खुला चौरहरू । प्राचीन झल्को दिने मठ-मन्दिर, गुम्बा र मस्जिदहरु । भूर्र-भूर्र उडिरहेका चराहरू । यही बखत आदिकवि भानुभक्त टुप्लुक्क प्रकट हुँदा हुन् त उनले एकफेर उही कवितांश दोहोर्‍याउने थिए होलान् :

‘कहिँ कालभरि गल्ली छ दिल्ली सरी
कहिँ भेट र लन्डन चीन सरी
लखनौं पटना मदरास सरी
अलकापुरी कान्तिपुरी नगरी ।’

सम्भवतः सदियौंपछि काठमाडौं यसरी तंग्रिएको हो । लाग्छ, यतिबेला काठमाडौं आनन्दले खुट्टा पसारेर बसेको छ । चैनले सास फेरिरहेको छ । अहिले काठमाडौंको सेरोफेरो हेरेर कसले भन्ने हिम्मत गर्छ, ‘यो धुलोमान्डु हो । यो मास्कमान्डु हो ।’

प्रतिक्रिया दिनुहोस्