‘आलोचना सुनौं, सक्रियता बढाऔं’ : पूर्वमन्त्री आनन्द पोखरेल



#Anand_Pokhrel #Lockdown

काठमाडौं : कोरोना भाईरस (कोभिड–१९)को महामारीबाट जनतालाई बचाउन लागू गरिएको लकडाउनको ३३ औं दिन विश्वव्यापी भाइरसको संक्रमणको अवस्था त्यसको असरको बारेमा सीएनएन–ग्लोबल टाइम्स पत्रिकाको अनलाइन संस्करण पढ्दै थिएँ । प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीको फोन आयो । फोन रिसिभ गरे, “बागमती प्रदेशको कोभिड–१९ महामारीको असर के छ । प्रदेश र स्थानीय तहका सरकारहरु कसरी चलेका छन् । समन्वय भएको छ छैन ? कस्ता खाले समस्या छन् ? प्रभाव र असर कस्तो छ ? प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको छ” भनी सुनाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीले बागमती प्रदेशभित्र संक्रमणको स्थितिबारे जानकारी लिन खोज्नुभएको थाहा पाएँ । आफूले मातहतका कमिटीसँग निरन्तर संवादमा रहने र प्रदेशको सबै स्थितिबारे समय समयमा जानकारी हुने भन्दै टेलिफोन संवाद अन्त्य भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल र नेपाली जनता, पार्टीको बारेमा धेरै चिन्ता छ । अहिलो विश्वव्यापी कोभिड–१९ को संक्रमण त्यसले नेपालमा पर्न सक्ने असर धनजनको क्षतिबारे अत्यन्त चिन्तित भएर राखेको जिज्ञासाले मलाई तरंगित पार्यो । मेरो मानसिक थकानलाई अन्त्य गर्यो । मेरो शरीरमा नयाँ रक्तसञ्चार थपिदियो । नेतृत्वप्रति थप नयाँ विश्वास जगायो । उहाँलाई हृदयदेखि सलाम गर्दै आफ्नो क्षेत्रबाट पार्टी अध्यक्ष र प्रधानमन्त्रीको अपेक्षा पूरा गर्न कोभिड–१९ मुक्त नेपाल बनाउन क्रियाशील रहन प्रेरित गरेको छ ।

आज विश्व नै कोभिड–१९ को पञ्जामा परिसकेको अवस्था छ । पृथ्वीमा रहेका राष्ट्रमध्ये २०२ मा कोभिड–१९ संक्रमणमा छन् । इतिहासदेखि नै मानव संहार र ठूलठूला विपत्तिको चपेटामा पृथ्वी परेको थियो । यस संक्रमणबाट मानिस मर्दैछन् र विश्व अर्थतन्त्रको तस्बिर कस्तो हुने हो अहिले आँकलन गर्न सकिँदैन । सञ्चारको विकासले विश्व नै एउटा गाउँ भएको छ । पृथ्वीको एक कुनामा घटेको घटनाले विश्वलाई तान्छ । नेपालमा कोभिड–१९ को असर कति पर्दछ, यसले गर्ने हानी नेक्सानीको निक्र्यौल गर्ने बेला भएको छैन ।

विश्वका नेतृत्वदायी राष्ट्रहरुको सामूहिक प्रयासले यो महामरीबाट पृथ्वीलाई मुक्त गर्न र भय त्रासबाट मानव जातिको बाँच्न पाउने अधिकारको प्रत्याभूति दिनको साटो कोरना भाइरसको राजनीति गरिरहेका छन् । जिम्मेवार नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युरोपीयन राष्ट्रका प्रमुखहरु र भारतीय मूलधारका पत्रपत्रिकाहरु चाइनिज भाइरस भनेर टिप्पणी गरिहेका छन् ।

अमेरिकाको सिनेटर रिक्की स्कट चीनमार्फत Cover up global Pandemic अर्थात् चिनियाँ भाइरस विश्वव्यापी फैलाएको छ । विश्व स्वास्थ्य संगठनको पनि चीनलाई सहयोग छ भनेर आरोप लगाउँदै छन् । बेलायतका कतिपय नेताहरु ट्रम्पकै भाषामा आरोप प्रत्यारोपमा उत्रेका छन् । तर कोरोना भाइरस आज कुनै सीमा राष्ट्र, राष्ट्रियता र सार्वभौमिकता वाद तथा जातीयताको सीमाभन्दा बाहिर हावासरी बेगवान गतिमा फैलिरहेको छ ।

चीनबाट यसको इपिसेन्टर अमेरिका, इटाली, स्पेन हुँदै सिंगो युरोपमा डरलाग्दो गतिमा फैलिरहेको छ । एसियामा संक्रमण आशातित सामान्य स्थितिमा छ । तथापि एसियन मुलुकहरु स्रोत र क्षमताले भ्याएसम्म नियन्त्रण र रोकथाममा क्रमशः सफलता प्राप्त गर्दैछन् ।

आज अविकसित र विकासोन्मुख राष्ट्रभन्दा युरोप, अमेरिकामा कोभिड–१९ को प्रभाव भयावह छ । चीनमा कोभिड संक्रमण हुँदा यो चीनको समस्या हो, हाम्रो होइन विकासोन्मुख भनियो । विकसित राष्ट्र कोरोना भाइरसको नियन्त्रण गर्न सक्षम हुने उनीहरुको विश्वासका साथ आफ्नो क्षमता र स्रोतमा गर्व थियो । संस्थागत विकास र स्वास्थ्य प्रणाली अवल थिए ।

सिंगो संसार उनीहरुको इशारामा चल्दै थियो । उनीहरु भाइरसप्रतिको असंवेदनशीलता र राजनीतिक पूर्वाग्रह, आर्थिक होडबाजी, चीनप्रतिको अविश्वसनीयता, कथित खुल्ला प्रजातन्त्रको धङधङी जस्ता कारण यी मुलुक कोभिड–१९ को महामारीको चपेटामा छन् । दोस्रो विश्वयुद्धपछि यी मुलुक सुविधा सम्पन्न विकसित उद्दार पुँजीवादी व्यवस्थामार्फत सम्पन्न भएकालेहरु महामारीप्रति समयमै सचेत हुन सकेनन् । भाइरसकोकारण विश्वका शक्तिशाली चीन वा अमेरिका कुन शक्ति, विश्वको प्रमुख आर्थिक शक्ति हुने होडमा पश्चिमा विश्वले अत्यधिक मानव जीवन र अर्थतन्त्र नष्ट गर्दैछ र पृथ्वीमा नै नयाँ सन्तुलनको स्थिति सिर्जना हुने खतरा छ । त्यसैले आज विश्वका सबै राष्ट्र प्रमुखहरु अहंता, दम्भ र शक्तिको मोहबाट मुक्त भई सामूहिक प्रयत्नमा विश्वव्यापी संयन्त्र बनाई यो महामारीविरुद्ध लड्नुपर्ने हुन्छ ।

हामी पूर्वाग्रहबाट मुक्त भएर सोच्ने हो भने जतिबेर चीनमा कोभिड १९ को महामारी थियो । त्यो भाइसरबारे चीन र चीनका वैज्ञानिक र राष्ट्रप्रमुख सबै अन्जान थिए । त्यो के हो भन्नेसमेत थाहा थिएन । जसलाई सुरुमा नोवेल कोरोना भाइरस भनियो । त्यही समय विश्व महामारीको आँकलन गर्दै संवेदशील भएको भए आजसम्म विश्व संक्रमण मुक्त भइसकेको हुने थियो ।

यो भाइरस वाद, सम्पन्नता, आणविक अस्त्र र नेतृत्व कसैसँग नडराउने जबरजस्त मानिसको शरीरमा प्रवेश गरी मानव जीवन तहस नहस गर्ने भाइरस हो । त्यसैले आज विश्वले सजग सर्तक र विज्ञानको उपलब्धिलाई सामूहिकीकरण गरी पूर्व–पश्चिम, उत्तर दक्षिण, पहिलो दोस्रो नभनी सामूहिक रुपमा खोपको खोज अनुसन्धान र उपचार विधि पहिल्याउनु पर्दछ । त्यो नै मानव जीवन र मानव अधिकारको रक्षा हो । आज कोभिड–१९ ले राष्ट्रिय सीमा र आणविक युद्धलाई परास्त गरेको छ । त्यसैले सबै राष्ट्रको जिम्मेवारी मानव जीवनको रक्षा र स्वास्थ्यको रक्षाको प्रत्याभूति नै आजको बाटो हो ।

अहिलेसम्म परिभाषित उपचार विधि छैन । अनुसन्धानले यसलाई खुट्याउन सकेको छैन । विगतमा विभिन्न भाइरसहरुको उपचारमा प्रयोग भएका उपचार विधिको परीक्षण यो वा त्यो भनेर गरिएको परीक्षणमात्र हो । कुनै संस्थाले विधिवत सिफारिस गरेको उपचार विधि र औषधि छैन । त्यसैले हाल सफल प्रयोग भनेको चीनको अभ्यास र त्यसले प्राप्त गरेको सफलता हो । अर्काे उपचार विधि नहुन्जेल विश्वले अंगीकार गर्ने विधि त्यही हो ।

चिनियाँलगायत अन्य देशहरुको राम्रा अनुभवहरुलाई समेट्दै संक्रमित स्रोतलाई अलग्याउन सीमा बन्द हो । मानिसको आगमनमा रोक लगाउनु हो । सबै खाले यातायात बन्द गर्नु हो । सबै मानिस घरभित्र बस्नु हो । जसले गर्दा संक्रमणको भाइसर फैलन पाउँदैन ।

यसपछि उपचारका लागि छुट्टै कोरना अस्पताल निर्माण र व्यवस्थापन हो । नियमित अस्पताललाई कोरना संक्रमित उपचार केन्द्र मान्नु भनेको संक्रमणमा मल हाल्नुजस्तै हो । क्वारेन्टाइन र आइसुलेशनको व्यवस्था गर्नु पर्छ । संक्रमणको शंकास्पद व्यक्तिलाई कोरोना अस्पतालमा भर्ना गर्नु, भाइरसको परीक्षण र आइसुलेशनमा पठाउने हो । जसले गर्दा उसको परिवार र समुदायमा हुन सक्ने संक्रमण रोकिन्छ । आम जनसमुदायमा भाइरसबारेमा जनकारी प्रशिक्षण र जनचेतना निरन्तर जारी राख्नु पर्दछ । स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध गर्दै अस्पतालको उपचारलाई घनिभूत गर्न र संक्रमितको कोरोना परीक्षण गर्न कामलाई व्यवस्थित गर्नुपर्दछ ।

मुलुक लकडाउन भएपछि उत्पन्न विपन्न, गरिब व्यक्तिहरुको दैनिक हातमुख जोड्ने व्यवस्था सरकारमार्फत गर्दै आपूर्ति प्रणालीलाई व्यवस्थित गरिनुपर्छ । चीनले डाक्टरको समूह नै प्रत्येक अपार्टमेन्टमा पठाएर उपचार गरेको थियो । सम्पूर्ण खाद्य सामग्रीहरु दूध, पानीसमेत सुरक्षित आपूर्ति गरेको थियो । कोरोना भाइरसलाई जनयुद्धको रुपमा घोषणा गर्दै युद्धमा होमिएको थियो ।त्यही कारण चीन निश्चित समयभित्र कोरोना संक्रमण बिराम लागेको छ । तर हाम्रोजस्तो सीमित साधन र स्रोत तथा भौगोलिक कारणले यो सिकाइलाई लागू गर्न कठिन हुन्छ । त्यसैले हामीले आफ्नै मोडल स्थापित गरी तीनै तहको सरकार परिचालित छ । छिमेकी मुलुकले अंगिकार गरेको कोरोना रोकथाम विधिलाई नेपाली विधिमा ढाल्न र प्रयोग गर्न सक्नु नै हाम्रो सफलता हो ।

यसो भनिरहँदा खोई नेपालको आफ्नै मौलिक विधि भनेर प्रश्न गर्ने गरिन्छ । ढुक्कसाथ भन्न सकिन्छ, आजसम्म परिभाषित उपचार पद्धति नभएको अवस्थामा विश्वले नै प्रयोग गरेको संक्रमण रोकथाम चाइनिज मोडल हो । भारतीय प्रयोग नै हो । त्यसलाई हामीले हाम्रो विशिष्ठ परिस्थितिमा लागू गर्ने हो ।

अहिलेसम्म सरकारले अंगिकार गरेको लकडाउन विधि र ३ नै तहका सरकारको परिचालन नै संक्रमण रोक्ने बलियो हतियार हो । वर्तमान सरकारले त्यही विधि अंगिकार गरेको छ । यसले सफलता पनि प्राप्त गरेको छ । जसको परिणाम हालसम्म ५१ जना नेपाली संक्रमित छन् भने १२ जना निको भई सके ती बाहेक अन्यलाई कोरोना संक्रमण देखिएको छैन । हिजो केबल केन्द्रीय प्रयोगशालमा मात्र परीक्षण र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा मात्र उपचार हुने व्यवस्था थियो । अहिले सबै प्रदेशमा यसको परीक्षण सुरुवात भएको छ ।

बागमती प्रदेशले हेटौंडा, चितवन र भक्तपुरमा समेत कोरोना भाइरसको परीक्षण सुरु गरिसकेको छ । प्रदेश ५ ले भने ३ ठाउँमा परीक्षण प्रारम्भ गरिसकेको छ । सरकारले संक्रमणको अवस्थालाई हेरी कोरोना परीक्षण ल्याबको व्यवस्था अवश्यकताअनुसार विस्तार गर्ने रणनीति लिएको छ । कोरोना भाइरस रोकथामका लागि परीक्षण किट्स, व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्थापनले उपचारमा संलग्नहरुमा हौसला प्रदान गरेको छ ।

आज एकैचोटि विश्वव्यापी संक्रमणको कारण संक्रमण रोकथाममा प्रयोग हुने सामग्रीहरुको माग व्यापक बढेको छ । उत्पादनले आपूर्तिलाई सम्बोधन गर्न सकेको छैन । जसका कारण सहज उपलब्ध हुने संभावना छैन । तर सरकार, निजी क्षेत्र, सरकारदेखि सरकार बीच द्धिपक्षीय र बहुपक्षीय सहयोगमा उपचारको सामग्रीमा कमी हुन नदिन नागरिक समाज, निजी क्षेत्र र सुरक्षा निकायसमेत परिचालित भएका छन् । यसको सकारात्मक परिणाम देखिने निर्विवाद सत्य हो ।नेकपा सरकार बनेपछि नेपालका अधिकांश सञ्चारमाध्यमहरु मिसन पत्रकारितामार्फत सरकारविरुद्धमा लागिपरेका छन् । सबैतिरबाट सरकारलाई घेराबन्दी गरेका छन् । सरकार र मन्त्रीहरुविरुद्ध सम्पादकीयमा स्थान पाएको छन् ।

सुरुमा मुलुकको लकडाउन छिटो गर्नु पर्यो । मुलुकको लकडाउनसँगै स्वभाविक रुपमा जनतालाई मर्का पर्यो । लकडाउन हुनेबित्तिकै नागरिकको नियमित गतिविधिमा अवरोध भयो । अनि सीमा किन बन्द, नेपालीले नेपाल आउन पाएनन्, दुःख पाए । सार्वजनिक यातयात बन्द भयो । जनता सडकमा पैदल हिंडे । गरिब र विपन्नलाई राहत, उद्योगी व्यवसायीलाई राहत दिन किन ढिलो, राहत घोषणा भयो, आपूर्ति व्यवस्था किन ढिलासुस्ती, जनता भोकै छन् । सरकार के गर्दै छ ? संक्रमण रोकथाम सामग्री आयो, गुणस्तर छैन आदि भनेर सरकार र मन्त्रीको धज्जी काड्ने एउटा जमातलाई तयार पारी बिरोधमा उतारिएको छ । अहिले भष्ट्राचार र पारदर्शिताको विषय उठाएर नेपाली सञ्चार माध्यमले मसला दिइरहेका छन् ।

नेपाल भारतको कूटनीतिक माध्यमबाट केही नेपाली र भारतीय नागरिकलाई सिमानामा नै क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेपछि त्यस व्यवस्थाको विरोधमा सञ्चारमाध्यमले रोइलो गरे । यसको बाबजुद सरकारको दायित्व कुनै पनि हालतमा कोभिड–१९ को महामारीबाट जनतालाई बचाउनु हो । मानवीय जीवनको रक्षा गर्नु हो । त्यसका लागि सरकार एकपछि अर्को कदम चाल्दै छ ।

अन्तर्राष्ट्रिय रुपमा फैलिरहेको महामारीको डढेलो रोकिएको छैन । हामी सबैलाई थाहा छ हाम्रो सीमा, आर्थिक स्रोत, जनशक्ति, भौतिक साधन र जनताको चेतनाको स्तर यी सबै जगमा हामीले उचित विधिद्वारा संक्रमण समुदायमा फैलिन नदिन कदम चाल्ने हो, सोहीअनुसार अगाडि बढिरहेको छ । सरकारको प्रयासलाई नेपाली जनताले आफ्नो स्थानबाट सकेको सहयोग गरी संक्रमणबाट मुक्त पाउनु प्रयाससरत छन् ।

सरकारलाई सबै ढंगले सहयोग गर्नु हाम्रो कर्तव्य हो । सञ्चारमाध्यमले उठाएजस्तै भ्रष्टाचार भए नेपाली कानुनअनुसार भ्रष्टाचार गर्ने सबै कानुनको दायरामा आउने छन् र ल्याउनुपर्छ । अहिले हरहालतमा कोभिड–१९ को महामारीबाट जनतालाई बचाउनु कृतसंकल्पित हौं र सहयोगी बनौैं ।सरकारले पनि प्राप्त आलोचनालाई आत्मसात गर्दै आफ्नो सक्रियता र पहलकदमी बढाउँदै नेपाललाई संक्रमण मुक्त बनाउन राजनीतिक इच्छाशक्तिसहित अगाडि बढ्नुपर्छ । जननेता मदन भण्डारीले भने झै, “कुकुर भुक्दै गर्छ हात्ती लम्कँदै गर्छ ।” सरकार त्यही गतिमा संक्रमण रोकथामका लागि सबै प्रयास प्रयत्न र मेहनत गरी जनताको जीवनरक्षामा लागिरहनु पर्दछ ।

विदितै छ, सरकार हाम्रो वैधानिक अभिभावक हो । संवैधानिक अधिकारको माग गर्ने जनताको मौलिक हक र दायित्व हो । यसको हामीले स्वागत गर्दै सरकारसँग माग गर्ने, सचेत गराउने र सरकारलाई सहयोग गर्न चुक्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्