कांग्रेसी मेयरले कुहिएको चामल बाँड्दा पार्टीकै बेइज्जत, स्थानीय जनता आक्रोशित !



०३ बैशाख २०७७, काठमाडौं

नेपाली कांग्रेसबाट निर्वाचित पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले लकडाउनको बेला कुहिएको चामल वितरण गरेर पार्टीकै बेइज्जत गरेका छन् ।

पार्टीको निर्देशन अनुसार कांग्रेसका नेता कार्यकर्ताले व्यक्तिगत रुपमा समेत गरीब र मजदुरलाई सहयोग गरिरहेका बेला मेयर गुप्ताले नगरपालिकाको कोषबाट कुहिएको चामल बाँडेर पार्टीकै बेइज्जल हुने काम गरेको भन्दै आलोचना खेपिरहेका छन् ।

नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर गुजारा गर्ने गरीब तथा विपन्न वर्ग घरधुरीलाई वडामार्फत वितरण गरेको खाद्यान्न सामग्री गुणस्तरहीन भएको देखिएको छ ।

रामग्राम नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न वर्ग घरधुरीलाई वितरण गरेको खाद्यान्न सामग्रीमा चामल कुहिएको सोयबिनमा किरा फेला परेको छ । नगरपालिकाले पहिलो चरणमा १ देखि १३ वडामा राहत सामग्रीमा वितरण गरेको चामलमा कुहिएको सोयबिनमा कीरा भेटिएको रामग्राम नगरपालिका–६ का स्थानीय सोहन केवाटले बताए । ‘नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न वर्गलाई १० किलोग्राम चामल दिने भनेपनि तौल गर्दा ९ किलो मात्र पाइयो,’ उनले भने ।

चामलमा ३ प्रकारको चामल मिसावट गरिएको समेत भेटिएको स्थानीय सुरेन्द्र कोहारले बताए । ‘मोटा, मसिनो र खुदी चामलमा मिसावट गरिएको र कुहिएको सोयबिनमा किरा भेटिएको छ,’ कोहारले भने । रामग्राम नगरपालिकाले वितरण गरेको राहत सामग्रीमा चामलमा कुहिएको सोयबिन किरा भेटिएपछि वडा नम्बर ६ का स्थानीयले राहत सामग्री वडाध्यक्ष जितेन्द्र आग्रहरीको घरमा लगेर फालेका छन् ।

रामग्राम नगरपालिकाको नगर कार्यपालिकाले रामग्राम–६ स्थित रहेको राजेश राईस मिलबाट चामल र सोयाबिन स्थानीय एक पसलबाट खरिद गरी राहत वितरण गरेको थियो । राईस मिलबाट किलो ४० रुपैयाँको दरले नगरपालिकाले खरिद गरेको चामल बजारमा ३० र २५ रुपैयाँ पर्ने चामल एक व्यापारीले बताएका छन् । वडा नम्बर १ देखि १३ का स्थानीयले समेत चामलमा कुहिएको सोयबिन किरा भेटिएको बताएका छन् । स्थानीयले सम्बन्धित वडाध्यक्षमार्फत राहत सामग्राी फिर्ता गरेका छन् ।

वडाध्यक्षको घरमा फालिएका राहतका पोका

सबै वडाहरूबाट विरोध आएपछि राहत सामग्री वितरण रोक लगाएको छ । नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले राईस मिलका सञ्चालक पटवारी बनियाले चामलमा मिसावट गरेको पाइएको बताए ।

औषधि म्याद गुज्रेको !

नगरपालिकाले म्याद गुज्रिएको किटनाशक औषधि बाँडेको समेत भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा स्टक गरी राखिएको किटनाशक औषधि रामग्राम नगरपालिकाले बाँडेको छ । रामग्राम नगरपालिकाले वडा नम्बर १५, १६ र १८ मा पठाएका किटनाशक औषधि म्याद गुज्रिएको भेटिएपछि स्थानीयले विरोध जनाएका छन् ।

औषधिको पोकामा मिति लेखिएको ठाउँमा मेटेको भेटेपछि स्वास्थ्यले पठाएका अन्य औषधि हेर्दा औषधि सन् २०१४ को भेटिएको र बनेको समयावधिले २ वर्षभित्र प्रयोग गर्न सकिने लेखिएको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्